अलपत्र बन्यो झापाको मेचीनगरमा निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय

<span class='c1'>अलपत्र बन्यो झापाको मेचीनगरमा</span> <span class='c2'>निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय</span>

झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ ।

मेचीनगरका आदिवासी जनजातिले पहिचानका लागि विगत दुई दशकदेखि सङ्ग्रहालयको माग गरेका थिए । जहाँ उनीहरूको परम्परागत कला, मौलिक संस्कृति, वेष भूषा र वाद्यवादनको जगेर्ना हुन सकोस् । मेचीनगर नगरपालिकाले २०७५ सालमा आदिवासी जनजातिहरूको सङ्ग्रहालय बनाउने योजना अघि सा¥यो । विस्तृत परियोजना प्रस्ताव (डीपीआर)मा बहुजातीय सांस्कृतिक सङ्ग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमान समेत नगरपालिकाले गरेको थियो ।

मेचीनगर–११ मा स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर २०७८ सालमा ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’को विभिन्न संरचना निर्माण भयो । सञ्चालनमा चासो नदेखाउँदा नगरको करोडौँ लगानीमा बनेका सङ्ग्रहालयका संरचनाहरू अहिले प्रयोगविहीन बनेका छन् ।

मेचीनगर नगरपालिकाको योजना शाखाले जनाए अनुसार सङ्ग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भइसकेको छ । पहिलो चरणमा सङ्ग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो । दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँच वटा ठुलो हलसहितको भवन निर्माण भएका थिए ।

खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौँले ठेक्कामा ती संरचनाहरू निर्माण गरेका हुन् । लागत अनुमानभन्दा निकै कम रकममा ठेक्का लगाइएका ती भौतिक संरचनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । स्रोतका अनुसार पाँच वटा भवन निर्माणका लागि रु। ६८ लाख ५० हजार ९१८ को लागत तयार पारिएकामा खनाल निर्माण सेवाले रु। ४४ लाख ७६ हजार ७३० मा उक्त ठेक्का लिएको थियो ।

त्यसैगरी सङ्ग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको रु। ९१ लाख ८१ हजार १३५ लागत अनुमान गरिएकामा ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले रु ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीले वार्षिक रु। एक लाख विद्यालयलाई दिने सर्तमा नगरपालिकाले सङ्ग्रहालयका लागि जग्गा भाडामा लिने सम्झौता गरेको बताउनुभयो । हालसम्म नगरपालिकाले विद्यालयलाई भाडाको रकम उपलब्ध गराएको छैन ।

सङ्ग्रहालयको थप निर्माण कार्य अघि बढाउन र छिटो सञ्चालनमा ल्याउन नगरपालिकाले आवश्यक पहल गरिरहेको अवस्थामा अख्तियारमा सङ्ग्रहालय निर्माणका विषयमा मुद्दा परेको कारण समस्या थपिएको उहाँको भनाइ छ । नेपालमै मेचीनगरमा मात्र पाइने ‘किसान’ जातिको बसोबास छ । यसबाहेक धिमाल, दनुवार, मेचे, थारु, मुण्डा, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ, शेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजवंशी, जोगी, ब्राह्मण, क्षेत्री, माझी र कुमाल गरी २२ जातिको बसोबास भएका कारण सङ्ग्रहालयमा २२ वटा भवन बनाएर सबै जातिलाई अलगअलग पहिचान दिलाउने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।

मेचीनगरको आदिवासी जनजातिका अगुवाहरू सङ्ग्रहालय निर्माणमा लक्षित समुदायसँग नगरपालिकाले कुनै परामर्श नगरेको आरोप लगाउँछन् । “कुन-कुन जातिका लागि बनाएको हो हामीलाई थाहा भएन”, आदिवासी जनजाति महासङ्घ मेचीनगरका पूर्व अध्यक्ष ओमप्रकाश खापुङ भन्नुहुन्छ, “स्थानीय तह बन्नुभन्दाअघिदेखि आदिवासी जनजाति सङ्ग्रहालय बनाउनु पर्छ भनेर आवाज उठेको हो । नगरपालिकाले आफूखुसी नाम फेरेर बहुआयामिक बनाएछ ।”

नगरवासीको करबाट भएको करोडौँ लगानी खेर जान नदिन नगरपालिकाले नगरभित्रका सबै जातीय समुदायसँग सल्लाह गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले लक्षित समुदायको अपनत्व हुने गरी परियोजना सञ्चालनका विषयमा छलफल गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

गौचरन बन्यो परिसर

सङ्ग्रहालयका लागि निर्माण गरिएका अधिकांश संरचना बाहिरबाट दुरुस्त देखिएता पनि प्रयोगविहीन हुँदा भित्री रूपमा काम नलाग्ने हुन थालिसकेका छन् । परिसरको स्वागतद्वार आकर्षक छ तर ताला नलगाइएका कारण स्थानीयले परिसरलाई खुला गौचरन बनाएका छन् । दिनभर परिसरभित्र गाईबाख्रा चरिरहेका हुन्छन् ।

पक्की पर्खालमाथि काँडेतार लगाइएको छ । ड्रेनसहितको पहुँचमार्गमा सिमेन्टका ब्लक बिछ्याइएका छन् । प्रयोगमा नआउँदा ब्लकलाई झारपातले छोप्न थालिसकेको छ । परिसर पनि काँसघारी र झाडीले ढाक्न थालिसकेको छ ।

