-ऋषि तिवारी
'सुन्ने कान बहिरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ, त्यतिखेर जीवनमा धोका होला है, त्यतिखेर जीवनमा धोका होला है ।'
म आफ्नो शयनकक्षमा सुतेको हुँन्थें । आमाको बिहानीको मिरमिरेसंगै,यो मधुर भजन मेरो कानमा गुन्जि दिँदा आनन्द लाग्थ्यो । आमा त्यता भजन गुनगुनाइ रहनु हुन्थ्यो । म भजनको भाव केलाइरहन्थेँ । यति भन्थे, 'भाव छ, अर्थ छ, यो भजनमा ।
पत्नी पनि भजन सुनेर, आनन्दित हुन्थिन् ।
छोराछोरी हजुरआमाकै कोठामा लम्पसार हुन्थे। आमाले भजन गुनगुनाउँ नै लाग्दा आँखा मिच्दै उठ्थे । आमाले भन्नु पर्दैनथ्यो, मुख धोएर आओ। मुख धुइसकेर, आमाको छेउमै बस्थे । उनिहरुलाई आमाको भजन भन्दा पनि आमाले दिने प्रसादको स्वरुप, मुख गुलियो पार्न मिस्री चाहि चाहिन्थ्यो ।
आमाको भजन सिद्धियो, प्रसाद रुपी, मिस्री हातमा दिन थाल्नु भो । छोराछोरी बोले, 'आमा यति पिचिक्कै प्रसाद किन ? अलिक सिङ्गै डल्लो दिनु न ।' नाति नातिना हुन, आमालाई माया नलाग्ने कुरै थिएन। आमाका साथी भनेका नै यीनै नाति, नातिना थिए ।
आमाले दिनु भएछ, सिङ्गै र भन्नु भएछ, 'भरे बाबालाई किन्न भनेर ल्याउनु भन्नु ।' केटाकेटीले एकै स्वरमा जवाफ दिएछन्। ' हस आमा ।'
म शयनकक्षमै छु । निन्द्रामा छु, कान आमातिर र छोराछोरीको कल्याङ कुलुङ भएको आवाजतिरै छु ।
पत्नी आइन्, अपुग निन्द्रा खलबलाउन थालिन्। भन्न थालिन्, आज मर्निङवाक नजाने?'
ब्युझिएँ, उनको हातमा कुचो थियो । यसपल्ट भनिन्, मैंले उनलाई, 'मैंले आमाको सपना देखें।
जुरुक्कै उठें, भगवानको कोठामा भएको ममतामयी आमाको फोटो हेरें । भगवानसंगै फोटो राखेको थिएँ ।
आमाको यहि भजन म मनमनै एक्लै गुनगुनाइरहेको थिएँ, त्यसरी नै गुनगुनाइरहेको थिएँ ।
'सुन्ने कान बहिरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ,
त्यतिखेर जीवनमा धोका होला है, त्यतिखेर जीवनमा धोका होला है ।'
विराटनगर-६, ममता मार्ग