-जयन्ता खत्री सुधा
कोही वरदान सोच्छन्
म के सोचौँ ?
कोही अभिषाप ठान्छन्
म के ठानौँ ?
हजुर बताइदिनुस् न
अर्थ लगाइदिनुस् न
मलाई बडो जटिल लागेको
म बुझ्दा बुझ्दै कत्ति नबुझेर थाकेको
ठुलो भनौं कि सानो
कमसल भनौं कि असल
निरिह भनौं कि ताकतवर
जस्तो भएपनि
एउटा बिषय लिएर आएको छुँ
'सामाजिक जन्जाल '
मैले केहि समय निकालेर
बसुन्धरा चौहानको "च्यातिएको अस्मिता" पढें
पढ्दै जादाँ आफैँलाई झम्टेर रुन मन लाग्यो
मनमा अन्तरद्वन्द्व चल्यो
मैले सोचें
ओहो!
म पनि त दिन प्रतिदिन लुटिइरहेको छुँ
म मात्र होईन म जस्ता कयौँ
अनगिन्ती रुपमा
आज्ञात रुपमा
प्रत्यक क्षणमा लुटिइरहेका छन्
धेरैको दम्भ छ म नास्तिक हुँ
म भगवान मान्दिनँ भन्ने
तर थाहा छ?
प्रत्यक बिहान झिसमिसे अँध्यारोमा
स्नान त के मुखमा पनि सम्म नहालि,
शौच पनि नगएर सिधै जान्छन्
म पनि जान्छु
'अनुहार पुस्तक' मन्दिर भित्र
बुझ्नुभयो होला नि?
किताब अगाडी राख्छु
कापि पल्टाउँछु
त्यतिबेलै मन्दिरको घण्टी बज्छ
म हतार हतारमै जान्छु मन्दिर परिसरमा
हेर्छु नयाँ तिर्थालु कति आए,
कति प्रसाद आयो
अनि......
कति सिक्का झरे
चाख्दै जान्छु प्रसाद
कतिबेला लट्ठ हुन्छु?
कतिबेला झम्म हुन्छु?
कतिबेला तिर्थालुको भेषमा राक्षसहरु आउछन्?
पत्तै हुदैन
त्यसपछी मलाई मेरै मन्दिरमा
देउकी र झुमा बनाएर राख्छन्
माता र कुमारीको उपमा दिएर थुन्छन्
नआउने देविको भ्रममा मलाई काँप्न लगाउछन्
नपाउने आशिर्वादको थालिमा अक्षता थाप्न लगाउछन्
'च्यातिएको अस्मिता' मा
पिचासहरुले एक नारिको शरिर लुटेका छन्
नारि घर बाहिर असुरक्षित छन्
भनि देखाइएको छ
तर म हातमा मोबाइल परेदेखि
मेरै बन्द कोठामा लुटिएको छु
न कुनै बाढि आएको छ
न चर्को घाम लागेको छ,
न म उचाईमा छु
न त म गहिराईमा छु,
न हावा लागेको छ
नत कोलाहल र चित्कार नै छ
तर पनि म प्रत्यक क्षण लुटिरहेको छु
तर पनि म छिनछिनमा नाङ्गिरहेको छु
म डुबिरहेको छु
म डढिरहेको छु
मलाई लेक लाग्छ
मलाई लु लाग्छ
मलाई उडाइन्छ
मलाई तर्साइन्छ
म प्रत्येक पल लुटिन्छु
म प्रत्येक क्षण नाङ्गिन्छु
त्यसैले म यसलाई सामाजिक जन्जाल भन्छु
तपाईं के भन्नुहुन्छ?
विश्व याँहि छ ब्रह्माण्ड याँहि छ
अनुशासन छ कि छैन?
घमन्ड याँहि छ
आफन्त याँहि छन्, शत्रु याँहि छन्
ज्ञान दिने शास्त्र याँहि छन्
ज्यान लिने अस्त्र याँहि छन्
कसैले नदेखेका ठाउँ याँहि छन्
कसैले नखेलेको खेल याँहि छन्
कसैले नबेचेको इमान याँहि किनबेच हुन्छ
कसैले नकोरेको आकृति याहाँ छन्
कसैले नगरेको अपराध याहाँ छन्
लुट्ने लुटाउने
नाच्ने नचाउने सबै याँहि छन्
अदालत याँहि छन्
सवाल याँहि छन्
टाइटल हेरेको भरमा कमेन्ट बक्समा
निर्णय लेखिदिने वकिल याँहि छन्
के छैन र याहाँ ?
को छैन र याहाँ ?
मेरो आमाको सौता हो
मेरो बा को साहु हो
मेरो दाइको जार हो
मेरो भाईको औषधी हो फेसबुक
मेरो दिदिको लमि हो बिहे पनि गरायो
छोडपत्र पनि गरिदियो
मेरो बहिनिको भिटामिन हो ,जो बिना खानै रुच्दैन
मेरो सर्वस्व हरण गरेको पापि हो
त्यसैले म यसलाई सामाजिक जन्जाल भन्छु
तपाईं के भन्नुहुन्छ?
आखाँमा असर पार्छ नहेर भन्छन्
हो त अब हेर्दिन भन्छु
तर के असर पार्छ भन्ने जिज्ञासा हुन्छ
अनि त्यसको असरहरू हेर्दा हेर्दै दिन गएको
रात छिप्पिएको,भात सेलाएको पत्तो हुदैन
गेमले पढाई बिगार्यो भन्छन्,
टिकटक र स्न्यापच्याटले बित्यास पार्यो भन्छन्
हो त अब त छुन्न है भन्छु
तर गेम बाटै लाखौं पैसा कमाएको खबर सुन्छु
के रहेछ गेम र टिकटमा भनेर खोज्दा खोज्दै
हप्ता बितेको, आफन्तको घरमा आगो लागेको
पत्तै हुदैन
स्कुल जानलाई तयार हुन्छु
पोशाकमा फोटो खिचेर पोस्ट गर्छु
त्यसपछी त्याहाँ आउने प्रतिकिया हेर्दै
स्कुल तिर लाग्छु
म स्कुल पुग्दा त खाजा खाने समय भइसक्छ
म नचाहाँदा नचाहँदै छुन्छु
हेर्दिनँ भन्दा भन्दै हेर्छु
म डुब्दिनँ भन्दा भन्दै डुब्छु
म लुटिन्नँ भन्दा भन्दै लुटिन्छु
म सचेत छुँ भन्दा भन्दै कहिल्यै ननिस्कने गरि फस्छु
म हार्दिनँ भन्दा भन्दै हार्छु
अनि......
अनि म मर्दिनँ भन्दा भन्दै मर्छु
लुगै नखोली, बोल्दै नबोली,भेटै नभई लुटिन्छु
र समाज डरले म मर्छु
त्यसैले म यसलाई सामाजिक जन्जाल भन्छु
तपाईं के भन्नुहुन्छ ???