तमसुक साहुको खोपीमा, हिसाबको खेस्रा बोकेर विराटनगर महानगरपालिका धाउँछन् मिटरब्याज पीडित

तमसुक साहुको खोपीमा, हिसाबको खेस्रा बोकेर विराटनगर महानगरपालिका धाउँछन् मिटरब्याज पीडित

विराटनगर । विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीका विवाहका लागि एकलाख ७ हजार ऋण लिएका थिए । ऋण लिदाँ सुनिलकुमार साहसँग सयकडा अढाईको ब्याजदर शर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कठ्ठा जग्गा धितो राखे । छोरीको विवाह भयो, उनले ऋण तिर्दै गए तर कहिल्यै सकिएन । अहिले उनको नाममा १९ लाख ९३ हजारको तमसुक छ ।

साविक बुधनगर–४ मा साहुको तमसुक ऋणमा खिचिएका महेशलाल जस्ता धेरैको अवस्था उस्तै छ । हिसाबको खेस्रा बोकेर न्यायिक समितिमा आएका मण्डल जस्ता दशजनाको तमसुक साहु कहिल्यै फर्काउँदैनन् । जग्गा धितो राखेर लिइएको थोरै ऋण तिरेर पनि कहिल्यै सक्दैनन् ।

विराटनगर महानगरपालिकाको कानुन शाखाकी उजुरी प्रशासक अधिकृत शारदा थपलियाका अनुसार एउटै व्यक्तिले थोरै ऋणमा जग्गा खिचेर बारम्बार ऋण असुली गरिरहेका दशजना व्यक्तिको अवस्था दयनिय बनेको देखिन्छ । सुनिलकुमार साहसँगै ४५ हजार ऋण लिएर ८० हजार बुझाउँदा थाकिसकेकी ५६ वर्षीय मिनादेवी मण्डल न्यायको खोजीमा महानगरपालिका धाईरहेकी छिन् । उनको दुई कित्ता जग्गा साहले छिनेका छन् । धितो पास गराएर ऋण दिएपछि जति फर्काएपनि नसकेपछि अझै चार लाखको बुझाउनु पर्ने चिन्तामा अनुहार चाहुरिएको छ । ऋण दिएर जग्गा उठाएपछि उनले विराटनगर–१८ बुधनगरको झुपडी घर भाडामा लगाएको कागज गराएका छन् । जग्गा छिनेपछि बस्दै आएको घर भाडामा लिएको बनाएका हुन् ।

२०६६ सालमा खिचडीदेवी साहले ७० हजार उनै साहसँग लिएकी थिइन् । उनले २०७९ सालसम्म पनि ४२ हजार ५०० सय ऋण तिरेको देखिन्छ । त्यस अगाडी पनि ३२ हजार ५०० बुझाएको साहुले लेखिदिएका छन् । तीनलाख फिर्ता दिईसके तर न तमसुक फिर्ता दिन्छन् न त जग्गा, खिचडीदेवीले भनिन् अब १९ लाख ७ हजार बुझाउनु नत्र जग्गा फिर्ता नहुने बताउँदै आएका छन् । खिचडीका जेठा छोरा साहुको ऋण बुझाउँदा बुझाउँदै मानसिक रोगी भएका छन् । दुई सन्तान भएको छोराको हालतले आमालाई समेत पिरोलेको छ, उनी रुँदै रात बिताउँने गरेको सुनाउँछिन् ।

निर्मलादेवी साहको नाममा रहेको ६ कठ्ठा जग्गा राखेर तीनवर्ष अगाडी सात लाख ऋण लिएका उनका श्रीमान् नारायण साहका अनुसार सुनिललाई २१ लाख बुझाएर आफ्नो जग्गा फिर्ता लिएको सुनाउँछन् । त्यसका लागि उनले कृषि विकास बैंकबाट ऋण लिएर साहु फस्र्यौट गरेका हुन् । उनले भने बैंकको पहुँचमा हामी थिएनौं, साहुको भर पर्दा डुबिरहेका छौं ।

ऋण लिएर बुझाउनेमध्ये दिलिप अमातको १० कठ्ठा जग्गा ६ लाखमा धितो पास गराएका साहले २२ लाख सन्जय अमातलाई गत बैशाखमै बिक्री गरिसकेका छन् । सरकारले मिटर ब्याज जाँचबुझ गर्न आयोग बनाएपछि उनले हतारहतार जग्गा अर्कोलाई बिक्री गरेका थिए । तर, दिलिपलाई बाँकी पैसा दिने कुरा गर्दैनन् । उनले भने–जग्गा धितो राखेर तीनसाल अगाडी लिएको पैसा बुझाईरहेका छन् । आफ्नो जग्गा अर्कोको नाममा हुँदा बिक्री गरेका साहले आफूसँग ऋण सकिएको कुरै नगरेपछि उनी झन् बिचल्लीमा पारिएका छन् ।

