रंगेलीको इतिहास नभेटिएको चलचित्र ‘रंगेली’

रंगेलीको इतिहास नभेटिएको चलचित्र ‘रंगेली’

सुजता लिम्बू
विराटनगर । मोरङको रंगेलीको आफ्नै छुट्टै इतिहास छ । मोरङको पुरानो सदरमुकाम रहेको रंगेलीमा धार्मिक आस्थासँग जोडिएको शक्तिपीठको चिनारी उत्तिकै रहेको छ । यहाँ काली मन्दिर र संसारीमाइस्थान मन्दिर भक्तजनको माझ आस्था र शक्ति फिँजाएर अवस्थित रहेको छ । तर, फागुन २५ गते प्रदर्शनीमा आएको नेपाली कथानक चलचित्र हेरिसकेपछि त्यहाँको इहिसलाई निर्देशक अर्जुन सुवेदीले भुले जस्तो अनुभुति भयो ।

भारतीय सिमानाकासँग जोडिएको रंगेली र त्यो क्षेत्रमा मौलाएको तस्कर, ग्याङ फाइट नै कथाको मुलधार भएर बगेको छ । कथामा मुख्य पात्रको भूमिकामा विजय (दयाहाङ) राई र भगवान भाई (अर्पण थापा) लाई देखाइएको छ ।
त्यसो त चलचित्रमा पात्रहरुको कमी छैन किनकी सबैलाई रंगेलीको राजा जो बन्नु छ । तोताभाई यादव (रुपेश झा), मानबहादुर ढकाल (प्रविण खतिवडा) , केशरी भाई , विटु भाई , पवन भाई यादव लगायत यस चलचित्रको पात्र हुन् ।

चलचित्रमा विटु भाई प्रहरीले खटाएको पात्र हुन या तस्कर नै भन्ने इसाराले मात्रै बुझ्न सकिन्छ । प्रष्ट छैन । प्रदर्शनीमा हतार गरेजस्तो अनुभुती हुने चलचित्र रंगेलीमा मध्यान्तरसम्म आइपुग्दा दर्शकहरुलाइ पटयार लागे जस्तो महसुस गर्न सकिन्थ्यो । खुला सिमानामा हुने तस्कर ,नक्कली नोटको धन्दामा राजनीतिक दलका शिर्ष नेता साथै नेपाल प्रहरीको मिलेमतो कति हदसम्म हुन्छ भन्ने चलचित्र मार्फत प्रष्ट देखाउन खोजेको छ ।
तर, प्रहरीको अनुसन्धान र इमान्दारीतालाई समेत औँला उठाउन चलचित्रले कसुर छोडेको छैन । डिउटीको क्रममा खटिएको नेपाल प्रहरीको सादा पोषाकको कर्मचारीलाई भगावन भाईको विश्वासको पात्र विजय अर्थात दयाहाङले गोली हानि हत्या गर्नु र त्यो घटनाको कुनै अनुसन्धान नहुनु चलचित्रले प्रहरी सुरक्षा र अनुसन्धानलाई फितलो देखाएको छ ।

नायिका मिरुना मगर (जुनकीरी) लाई परिवार बिहिन थारुकी छोरी बनेर चलचित्रमा उभ्याइएको छ । यसमा आश लाग्दो अभिनय भने पाउन सकिएन ।
अभावको जालोबाट उम्किन रंगेली भित्रिएका विजय र तोताभाई अपराधको जालोमा फस्छन् । यो दृष्यले मान्छेको परिस्थिति र बाध्यताका पाटोलाई चलचित्र मार्फत पस्कन त खोजेको छ । तर, निर्देशक कहीँ न कतै यसमा पनि चुकेकै छ ।
हुन त चलचित्र काल्पनिक कथामा आधारित नै हुन्छ । तर, काल्पनाका कथाले त्यहाँको वास्तविकतालाई ओझेलमा पारेको समेत दर्शकहरुको गुनासो थियो । नक्कली नोटको कारोबार, हत्यामा संलग्न अपराधीको अनुसन्धानलाई केबल राजनीतिक सत्ता र शक्तिकै भरमा ओझेलमा पारेको देख्न सकिन्छ ।
चलचित्रमा रंगेलीको राजा बन्ने होडबाजीमा पात्रको मात्रै जन्म हुँदै गर्दा अब चलचित्रको अत्य कसरी होला ?
प्रहरी अधिकृत थारुकी छोरी बनेर अनुसन्धानमा खटिएकी जुनकिरीको हत्यामा संलग्न पक्राउ पर्ला कि नपर्ला भन्ने दर्शकको प्रश्न निर्देशकले दोश्रो रंगेली–२ मा लगेर विट मार्दिएको छ । कतै भारतीय चलचित्रको कपि गरे जस्तो भान हुने रंगेली आफैँमा अर्गानिक भने भेटिएन । अब रंगेली २ का लागि भने चलचित्र निर्माण टिमले निक्कै गम्भिर र हतार नगरी मिहेनत गर्न जरुरी रहेको समते देखिन्छ ।

नेपाली चलचित्र ‘रंगेली’ शुक्रबारदेखि सफलताका साथ देशभरका सिनेमाघर तथा क्यूएफएक्स सिनेमा प्रदर्शन भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्