बजार व्यवस्थापन गर्न नसक्दा रोकिएन विराटनगरका हटियामा भारतका माछा बिक्री

बजार व्यवस्थापन गर्न नसक्दा रोकिएन विराटनगरका हटियामा भारतका माछा बिक्री

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा खुल्ला रुपमा वितरण हुँदै आएको माछा–मासु बिक्रीमा रोक लगाउन गत दशैं आसपास अनुगमनलाई तिव्रता दियो । अनुगमन हेर्दा निष्कर्ष निस्केला र नगरवासीले स्वस्थ मासु र स्वच्छ वातावरण पाउलान् भन्ने आसा थियो । तर, दशैंसँगै महानगरपालिका यो निर्णय कार्यान्वयनबाट पछि हट्यो, अनुगमन छोड्यो ।

बिक्री स्थान उपलब्ध गराउन नसक्दा विराटनगरका हटियामा भारतबाट आयत भएका माछा बिक्री वितरण नरोकिएको हो । व्यापारीले बिक्री केन्द्र सञ्चालनका लागि नगरका विभिन्न स्थानमा माछा बजारको बिकल्प दिन माग राखेका थिए । महानगरपालिकाले नयाँ गुद्राीमा बिक्री गर्ने विकल्प दिएको थियो । तर, नयाँ गुद्रीामा धेरै भाडा बुझाउन व्यापारीले नसक्ने र एकैस्थान मात्रै हुँदा व्यापार प्रभावित हुने व्यापारीले बताए । त्यसपछि महानगरपालिकाका पछि हट्यो, हटियामा भारतका माछाको व्यापार पुनः चल्यो ।

भारतबाट तस्करी भएर विराटनगरको बजारमा माछा भित्रन्छ । जसमा फर्मालिन प्रयोग हुन्छ । अर्को कुरा खानै नहुने मुङ्ग्री माछा समेत हटियामा प्रशस्त बिक्री भईरहेको छ । मुङ्ग्री माछा खाँदा स्वास्थ्यमा हुने असर भयावह छ तर त्यसमा समेत महानगरपालिका अनदेखा बनिरहेको छ । खासमा महानगरपालिकाले हटियाबाट व्यापारिलाई हटाएर कारोबार दर्ता गराउने योजना बनाएको थियो । जसको फाइदा धेरै थिए । बजार व्यवस्थापनमा सहजता, औपचारिक कारोबारबाट हुने राजस्व बृद्धि, सफा र स्वच्छ माछा नगरवासीले खान पाउने थिए ।

तर, अहिले विराटनगरको त्यो योजना कार्यन्वयन हुन सकेन । जसले दैनिक जसो लाग्ने महानगरका हटियामा भारतबाट आयातित माछाको व्यापार चलिरहेको छ । खुल्ला रुपमा बिक्री हुने माछा अस्वस्थ्यकर रहेको छ । हटियामा बिक्रीका लागि आएका माछा कहाँबाट आउँछ भन्ने व्यापारिलाई समेत थाहा हुन्न । किनकी भारतबाट सशस्त्र र नेपाल प्रहरीको सेटिङमा भित्रिएको माछा हटियामा बिक्री गर्ने व्यापारीसम्म तस्करको सञ्जालले पु¥याउने गर्दछ । व्यापारीले स्थानीय उत्पादन भन्ने गरेपनि कहाँ उत्पादन भएको हो ? भन्ने कुरा बताउन सक्दैनन् । स्थानीय व्यापारीबाट खरिद गरेको भएपनि उनीहरुले बताउन सक्दैनन् । हटियामामा आठ वर्षदेखि माछा बिक्री गर्दे आएका २७ वर्षीय सरोज सहनीले २५० देखि ३५० रुपैँया प्रतिकेजीसम्म मूल्य रहेको बताए । उनले एउटा हटियामा २५ देखि ४० केजीसम्म माछा बिक्री गर्दै आएको सुनाए । तर, माछा लोकल बजारबाट आउँछ बाहेक उनीसँग अर्को उत्तर छैन ।

हटियाका व्यापारी कहाँबाट माछा आउँछ भनेर सोध्दा बोल्नै चाहँदैनन् । विराटनगर महानगरपालिका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले बजार व्यवस्थित गर्न नसक्दा हटियाबाट भईरहेको बिक्री वितरण नरोक्ने निर्णय भएको बताए । हटियामा आउने माछा भारतबाटै आउने कुरामा यादव समेत विश्वस्त देखिन्छन् । उनले सीमामा हुने सेटिङबाट माछा तस्करले विराटनगरका बजारसम्म ल्याउने गरेको बताए ।

भारतबाट नेपालमा माछा ल्याउनका लागि कोलकाता क्वारेन्टाइनबाट जारी भएको स्वच्छताको प्रमाणपत्र अनिवार्य हुन्छ । कोलकाता क्वारेन्टाइनले जारी गरेको प्रमाणपत्रका आधारमा दशदिन भित्र नेपालमा माछा भित्र्याउन पाइन्छ । भारतका पोखरीमा भएका माछा क्वारेन्टाइनमा परीक्षण गरेपछि प्रमाणपत्र जारी हुन्छ । त्यसपछि दशदिन भित्रमा माछा झिकेर नेपालको भन्सार हुँदै ल्याउन पाउने प्रावधान छ । भारतको क्वारेन्टाइन प्रमाणपत्रका आधारमा भन्सार क्षेत्रको क्वारेन्टाइनले स्वीकृति प्रदान गर्दछ । शंका लागेमा पुनः परीक्षण समेत गर्नसक्छ । त्यसपछि भन्सारको प्रक्रियामा जान्छ । यो सबै झन्झट बेहोर्नु भन्दा भारतबाट अस्वस्थ्यकर माछा नेपाल कटाउन तस्करहरुले सीमामा सुरक्षा सेटिङ गरिदिन्छन् । त्यसपछि लगातार माछा भित्रने गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्