विराटनगरको ‘स्टेशनरी हव’ हिमालय रोड : बन्नुपर्दथ्यो पुस्तकपार्क, बनिदियो बिल्लीबाठ

विराटनगरको ‘स्टेशनरी हव’ हिमालय रोड : बन्नुपर्दथ्यो पुस्तकपार्क, बनिदियो बिल्लीबाठ

विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको थियो । या त पाठ्यपुस्तक वा सामाग्री उपलब्ध गराए होस् या दवावका लागि आन्दोलनको केन्द्र बनेर ।

विराटनगरमा ‘स्टेशनरीे हव’ बनेको यहि महेन्द्रचौकदेखि ट्राफिकचौकसम्मको दुरीको जग २०२४ सालमा खोलिएको श्याम पुस्तक भण्डार थियो । त्यसपछि क्रमशः स्टेशनी पसल खुल्दै गएका थिए । एचके, गणेश, भट्टराई, एसके जस्ता पुस्तक पसलहरु २०४० सालको पेरिफेरीमा खुलिसकेका थिए । त्यसपछि क्रमशः पुस्तक पसलहरु खुल्दै गए । यसरी यो ठाउँ स्टेशनरीको हवमा रुपान्तरण भएको थियो ।
विराटनगरमा एउटै प्रकृतिको धेरै सामान पाइने केन्द्रीकृत रुपको व्यापार महेन्द्रचौक–ट्राफिकचौकसम्म थियो । हिमालय हल खुलेपछि यसको महेन्द्रचौक र कलेजरोड बीचको भू–भागको नाम हिमालय रोड रहन गयो । जसमा पुस्तकसँग सम्बन्धित कारोबार गर्ने १४, सातवटा होटल, ६ कम्प्यूटर, सात बैंक, चार मोवाइल, फोटो स्टुडियो र सिमा फ्रेमिङ पसल छन् ।

नयाँ–नयाँ स्वरुपका संरचना बनेर व्यापारमा बहुआयामिक दृष्टिकोण राख्दै आएको यहि हिमालय रोडका व्यापारि भने अहिले दिनैपिच्छे
बिलौना गाएर सडकको संघर्षमा छन् । हिमालय रोड नामाकरण भएको उक्त स्थानको नाम एमजी रोड भन्ने गरिएको छ । सडक आवागमन अवरोध हुने गरि संरचना बनाइएका छन् । जसको असर इतिहास बोकेको महेन्द्रचौकदेखि ट्राफिकचौकसम्मका व्यापारिले झेल्नु परेको छ । यति मात्रै नभई ट्राफिक व्यवस्थापन, अत्यावश्यक सवारी पास र सुरक्षाको दृष्टिकोणमा समेत असर देखिन्छ ।

महेन्द्रचौकमा रहेको मैनाली पुस्तक पसल २०६० सालदेखि हिमालय रोडमा सारेर पाठ्यपुस्तकको कारोबार गर्दै आउनु भएका गंगाधर मैनाली हिमालय रोडमा ‘पुस्तक पार्क’ निर्माण हुनुपर्नेमा ‘बिल्लीबाठ’ निर्माण भएको बताउँछन् । उनले सडकमा स्थायी संरचना निर्माण गर्दा त्यसले गर्ने असरका बहुआयमिक कोण विश्लेषण नगरिएकोले विरोधमा उत्रनु परेको बताए । ‘जसरी हिमालय रोडको अस्तित्व भित्र यहाँका व्यापारिको कारोबारको अवस्था सुधार थियो, त्यसरी नै एमजी रोडको निर्माणसँगै असर खेप्नु परिरहेको छ’ मैनाली भने–शहरको केन्द्र र इतिहास बोकेको स्थानमा सडक खुल्ला र सफा हुनुपर्नेमा संरचना बनाएर सबैको बिल्लीबाठ बनाउने योजना अगाडी सारियो ।

