पाथीभरामा केवलकार : विवाद झेल्ने की विकास लिने

पाथीभरामा केवलकार : विवाद झेल्ने की विकास लिने

सुजता लिम्बु
विराटनगर । हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) मा केबलकार निर्माणको विषय लिएर पछिल्लो समय विवाद देखिएको छ । दुई दशक अगाडीदेखि केबलकार निर्माण प्रक्रिया थालिने भनिएको भएपनि विवादका कारण निर्माण कार्य सुुरु हुन सकेको छैन । निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले करिब ३ अर्ब लागतमा गत वर्षदेखि नै निर्माण कार्य सुरु गर्ने भनिएको थियो । तर, केबलकार निर्माण खारेजी संघर्ष समितिसहितको ६ वटा संगठनले विरोध जनाएपछि निर्माण कार्य सुरु हुन सकस भएको हो ।
निर्माण कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनदेखि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत भएको थियो । केवल कार निर्माण हुँदा त्यसको प्रभाव सकारात्मक हुने भनिएपछि सरकारले निजी क्षेत्र यति होल्डिङस् लाई केबुलकार निर्माणको जिम्मा दिएको थियो । तर, विवादका कारण काम हुन सकेन ।

अहिले पुनः केबलकार निर्माण गर्ने तयारी थाल्दै गर्दा यसलाई रोक्नु पर्ने माग गर्दे केबल कार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संघर्ष समिति, प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा र किराँत याक्थुङ चुम्लुङ लगायतका संघ संस्थाहरुले विरोधमा उत्रिएका छन् । पाथीभरालाई लिम्बू मुन्धुम अनुसार मुक्कुमलुङ भनिने गरिएको छ ।

केबलकार निर्माणले लिम्बू समुदायको मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा नष्ट हुने केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू बताउछन् । आफूहरु विकास विरोधी नभएको बताउदै उनले विकासको नाममा प्रकृतिको विनास नहोस् भन्ने भनाई रहेको बताए । ‘ हामी विकास विरोधी होइन तर, विकासको नाममा विनास हुनुभएन, यहाँ लिम्बू समुदायको ऐतिहासिक भूमि, अस्तित्व र इतिहाससँग जोडिएको छ, ,’ उनले भने,‘यहाँ केही मानिसहरु व्यक्तिगत स्वार्थमा लागेर पैसा कमाउने उदेश्यले विनास गर्नु खोज्दै हुनुहुन्छ त्यसको विरुद्धको स्पष्ट आवाज र माग हो ।’ विगतका वर्षहरु देखि नै यो आवाज उठेको बताउदै उनले सुविधा उपभोग गर्न भन्दा पाथीभराको शक्तिलाई महसुस गर्न आस्थाका लागि आउनेहरु रहेको बताए ।

विनासले भोलिका दिनमा भगवानको पवित्र बासस्थानलाई विस्थापित गर्ने भन्ने भय पनि रहेको बताउदै उनले केबलकार बनिसकेपछि भगवानको शक्ति प्राप्त गर्नु जाने भन्दा पनि मनोरन्जन, व्यापारिक केन्द्र जस्तो हुनसक्ने आशंका व्यक्त गरे । ‘ यो क्षेत्र भनेको शक्तिपिठ हो, पवित्र धार्मिक क्षेत्र हो यो कुनै पनि बहाना विस्थापित र विनास गर्नु हुँदैन, उनले भने, झट् हेर्दा विकास जस्तो देखिन्छ तर, विकासले पार्ने सकारात्मक प्रभाव भन्न्दा नकारात्मक प्रभाव हावी हुने देखिन्छ ।

स्थानीयको रोजीरोटीमा समेत प्रभाव पर्ने उनको भनाई थियो । केबलकार निजी कम्पनि भएकाले नाफामुलक हुने बताउँदै उनले यसले समस्या आउने जिकीर गरे । विरोधका बीचपनि वाता टोली पनि गठन भएको छ नि ? भन्ने प्रश्नमा उनले वार्ताले कुन निष्कर्षमा पुग्ने भन्ने कुरा स्पष्ट नभएको बताए । उनले समुदायको अस्तित्व नामेट पार्ने गरि संरचना निर्माण गर्न नमिल्ने बताए । केबलकार निर्माणविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको संघर्ष समितिको भनाई छ ।

