-शारदा भट्टराई
नदी पहाड खोँचमा घुमेर बस्छ पाउमा
उदार बन्छ जिन्दगी अशक्त बास गाउँमा
हिमाल हाँस्छ सान्तले खुलाइ दाँत लस्कर
गुराँस फुल्छ प्रेमले स्वदेश काख सुन्दर
रहोस् सदैव पूर्णता नमार प्राण जीवको
रहन्न साथ के गरौँ फुलेर झर्छ फूल त्यो
छरेर धान बीजमा अनन्य शक्ति फल्दछ
रहन्छ दृष्टि अन्नमा मनुष्य जीव बाँच्दछ
खडा छ हात काममा अनेक मार्ग हेर्दछ
बहन्छ देश भावमा विकास पूर्ण घेर्दछ
गरीब हात जोड्नमा कठोर आङ ढाक्नको
अभाव देख्छ को यहाँ शरीर धान्न बाध्य भो
हवा सुसेल्छ धानका झुलेर खेतमा सधैँ
हिँडेर एक मार्गमा पुगिन्छ लक्ष्यमा सधैँ
धरा छ उर्वरी पना समस्त फाँट लेकमा
चरा उडेर घुम्दथ्यो पहाड लेक भेगमा
सरक्क फेर्छ पालुवा वसन्त सार गर्वमा
जुरुक्क उठ्छ ठाँटमा स्वदेश भूमि हर्षमा
उजाड छैन मौसमी प्रकाश दृश्य खुल्दछ
अथाह फल्छ शक्ति यो निरास साफ भुल्दछ