-जमुना पौड्याल
मान्छे !
मान्छे हुनुको अस्तित्व खोज्दै
उक्लिरहन्छ उकालाहरू
ओर्लिरहन्छ ओरालाहरू
बिर्सिएर विगत
कुल्चिएर वर्तमान
खोजिरहन्छ भविष्य
कैयौँ वसन्तका गीत
गायो कोइलीले
कैयौँ हिउँदमा सन्देश
ल्यायो कर्याङ्कुरुङले
प्रत्येक बिहानी उदाउँछ
आशाका कलिला अङ्कुर बोकेर
प्रत्येक साँझ मुर्झाउँछ
निराशाका सुस्केरा फ्याकेर
तर जिन्दगी दौडिरहन्छ
समयको लय समातेर
उसैको पछिपछि
खुसीका पङ्ख उडाउन
बादल पारिको देश घुम्न
सधैँ मीठो सपना देख्दै
कुदिरहेका छन् मान्छे
वर्तमानले दिएको
गहिरो चोटको खत
मुटुमा बिछ्याएर
आँखाबाट झरी खसाल्दै
अविरल बगिरहेछ जीवन
कर्णालीसँग मिसिएर
कोशीसँग मिसिएर
गण्डकीसँग मिसिएर
लाग्छ जीवन भट्टीको
आगो जस्तै हो
हरपल दन्किरहने
कोठीकी कान्छीको
आँसु हो झरिरहने
पापी समयले बुझेन
जीवनको अर्थ
बुझेन मनको विरह
कहिल्यै बुझेन
वेदनाका चीत्कार
कहिल्यै बुझेन
र आँसुको अर्थ के !!
विराटनगर