-जयन्ता खत्री सुधा
म कर्णालीदेखि काठमाडौंसम्मको
सफर गर्छु
अज्ञान देखि विज्ञान सम्मको
तथ्य औल्याउँछु
हकिङ्को भविष्यवाणी पढ्छु
हिमाल देखि मधेश सम्मको
प्रकृति हेर्छु
अनि सुर्योदय देखि सुर्यास्त सम्मका
दुइ क्षितिजलाई जोड्ने आकाशलाई नियाल्छु
र........
र म मेरो बच्पनको स्मृति माथि कसुर देखाउदै
तिनमाथि बेवारिसे मुद्दा चलाउँछु
दोष त्यो बालापनको स्मृतिको हो
कि यो वर्तमान समयकाे?
यिनै दुइ अन्यौलको बाँधले मलाई वकालत गर्न रोक्छ
मैले बालापनमा देख्ने
जुनको किरणमा पनि हिरा जस्तो टल्किने
बा को छड्के टोपि जस्तो त्यो हिमाल,
हिमालको ओठमा रातो लालि जस्तो
देखिने त्यो गुराँस ,
हिमालको छेउछाउमा उफ्रने र कुद्ने
हाब्रे,मुनाल र कालिज
सुन्दरता संगै सौभाग्यको संकेत दिदै
निरन्तर र अबिरल बग्ने खोला र नदी
,सिङ्गार गर्नको लागि ऐनाको प्रतिक
ठानिने ति तालहरू
घामले पनि जान मन नलागि नलागि
हात हल्लाउँदै डुबुल्की मार्ने
अनि जुन र ताराहरू मुस्कुराउदै, नाच्दै अनुहार देखाउने
त्यो सुन्दर प्रकृति के मेरो बालापनका भ्रम हुन्?
के ति सबै सपना हुन्?
के ति वास्तवमै थिएनन्?
ति सबै सपना हुन् भने आज किन यथावत छन् ति स्थान?
जहाँ म आफ्नो बालापन बिताउँथे
जहाँबाट म रहरका फुलहरू टिपेर
कल्पनाको देवतालाई पूजा गर्थे
हिमनदी, हिमताल त विष्फोट भइसके
त्यो हाब्रे,मुनाल र कालिज मरिसके
ति हरिया रुखहरू पुरै फाडिसके
रुख काट्दा त त्यो जङ्गल
कपाल खौरिएको तालु जस्तो भएको छ
आज त्यो हिमालको हिउँ पग्लिसक्यो
हिउँ पग्ले पछि त हिमाल पनि छाल फालेको
तरुल जस्तो भएको छ
ति सफा नदिहरू अहिले कारखानाको ढल
र प्रत्येक घरको फोहर थुपार्ने साझा
डस्टविन बनेका छन्
ति सुन्दर ताल तलैया हरु कतै सुकिसके
त कतै सुक्दै छन्
यातायात र कारखानाको अनावश्यक आवाज
अनेकौं पलाष्टिक र अनियन्त्रित शहरिकरणलर
गाउँ देखि सहर सम्मको कुनै युद्धभूमि भन्दा कम छैन
धुलो र धुवाँले मौसम कुनै आगोको मुस्लोले भरिएको घर
भन्दा कम छैन
अब हामि कति शिक्षित, विवेकशील र सर्वस्रेठ भयौं भन्नु
घर बाहिर निस्कियो कि गाईवस्तुको
मुखमा मुखालि लाए जस्तो
कानलाई भारि पारि पारि मास्क लगाउनुपर्छ
कसरि सुरक्षित छौं, स्वस्थ छौं भन्नु
बिहानै बजार हेर्न निस्केको सेतो गुडिया
बेलुका कालो र धुस्रो भएर आउँछ
खै कति विकास भयो भन्नु त्यो गाँउमा
विषादि र रसायनयुक्त खाना पुग्छ
अनि रोग र महामारिले सताउँछ
शिक्षितै, स्वस्थै र सफा नै भएपनि
प्रशासनको आसनमा शासन गरेर बस्ने
सबै जिम्मेवार वर्गले सोच्नुपर्ने होइन र?
के त्यो हिमालमा हिउँ,
त्यो पाखो बारीमा बालि
त्यो जङ्गलमा पाण्डा र मुनाल
फिर्ता आउनुपर्ने होइन र?
हामि बाँच्नुपर्ने छ भने
हामि जिउनुपर्ने छ भने
स्वस्थ रहनु पर्छ भने
साच्चै हामिमा मानवता छ भने
बचाउनुपर्ने त पृथ्बी होइन र
सजाउनुपर्ने त पृथ्बी होइन र
बम पड्काएर धोस्त पार्नुको साटो
जोगाउनुपर्ने त पृथ्बी होइन र
सबैलाई बुझाउनुपर्ने त हो तर
बुझ्नुपर्ने त आफैंले होइन र
जोगउनै परे पृथ्वी जोगाउँ
बचाउनै परे पृथ्वी बचाउँ।।