खाली छन् विराटनगरका घर

खाली छन् विराटनगरका घर

इन्दु साह
विराटनगर । विराटनगरमा २०७५ श्रावारणदेखि यता ९ हजार ३९८ घर निर्माण सम्पन्न भएको तथ्याङ्क छ । महानगरपालिकामा बनेका नयाँ घरको तथ्यांक बाहेक त्यस अगाडीका समेत गरेर ६० हजार घर संख्या पुगेका छन् । प्रदेश राजधानी भएपछि धमाधम नयाँ घर बन्ने क्रम देखिएको छ । तर, नयाँ घर बनेसँगै खाली हुने क्रम समेत उतिकै बढेको पाइन्छ ।

प्रदेश राजधानी विराटनगरमा अवसरका लागि आउनेको संख्या भने घट्दै गएपछि त्यसको असर वहालका लागि बनाइएका घरहरुमा परेको हो । पढाई तथा रोजगारीका लागि आउनेहरुको संख्या घट्दै गएको छ । गाउँगाउँसम्म उच्च माध्यमिक तहसम्मका विद्यालय र प्राविधिक अध्यापन गराउने क्याम्पसहरु खुलेका छन् । धेरै विद्यार्थी पढाईका लागि आउने विराटनगरमा त्यो संख्या एकाएक घट्दै गएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका स्टाफ नर्स, बिएन नर्सिङ, पारामेडिकल अध्यापन गराउने शैक्षिक संस्थाका विद्यार्थी समेत घटेका छन् ।

विराटनगर आएर पढ्ने मात्रै नभई अधिकांश घरका सदस्यहरु विदेशिने क्रम बढेपछि ठूला घरहरु समेत खाली भएका छन् । घरका धेरै सदस्य विदेशिएपछि अहिले बृद्धबृद्धा मात्रै पनि कतिपय घरमा रहेका छन् । विराटनगर दुर्गाचौक निवासी सरस्वती चौहानका अनुसार कि काठमाण्डौं कि त विदेशमा रहेका आफन्तसँग भिडियोमा मात्रै भेट हुने गरेको बताउँछिन् । उनले आफ्नो घरका आठ कोठामध्ये तीनवटा आफूलाई राखेर बाँकी भाडामा लगाउन चाहेपनि बस्ने कोहिपनि नआउने गरेको सुनाइन् । ५८ वर्षीय चौहानका अनुसार पाँचवर्ष अगाडीसम्म भाडामा बस्नेहरुको अभाव थिएन । ‘अहिले त साथीकै रुपमा राख्ने पनि भेटिदैन’ चौहान भनिन्–भाडामा लगाउन मिल्ने पाँच कोठामध्ये तीन वटा खाली छन् ।

तीनवर्षदेखि विराटनगरमा कोठा भाडामा लिएर बस्दै आएकी २३ वर्षीया अनिसा शर्मा प्रदेश राजधानीको नाममा भाडादर पनि कतिपयले बृद्धि गरेको बताउँछिन् । अध्ययनका लागि यहाँ बसिरहेकी उनले घरका धेरै सदस्य काठमाण्डौं या त विदेश, अनि आउने मानिसहरुको संख्या कम हुँदै गएपनि भाडामा सहुलियत नभएको सुनाइन् । उनले एउटा मात्रै कोठा भेट्दै नभेटिने र भेटिएमा छ हजार भन्दा कम मूल्यमा नपाईने गरेपछि आफू होस्टेलमा बस्न थालेको सुनाइन् । रित्ता घरमा धेरै पैसा तिरेर बस्नु भन्दा होस्टेलमा बस्दा साथीभाईसँग समेत भेटघाट हुने अवसर रहेको उनको बुझाई छ ।

विराटनगरका घर तथा घरका फ्लाट र कोठा समेत भाडामा लगाउने काम गर्दै आएको विराटनगर रेन्ट हाउसका सञ्चालक सन्तोष अधिकारी कोरोना कालपछि भाडामा बस्नेहरुको संख्या एकाएक कम हुँदै गएको बताउँछन् । उनले अहिले धेरै घरहरुका गेटमा ‘खाली रहेको र भाडामा दिन ईच्छुक भएको’ आशयका सुचना टाँसिने गरिएको बताए । अधिकारीका अनुसार पाँच वर्ष अगाडीसम्म आफ्नै सहजीकरणमा मासिक १५ वटासम्म घर, कोठा र सटर समेतको कारोबार भएको सुनाउँछन् । तर, त्यसपछि क्रमशः घट्दै गएर अहिले महिनामा धेरै हुँदा सात वटासम्म मात्रै आफ्नो सहजीकरणमार्फत वहाल सम्झौता हुने गरेको बताए ।

‘कोठा भाडामा खोज्न आउने मान्छे एकदम कमै मात्र आउछन् ।’ अधिकारीले भने अध्ययनका लागि विराटनगर आउनेको संख्या नै कम भईसकेको छ । विराटनगरका धेरै घरधनीहरुले समेत आफ्नो घर खाली रहेको भन्दै भाडादार खोजिदिन आग्रह गर्ने गरेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्