-चन्द्रकुबेर खापुङ
यो भव सागर तर्दैखेरि
सन्जोगले हजुर गर्दै खेरि
हुन त सायद लेटै भयो
तर नि आखिर भेटै भयो
नलेखि हजुर भेटिदैन
लेखेको हजुर मेटिदैन
हातैले घाम के छेक्छ र
भाग्यको लेखा को देख्छ र
कसरी पौडें माझसम्म
कसरी बांचेछु आज सम्म
के मन्दिर भन्नु गजुर बिना
के बाँचे भन्नु हजुर बिना
धन्न पो हजुर बाँचिएछ
बेसुरमै धान नाचिएछ
बल्ल पो अहिले थाहा भयो
हजुरलाई जीवन साँचिएछ
शिरैमा राख्ने गजुरहरु
बिसाएँ बिन्ति हजुरहरु
भेटैमा भयो कस्तो राम्रो
फूल्यो नि मन तपाइ हाम्रो
संस्कार हाम्रो मान्नैपर्छ
पुर्खाको रित धान्नै पर्छ
बाँचुन्जेल कर्म गरेपछि
के लानु छ र मरेपछि
उकालो संगै चढ्नुपर्छ
ओरालो संगै झर्नुपर्छ
लाशमा सास भर्नुछ नि
हामीले धेरै गर्नुछ नि
पंक्षीमा राम्रो मजुरहरु
संसार कै राम्री हजुरहरु
यो दिन बिर्से पापै होला
भुलगल्ति भए माफै होला
समय ढल्कि गै गयो नि
छुटिने बेला भै गयो नि
कुन पापि मन नरुने नि
नछुटौं भने नहुने नि
भेट होला फेरि फेरि भन्दै
भेट हुने दिनहरु गन्दै
आश गर्दै हुने चमत्कार
माँगे है बिदा नमस्कार!