यता, किराँत याक्थुङ चुम्लुङकी केन्द्रिय महासचिव निरन्ति तुम्बापो पुर्खाहरुले बनाएर राखेको सामुहिक भूमिलाई सानातिना लोभ, लालचामा फस्दै पद, कुर्सीसँग साट्नेहरु सत्ता र शक्तिको मतियार रहेको बताउछन् । आदिवासीको भूमिको रक्षा गर्नु पहिचानको रक्षा रहेको र अस्तित्व रहेको समेत बताउ छिन् । उनले मुन्धुमि पवित्र ठाँउलाई अतिक्रमण गर्न बन्द गर्न आग्रह समेत गरेकी छिन् ।
कवि स्वप्निल स्मृतिले नाफाका लागि व्यापारिक योजना जनतामाथि लाद्ने काम बन्द गर्नुपर्नेमा जोड दिन्छन् । आउनेजाने भक्तजनहरुले हजारौँ वर्षदेखि पैदल हिँडेर उँधोउँभो गरेको मुक्कुम्लुङ (पाथिभरा)मा नाफाको खेती गर्न बन्द गर्न समेत बताएका छन् ।

रोजागरी र व्यवसाय शुन्य हुने आशंका
केबलकार निर्माण भएपछि व्यवसायिक हिसाबले पनि ताप्लेजुङ जिल्ला पछि पर्न सक्ने सम्भावना धेरै रहेको स्थानीयहरुको ठहर छ । केबलकार सञ्चालनमा आएपछि तराई क्षेत्रबाट आउने भक्तजनहरु सिधै गाडीमा आउने र केबलकार चढेर दर्शन गरी सोही दिन फर्किने हुँदा पनि व्यवसायिक हिसाबले जिल्लाले घाटा बेहोर्नुपर्ने अवस्था रहेको स्थानीय राजिव मावोहाङ बताउँछन् । त्यसो त रोजगारी समेत गुम्ने भएकाले त्यहाँका करिब चार सय युवा भरियाहरु विस्थापित हुनुपर्ने अवस्था देखिन्छ । तल्लो फेदीदेखि माथिल्लो फेदीसम्मका होटल व्यवसायको रोजिरोटी चलिरहेको हुँदा केबलकार निर्माण भइसक्दा युवाहरुले रोजगारी गुमाउछन् भने स्थानीयले व्यवसाय गुमाउने सम्भावना रहेको उनीहरुको बुझाई छ ।
दैनिक आउनेजाने भक्तजनहरुलाई भरियाहरुले बोकेर पाथिभरा दर्शन गर्न पु¥याउछन् । जसले गर्दा त्यस क्षेत्रका मानिसको घरगृहस्थ समेत त्यहीबाट चल्ने गरेको छ । त्यसो त केबलकार निर्माण प्रक्रिया सुरु गर्ने भनेपछि पछिल्लो समय संघर्ष समिति ढुक्कै पाथिभरा परिसरमा डयुटी बस्न थालेका छन् । त्यस क्षेत्रमा एउटा पनि रुख काट्न नदिने भन्दै उनीहरु सामूहिकरुपमा ठाँउठाँउमा खटिएर बसेका छन् ।

केबलकार बने के हुन्छ ?
यता, केबलकार निर्माण भए पाथिभरा दर्शनका लागि सहज हुनेछ । भक्तजनको संख्या अझै बढ्ने छ । केबलकार बनाउदा अस्तित्व र प्रकृतिको विनास हुने तर्क पेस गरिएपनि पर्यटकको संख्या थपिदाँ बैकल्पिक क्षेत्रमा लगानी आकर्षित हुने संभावना उतिकै छ । पर्यटन क्षेत्रका जानकार पत्रकार विराट अनुपम पाथिभरमा केबलकार बन्नुपर्नेमा जोड दिन्छन् । पूर्वाधार र सम्पदा मिलाएर जानुपर्नेमा जोड दिँदै उनले चीनको ग्रेटवालमा केवलकार चढेको अनुभव राख्दै काठमाण्डौ देखि दरबार स्क्वायरमा सडक पहुँच रहेको तर्क राख्छन् । केबलकार बनिरहँदा स्थानीयको रोजगारीमा प्राथमिकतामा राख्नुपर्ने र स्थानीयको समेत लगानी सुनिश्चित हुनुपर्नेमा उनको जोड रहेको छ ।

वार्ता समिति गठन
असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामाको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । लामाको संयोजकत्वमा फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजङगा गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका,जिल्ला प्रशासन कार्यालय,उद्योग वाणिज्य सँघ,केबलकार कम्पनी लगायत वार्ता टोली गठन गरिएको हो । वार्ता टोलीले असन्तुष्ट पक्षसँग छलफल गर्ने र निर्णय गर्ने जनाएको छ । असन्तुष्ट पक्षको मागमा केन्द्रित रहेर चाँडै नै वार्ता गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्