विराटनगरमा महिलालाई नौमती बाजाको सुर–ताल भर्ने रहर

विराटनगरमा महिलालाई नौमती बाजाको सुर–ताल भर्ने रहर

नवराज कट्टेल
विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५० कटेपछि उहाँको ईच्छाले सार्थकता पाएको हो ।

विराटनगर–४ निवासी केशवकुमारी आचार्य पनि घरबाट निस्केर शुभसाईतको बाजा बजाउने शैलीमा अभ्यस्त बनिरहनु भएको छ । ‘ढिलो भयो तर अन्य शहरले स्थापित गरिसकेको व्यवसायिक पञ्चे बाजामा विराटनगरले समेत महिलालाई अवसर दियो’ विराटनगर–३ निवासी सरस्वती खनालले भन्नुभयो–घरबाट बाहिर निस्केर केहि न केहि त गरौं भन्ने हामीलाई पनि छ ।
विराटनगर महानगरपालिकाले पाँचलाख रुपिँयाको बजेटमा ३२ जना महिलाहरुलाई नौमती पञ्चे बाजा बजाउने तालिम आयोजना गरेको हो । जसमा इटहरी–४ की चन्दा पौडेलसहितको प्रशिक्षक समूहले तालिम दिईरहेको छ । तालिमको १५ दिन बितिसक्दा बालबालिकाले कलम चलाएर लेख्न सिकेजस्तो प्रारम्भिक सीप लिएका छौं, प्रशिक्षार्थी खनालले भन्नुभयो–बाँकी १५ दिन बालबालिकाले अक्षर सुधारे झैं पञ्चे बाजाको धुनलाई सुर र तालमा भर्नेछौं ।

संस्कृति र संस्कार जोगाउन कुनै समुदायले मात्रै सहनाई, दमाहा, झ्याली, ट्याम्को र ढोलक बजाईरहनु पर्दैन, तालिममा सहभागी तारा कटुवालले भन्नुभयो–तालमा झ्याम्टा र मुजुरा अनि नरसिङ्गा फुकेर मंगल धुनले साइत दर्शाउन महिला अगाडी लाग्नेछौं ।
एक समूहमा नौजना बाद्यवादकले सुर र ताल मिलाएर एकै पटक बजाउने नौमती बाजाका लागि महानगरपालिकाले एकै पटक ३२ जनालाई तालिम दिईरहेको विराटनगर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बासुबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाले बजेटमै व्यवस्था गरेर महिलाहरुलाई नौमती बाजाको तालिम आयोजना गरेको हो । वडा कार्यालयले दुईलाख रुपिँया खर्चेर सामान खरिद गरिदिएको छ ।

फरक–फरक टोलबाट सहभागी ईच्छुक महिलाहरुलाई तालिम दिएपछि यसको व्यवस्थापनको जिम्मेवारी भने हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले गर्नेछ । तालिमको संयोजन समेत गरिरहेको हातेमालो सेवा समाजका अध्यक्ष जीवन्द्र घिमिरेले छोरी बुहारीलाई जागरुक गराउने गरि विवाह तथा अन्य धार्मिक कार्यक्रमका लागि एकै दिन तीन समूहमा परिचालन गर्ने गरि जनशक्ति उत्पादन गरिएको बताउनुभयो । उहाँले इटहरी, बेलबारी, विराटनगरचौक, उर्लाबारीमा महिलाहरुको नौमती बाजा समूह रहेको बताउँदै अब विराटनगरमा समेत संस्कृति जगेर्नामा छोरी–बुहारीलाई अगाडी लगाउने चलन बसाउन चाहेको भनाई राख्नुभयो ।

समय परिवर्तन भयो, निश्चित समुदायले बजाउनु पर्छ भन्ने मान्यता तोडेर सबै जाति र समुदायले बजाउँदा हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजिएको हो, अध्यक्ष घिमिरेको भनाई थियो, शुभसाइतमा दियो–कलशसँगै पञ्चेबाजामा समेत छोरी–बुहारी अगाडी रहनेछन् ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले महिला दिदीबहिनीहरुको माग अनुसार नै यो तालिमका लागि बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई सक्षम बनाउने र व्यवसायिक रुपमा अगाडी बढाउने योजनालाई नौमती बाजा तालिम सार्थक हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । ‘एकातर्फ शहरबाट हराउँदै गएको संस्कृति फर्कन्छ, अर्कोतर्फ महिलाहरुलाई व्यवसायिक बन्न सहयोग गर्छ’ उपप्रमुख कार्कीले भन्नुभयो–साँघुरो घेराबाट फराकिलो घेरामा आउन महिलालाई मात्रै नभई जातिय रुपमा देखिएको खाडललाई समेत यसले विश्वासमा बदल्ने आसा व्यक्त गर्नुभयो ।

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व रहने गरेको छ । विशेष साईतहरुमा मंगल धुन बजाएर शुभ बनाउने चलन छ । यसका लागि नेपाली पञ्चेबाजा सबैभन्दा बढी प्रचलित छ । तर, पछिल्लो समय परिसंस्कृतिग्रहणको भारले थिचिएको पञ्चेबाजाको प्रचलन क्रमशः लोप हुने स्थितिमा रहेको थियो । सिमित समुदायले मात्रै बजाउनु पर्ने मान्यता बाट फराकिलो बन्दै जाँदा आम समुदाय र त्यसमा पनि महिलाहरु यसमा बढी आकर्षतिक हुन थालेका हुन् । तालिमको प्रशिक्षकको रुपमा रहनु भएकी इटहरीकी चन्दा पौडेलका अनुसार एउटा विवाहमा पञ्चेबाजा बजाउँदा ६० हजार रुपिँयासम्म आम्दानी हुने गरेको अनुभव सुनाउनुहुन्छ ।

दामाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गालाई पञ्चेबाजाको रुपमा चिनिन्छ । जसमा सहनाई र दामाहा दुई–दुईवटा हुने गरेका छन् । सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपासमा जुधाएर सुर र तालमा बजाउने नौमती बाजालाई नौ जना वाद्यवादक आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्