प्रवेशद्वार नजिकै टिकट काउन्टर र कार्यालयका लागि भवन बनाइएको छ । छेउमै मार्बल र टायल बिछ्याइएको सुविधायुक्त शौचालय भवन छ । त्यसपछि लहरै पाँच वटा उस्तै ढाँचाका हलसहितको पक्की भवन छन् । काउन्टर र शौचालयको छानो पक्की ढलानले बनेको भएता पनि सङ्ग्रहालयका पाँच भवनको छानो भने टिनको लगाइएको छ ।

नवनिर्मित कुनै पनि भवनमा बिजुली र पानीको सुविधा छैन । भवनहरू रङरोगन गरेर चिटिक्क पारिएका छन् । ढोकाका अधिकांश चुकुल काम नलाग्ने भएका कारण गाईबाख्राले गोब्राएर फोहोर बनाएका छन् । शौचालयको सेफ्टी ट्याङ्कको ढकन उघारै छाडिएको र गहिरो भौडीमा बर्खाको पानी भरिएको हुँदा दुर्घटनाको जोखिम छ । शौचालयका ढोका पनि प्रयोगमा नआई भत्किन थालेका छन् ।

जनप्रतिनिधिको बेवास्ता

नगरले बनाउने विकास निर्माणका परियोजनाहरू विस्तृत सम्भाव्यता अध्ययन नभई बनाउने गरिएको र सञ्चालनमा नल्याई अलपत्र छाड्ने गरिएको जनप्रतिनिधिमाथि आरोप छ । मेचीनगरमा प्यारीभिट्टा बसपार्क, महिला सीप विकास केन्द्र, युवा स्वरोजगार भवन र कोभिड होल्डिङ सेन्टरलगायतका थुप्रै ठुला लगानीका परियोजना निर्माण भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । काँकडभिट्टा भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माण थालेर अलपत्र अवस्थामा छ भने नाका प्रवेशमा निर्माण गरिएको आकर्षक स्वागतद्वार एसियाली राजमार्ग निर्माणताका बन्नेबित्तिकै भत्काइयो ।

वडाध्यक्ष रुद्र डाँगीले नगरपालिका आन्तरिक झमेलामा अलमलिएका कारण गौरवका आयोजनामा ध्यान केन्द्रित गर्न नसकेको बताउनुभयो । “नगरपालिका आन्तरिक झमेलामा फसेको छ, म वडाकै काममा व्यस्त छु”, उहाँले भन्नुभयो, “बजेटको सुनिश्चितता नभएका कारण सङ्ग्रहालय जस्ता धेरै योजना सञ्चालनमा ल्याउन सकिएको छैन । यसलाई अघि बढाउनु पर्छ भन्ने सोचाइ चाहिँ छ ।”

मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्यले आफ्नो पालामा सुरु भएको सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउन नयाँ जनप्रतिनिधिहरूले चासो नदेखाएको आरोप लगाउनुभयो । “नगरभित्रका २२ वटा जातिको पहिचान झल्काउने गरी सांस्कृतिक सङ्ग्रहालय बनाइएको हो,” उहाँले भन्नुभयो, “अहिलेका जनप्रतिनिधिलाई बेवास्ता गरेको देख्दा दुःख लाग्छ ।”

पर्यटक आउने स्थानीयको आशा

सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने स्थानीयको आशा छ । पर्यटक आउँदा व्यापार व्यवसायको माध्यमबाट जीविकोपार्जन सहज हुने उनीहरूको अपेक्षा हो । विद्यालयको नाममा रहेको सङ्ग्रहालयको जग्गामा थुप्रै स्थानीयले खेतीपाती गर्दै आएका थिए । नगरपालिकाले परियोजना अघि बढाउने भएपछि स्थानीय किसानले विद्यालयको जग्गाको भोगचलन सहमतिमा छाडेको स्थानीय कालिका सामुदायिक वन समितिका अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।

उहाँले कालिका वनको सिमसार पर्यटकीय आकर्षणको केन्द्रमा परिणत भइसकेको हुँदा सङ्ग्रहालय सञ्चालनमा आए त्यहाँ पनि पर्यटकीय चहलपहल छिटै बढ्ने बताउनुभयो । निर्माण भइसकेका भौतिक संरचनाहरूलाई तत्काल सञ्चालनमा ल्याउन सकिने उहाँको धारणा छ । मेचीनगरमा मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाललगायतका आदिवासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउन सकिन्छ ।

सङ्ग्रहालय कुन विधिबाट सञ्चालन कसरी गर्ने भनेर नीतिगत व्यवस्थाका लागि कार्यविधि बनाउन नगरपालिकाले हालसम्म कुनै चासो देखाएको छैन । नगरपालिकाले जुन समुदायको पहिचानका लागि सङ्ग्रहालय निर्माण गरेको हो, त्यही समुदायसँग कुनै छलफल नगरेकोमा मेचीगनरका जनजाति अगुवा ओमप्रकाश खापुङ असन्तोष प्रकट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बनाउनु त बनाइयो, जसका लागि बनाइएको हो उनीहरूले अपनत्व लिने वातावरण नगरपालिकाले बनाउनुपर्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्