विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वातावरणीय हिसाबले यसको असर आसपासका बासिन्दाले नराम्रोसँग भोगिरहेका छन् ।
त्यहि ब्रम्हपुराको डम्पिङ साइटमा एकजना अग्लो व्यक्ति फोहोरको पहाड पन्छाई रहेका भेटिन्छन् । उनी हुन् विराटनगर–६ का ६१ वर्षीय गुलाब राय । विराटनगर महानगरपालिकाको सफाई कर्मचारी थिए उनी । महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी साझेदारी निजी कम्पनीलाई दिएपछि उनीपनि त्यतै पन्छाइए । राय नेपाल फुलबारी वेष्ट थ्री आर पोलुसन कन्ट्रोलमा आवद्ध भएर काम गरिरहेका छन् । उनले भने–‘फोहोरसँग लड्दा लड्दै थाकिसके, अब थकाई मार्ने सोच त छ ।’
उनले संकलन गरेर त्यहाँ पु¥याएको फोहोरको डंगुर पन्छाउनु पर्ने जिम्मेवारी पाएका छन् । ‘बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म काम गर्नुपर्छ, महिनामा १५ हजार पाउँछु’ रायले फोहोरसँगको अन्तरघुलन सम्झदैं भने–२०७२ सालदेखि काम थालेको अहिलेसम्म गरिरहेको छु । त्यति बिघ्न फोहोर, झिंगाले घेरिएको परिवेशमा दिनभर डंगुरमा चढेर तानिरहनु पर्ने कामले उनलाई थकित त बनाएको देखिन्छ । उनीसँग हातमा पञ्जा छैन । नाकमा मास्क छैन । न त फोहोरबाट सुरक्षित गर्ने पोशाक नै उनले लगाएका छन् । उनको पेसाले शहरको सुन्दरता बढाएको होला तर सुन्दर शहरले उनको स्वास्थ्यसँग चिन्ता नगरेको देखिदैन ।
‘अरुलाई तलव बाहेकको पनि पैसा दिन्छ सुनेको छु, तर मलाई त त्यहि तलव मात्रै छ’ रायले लामो स्वास लिदैं भने–अब मेरो जिन्दगीले थकाई मार्ने अवसर कसरी पाउला भन्ने सोचिरहेको छु । उनी फोहोरमाथि आफ्नो श्रम पस्किरहेका छन् तर बाध्यता भन्दा बाहिर निस्कदाँ जीवन कसरी धान्ने भन्ने पनि उतिकै सोचिरहेका देखिन्थे । ब्रम्हपुरा टोललाई फोहोरको आफ्नै पीडा छ र रायलाई फोहोर बाहेक जीवन धान्ने माध्यम के होला भन्ने पीडा ।