इतिहास समेट्न पुस्तक पार्क
हिमालय रोडलाई सिक्किमको ‘एमजी रोड’ को अवधारणामा निर्माण गरिने धारणा त्यसबेलाका जनप्रतिधिहरुले नै सार्वजानिक गरेका हुन् । तर, त्यहाँको पेरिवेस र यहाँको पेरिवेसको अध्ययन नगरि ‘भावावेस’ प्रतिक्रियाले झन धेरै उल्झन सिर्जना गरिदिएको छ । स्टेशनरी हव भएको क्षेत्रमा पुस्तक पार्क निर्माण गरेर शहरमा पठन संस्कृतिको विकास गर्न प्रयास गरेको भए त्यसको सन्देश सकारात्मक जाने थियो । पुस्तक पार्कको धारणाको सट्टा एमजी रोड बन्दा व्यापारिको भईदियो बिल्लीबाठ ! जसको असरले झण्डै ४० वटा व्यापारलाई दैनिक निन्द्राविहीन बनाई रहेको छ । हिमालय रोड सकिएर ट्राफिकचौकको पेरिफेरीमा ३० वटा स्टेशनरी सञ्चालनमा रहेका छन् । तिनका लागि समेत हिमालय रोडका संरचना बाधक बनिरहेका छन् ।

कसरी बन्यो योजना ?
विराटनगर महानगरपालिकाका तत्कालिन नगर प्रमुख भीम पराजुली हुँदा आर्थिक वर्ष २०७५÷२०७६ मा हिमालय रोडलाई नयाँ स्वरुपमा निर्माण र सौन्दर्यकरण गर्ने योजना सुरु भएको थियो । बीचमा कोरोना महामारीले देश त्रस्त भएपछि २०७८ असार २२ गते यसको डिपिआरसहितको डिजाइन स्वीकृत गरिएको थियो । भदौ २४ गते सम्झौता गरेर मंसिर ३ गतेबाट यसको निर्माण सुरु भएको थियो । एक करोड ६१ लख ४२ हजार १८३ लागत अनुमान गरिएकोमा कला बिल्डर्सले ३७.५३ प्रतिशत कममा कबोल गरेको थियो । निर्माणका लागि एक करोड ८३ हजार १७२ रुपैँयामा सम्झौता गरिएको थियो ।
सुरुमा त्यहाँका घरधनीहरुसँग सौन्दर्यकरणका लागि छलफल भएको थियो । तर, त्यसले व्यापारलाई पार्ने असरका कारण भाडावालहरुले विरोध जनाउँदै वहाल करार रद्द गर्ने योजना सारे । त्यसपछि घरधनीहरुले समेत हिमालय रोडमा बन्ने संरचना प्रत्युपादक हुने ठाने र विरोधमा निस्किए ।
अहिले त्यसबेलाका प्रमुख पराजुली प्रदेशसभा सांसद छन् । सडकमा संरचना निर्माण गर्ने योजना अगाडी सारेदेखि व्यापारिहरु आन्दोलित हुँदै आएका छन् । हिउँद लागेपछि स्टेशनरीको व्यापार खुम्चिने भएकोले उनीहरुले २०७८ सालपछिका दुईवटा हिउँदे आन्दोलन सडकका संरचना भत्काउनुमा केन्द्रीत गर्दै आएका छन् । किन की चैत १५ गतेपछि स्टेशनरीको सिजन सुरु हुन्छ । व्यापारमा सडकमा बनेका संरचनाले चौतर्फी असर पु¥याउँदै आएको छ । पार्किङ गर्ने ठाउँ नहुँदा र सामान लिएर आउने सवारी रोकेर अनलोड समस्या हुँदा उनीहरुले दिग्दारी महसुश गरिरहेका छन् ।

दवाव व्यवस्थापनमा वार्ता समिति
भीम पराजुलीले निर्माण सुरु गरेको हिमालय रोडको काम अझै सकिएको छैन । तर, विरोध भने बल्झिरहेको छ । अहिलेका प्रमुख नागेश कोइरालाले व्यापारिको दवाव थेग्न नसक्ने अवस्था आएपछि हिमालय रोडका संरचनाको विषयमा केहि न केहि निर्णय लिने स्थितिमा पुगेको संकेत दिईसकेका छन् । जसका लागि महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । वार्ता समितिले व्यापारीसँग छलफल गरेपछि निस्कने निष्कर्षका आधारमा अनुगमन समिति गठन गर्ने तयारी गरिएको छ ।
यो तयारीका विषयमा पूर्व मेयर तथा प्रदेश सांसद पराजुलीले आक्रोशित प्रतिक्रिया दिईसकेका छन् । उनले बिहीबार विराटनगरमा पत्रकारसँग चिया गफ गर्दै वर्तमान महानगरपालिकाको नेतृत्व आफ्ना कार्यकालमा भएका कामलाई कमजोरी देखाउँदै भत्काउन लागेको प्रतिक्रिया दिईसकेका छन् । त्यस बाहेक उनले आफ्नो कार्यकालमा बनेका संरचना सबै भत्काउन पनि चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्