परम्परा र संस्कारलाई जीवन्त राख्ने चलचित्र ‘सुगुप’

परम्परा र संस्कारलाई जीवन्त राख्ने चलचित्र ‘सुगुप’

सुजता लिम्बू
विराटनगर । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय कुनै एक समुदायको सांस्कृतिक पक्षलाई समेट्नु सकारात्मक मान्नुपर्छ ।

आफ्नो समुदायबाट टाढा रहेर हुर्किएका पुस्ताहरुका लागि लिम्बू संस्कृति र परम्पारका विषय समेटेर निर्माण भएको नेपाली चलचित्र नुमाफुङ, जारीले केही न केही पाठ सिकाएकै छ । आफ्नो समुदायमा चलनचल्तिमा आएका मुन्धुमका कुरा , धर्मका कुरालाई चलचित्र मार्फत लेखकका कथालाई निर्देशकले प्रस्तुत गर्न सक्नु कम खुबी होइन ।

भर्खरै लिम्बू समुदायको परम्पारामा आधारित चलचित्र जारीले खुब चर्चा कमाउन सफल भयो । त्यसको लगत्तै देबेन्द्र खापुङ ‘सुर्केली’ द्धारा लिखित चलचित्र ‘सुगुप’ विराटनगरमा प्रीमियर सो मार्फत प्रर्शनीमा आएसँगै यहाँका दर्शको मन जित्न सफल भएको छ ।

८० प्रतिशत लिम्बू भाषाले प्रभाव परेको सुगुप नेपाली र अँग्रेजी भाषामा अनुवाद गरिएको छ । चलचित्रको प्रमुख भूमिकामा रहेको फुङसा (बबिता नयोङहाङ ) र फेदापे (मौसम लिम्बू फुलेन्द्रकको बाउ ) को प्रेममिल सम्बन्ध कथाको सुरुवात त्यहीँबाट छ । धनी र गरिबबीचको असमानताले केही वर्ष छुटेर बस्नु परेको श्रीमान श्रीमतीको पीडालाई पनि चित्रण गरिएको छ ।

मधेसी समुदायको बाहुल्यता रहेको विराटनगरमा चलचित्र हेर्नेहरुको लर्कोमा समावेशीता महसुस गर्न सकिन्थ्यो । ती सबै जातजातिका दर्शकहरुको प्रतिक्रिया अनुसार लिम्बू समुदायको महिला गर्भवती हुँदा मुन्धुम र विज्ञानबीचको सम्बन्धलाई समेत सोँच्न बाध्य बनाएको थियो ।
चलचित्रमा प्रेम सुब्बा, मौसम लिम्बू बाहेक नयाँ अनुहारका कलाकारहरु थुप्रै थिए । तर, नयाँ अनुहारमा पनि अभिनय खासै फिक्कापन देख्न सकिएन किनभने कथाले दिन खाजेको विषय बेजोड थियो ।

लिम्बू मुन्धुम अथवा परम्परा अनुसार लिम्बू समुदायकी महिला प्रसवको समयमा मृत्यु भएकी छन् भने ‘सुगुप’ भन्ने गरिन्छ । प्रसवको समय मृत्यु भएकी अर्थात सुगुप भएकी महिलाको अन्त्यष्टि अलिकति घोप्टो पारेर गरिने प्रचलन छ । मृत्युपछि कुनै कष्ट र संकट आउन नदिन विजुवाले रातभर लिम्बू मुन्धुम अनुसार झारफुक गर्ने प्रचलन चलचित्र मार्फत देखाइएको छ । यसमा परम्परागत मान्यतासँगै विज्ञानलाई समेत उत्तिकै मान्यतामा राखिएको छ । चलचित्रमा अर्की नायिक माक्सोती ( सुम्निमा खापुङ) मुख्य नायिकाकी भदैनी हुन्छिन् । फुपु अर्थात फुङ्सालाई माग्न आँउदा फुपु प्रेमिसँग भागेपछि तीनै माग्न आएको केटासँग माक्सोतीको विवाह हुन्छ । त्यहीबाट सुरु भएको कथामा गर्भवती अवस्थामा श्रीमानको साथ नियमित स्वास्थ्य जाँचले गर्भमा रहेको बच्चा र आमा सुरक्षित हुन्छन् भन्ने मान्यतालाई पनि चलचित्रमा देखाउन खोजिएको छ ।

लिम्बू मुन्धुम अनुसार खोलानाला तर्न नहुने, किला, दाम्लो नाघ्न नहुने, ढिकीजाँतो चलाउन नहुने रहेको छ । त्यसमा पनि लिम्बू समुदायमा महिलाहरु गर्भवती भएपछि साप्पोक चोमेन (पेट पुजा) गर्नै पर्ने मान्यता रहेको छ । जुन दृष्य चलचित्रमा पनि देख्न सकिन्छ । परम्परागत मान्यता अनुसार पेट पुजा गर्दै नियमित स्वास्थ्य जाँच गर्ने माक्सोती आफूसँगै स्वास्थ्य बच्चा जन्माएर माइतबाट घर फर्किन्छन् ।

उता, माइतीमा नै बसेकी फुङमाले गर्भअवस्थामा हुँदा अनेकन पीडा र दुखः झेलेको श्रीमान साथमा नुहँदा आफ्नो ख्याल गर्न नसक्नुको पीडा त्यसमा पनि परम्परागत अनुसार पेट पुजा ढिला हुँदा र नियमित स्वास्थ्य जाँच गर्न नजाँदा महिलाले प्रसवको समय देहत्याग गर्नुपर्ने अवस्था आउन सक्ने दृश्य चलचित्रमा देख्न सकिन्छ । चलचित्र केबल मुन्धुम र परम्परागत मान्यतमा मात्रै आधारित छैन । यसले जनस्तरमा केही सन्देश समते प्रवाह गरेको छ भन्दा दुईमत नहोला । लोकेन साँवाद्धारा निर्देशित सुगुप चलचित्रमा यासेली योङहाङ, रविन नाल्बो लगायतको अभिनयमा कुनै खोट लगाउने ठाँउ छैन । तर, लिम्बू समुदायमा महिलालाई उच्च सम्मानका साथ राख्ने गरिन्छ जहाँ गर्भवती महिलालाई जंगलमा निर्मम तरिकाले लछारपछार गरेको दृश्यले निर्देशक केहीँ कतै चुकेको जस्तो महसुस हुन्छ ।

खैर, काम गर्दै जाँदा कहीँ कमी कमजोरीहरु हुन्छन् । यसलाई सुधार गर्न सके चलचित्रले आउने नयाँ पुस्तालाई लिम्बू समुदायको परम्परा र संस्कारलाई जीवन्त र दस्तावेजिकरण हुन्छ भन्दा फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्