यसरी आए न्यायिक समितिमा
किराना पसल सञ्चालन गर्दै आएका सुनिलकुमार साह त्यहाँका जल्दाबल्दा हुन् । उनले सुनका गहना र जग्गाको धितो राखेर ऋण लगानी गर्ने गर्दछन् । ७० हजार ऋण लिएकी खिचडीदेवी साहलाई साढे ५ कठ्ठा जग्गा ऋणमा निफनिएकोले छोड्न भनेपछि उनी बाटोमा बसेर रोईरहेकी थिइन् । त्यसैबेला विराटनगर उपमहानगरपालिका उपप्रमुख एउटा विद्यालयको अनुगमनका लागि त्यहाँ पुगेकी थिइन् । खिचडीदेवी रोहिरहेको ठाउँमो भीड देखेर उपप्रमुख कार्कीले कुरा बुझ्न चाहिन् । नजिक गएर सोधखोज गर्दा साहुले उठिबास लगाएको सुनाइन् । त्यसपछि उनले न्यायिक समितिमा निवेदन दिन भनेपछि खिचडीदेवी आईन् । साक्षीसहित फिराद दर्ताका क्रममा खिचडीदेवीसँग मिनादेवी मण्डल आईन् ।
साक्षी बस्न आएकी मिनादेवीको पनि अवस्था उस्तै भएपछि निवेदन संख्या बढ्यो । खिचडीदेवी र मिनादेवीले उजुरी दिएपछि गाउँभरका सबै न्यायिक समितिको सहारामा आए ।
उजुरीपछि ऋण लगानी गर्ने सुनिलकुमार साहलाई न्यायिक समितिले छलफलका लागि बोलायो । छलफलमा उनी टसमस भएनन् । उनले ऋण दिएको र फिर्ता लिइएको बताउँछन् तर जग्गा फिर्ता गर्ने कुरा गर्दैनन्, कानुन शाखा उजुरी प्रशासक थपलियाले भनिन्–जग्गा राखेर ऋण असुल पनि गर्ने जग्गा फिर्ता पनि नगर्ने देखिएपछि लेनदेनको विवाद मिटरब्याजसँग सम्बन्धित देखियो ।
यो विवादमा मेयर नागेश कोइरालाले समेत छलफल गराएका थिए । मेयर कोइरालाले ‘जग्गा धितो पास गराएर ऋण लगानी गर्नेले, ऋण पनि असुल गर्ने र जग्गा फिर्ता किन नगरेको ?’ भनेर साहलाई सोधेका थिए । त्यसपछि साहले पीडित मिनादेवी मण्डल, महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की विरुद्ध समेत करकापमा पारी यातना दिएर गैरकानुनी रुपमा धरपकड गरेको भन्दै अदालतमा मुद्दा हालेका छन् । उनले मेयर, उपमेयरसहितलाई मुद्दा हालेपछि अहिले गाउँभर ऋण लगानी गरेकाहरुलाई ‘मलाई केहि गर्न खोज्नेलाई देखाउँछु’ भन्दै आएका छन् । उनले अदालत, प्रशासन र प्रहरी समेत आफ्नो पकडमा रहेको बताउने गरेको पीडित सुनाउँछन् । त्यसपछि साहसँग थप पीडित भएका व्यक्तिहरु न्याय माग्न आउन समेत सकिरहेका छैनन् ।

यसरी बढ्दै छ मुद्दा
महानगरपालिकाको न्यायिक समितिमा पीडितहरुले ‘मान्छे झिकाई, छलफल गराई जग्गा फिर्ता गराई पाउँ’ भनेर निवेदन दिएका थिए । सामान्य लेनदेन विवादको हिसाबले न्यायिक समितिले मुद्दाका दुवै पक्षसँग छलफल गराउँदै जाँदा एकै व्यक्तिसँग जोडिएका उस्तै प्रकारका पीडितको संख्या दशजना पुगेको छ । त्यस बाहेक मटेर्वातिरका समेत कतिपय व्यक्तिहरुको सुनका गहना राखेको, जग्गा धितो राखेर मिटर ब्याज असुलेको गुनासोहरु थपिदै गएका छन् । कानुन शाखा अधिकृत थपलियाले न्यायिक समितिमा परेका लिखित फिराद, साक्षी प्रमाणसहित यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी भईरहेको सुनाइन् ।
सरकारले मिटरब्याज पीडितको समस्याबारे जाँचबुझ गर्न २०७९ चैत २० गते अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आयोग बनाएको थियो । यो आयोग अन्तर्गत जिल्ला प्रशासन कार्यालय जाँचबुझ गर्ने क्षेत्राधिकारमा पर्दछ । न्यायिक समितिले रायसहित जिल्ला प्रशासन कार्यालयमा मुद्दाको सम्पूर्ण फायल पठाउने थपलियाले जानकारी दिइन् । त्यस बाहेक पक्राउ गरि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा समेत पठाइने भएको छ ।
यस विषयमा ऋण लगानी गर्ने सुनिलकुमार साहसँग बुझ्न उनको मोवाइल नम्बरमा फोन गर्दा ‘आवाज नआएको’ भन्दै काटेका छन् । उनले त्यसपछि फोन समेत स्वीच अफ गरे । साहले ऋण लगानी गरेर बनाएका अवैध तमसुक राख्ने अन्डरग्राउन्ड खोपी बनाएका छन् । उनका घरमा भएका जग्गा धितो र सुन बन्धकीका तमसुक घर भित्रै माटोमुनीको खोपीमा राख्ने गरेको पीडित बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्