-जयन्ता खत्री सुधा
छाम्दा छाम्दै नोट रित्तिएको बेला
सधैँ नोट तन्ने कोट रित्तिएको बेला
मन रित्तिदैन,तलतल लागिरहेको हुन्छ
खलबल जागिरहेको हुन्छ
के खाउँ के खाउँ
आज जाउँ कि नजाउँ
दोधारमा लथ्रक लथ्रक हिडिरहेको बेला
पछाडी बाट झ्याप्पै अङ्गालो हालेर
जाउँ ओइ आज यसो सोलमारी तिर
भन्दै,
जाने र ,भनि यसो देखावटी नाइनास्ती देखाउँदा
जवरजस्ती तान्दै
यसो गन्ध अम्रित पिलाउने साथि पाए
पो मजा
कसैले पिलाउछ कि भनेर
कोही आउँछ कि भनेर
घिर्चो तानि तानि कुर्नुको के मज्जा ?
अलि अलि मात चढेपछि
रात छिप्पिएपछि,जाडो बढेपछि
लौ धोक मेरो तर्फ बाट भन्दै
हल्का बौँसालु र लजालु बन्दै
रित्तिनै लागेको गिलास मा
फेरि बाहानाको प्रसाद भरिदिए पो मजा
देउँ न हो देउँ साउनि भन्दै कराउनुको
उधारो कति खाको भन्दै गालि पाउनुको के मज्जा ?
लागिन्छ आधा रातमा घरतिर फगत
सडकमा मामा सँग हुन्छ भेटघाट
कहिले काँही त खाइन्छ बुटको सेलुट्
दुइ दिन सम्म झमझमाउने गरि
जाडो ले सासै नफेरी हिड्ने बेलामा
फुक्न नलाए पनि हुने नि त्यो ठाडो
जानुहोस् आज छुट हो भन्दै
मस्ति गर्दै आउन पाएपो
मामाघरमा गए पनि छुटाउन लाई
ठुलै संयन्त्रको व्यक्ति आए पो
अनि पुरै विश्व कप जितेर आएको जस्तो
देशको उत्कृष्ट पद पाए जस्तो
वरिपरि गाडि, सुरक्षाकर्मि लागेर
फुल माला दोसल्ला र अबिर
लाएर पुरै मिडियाले घेरो मारेको बेला
कोही मेरो सर्वस्व हरण गरेको पापि हो भन्दै
कराइरहेका बेला उसको आसुँ को बिजोग
हेर्दै निस्कन पाए पो मज्जा
सुरक्षित सुताएर, बेस्सरी कुटाएर
सबै पोल खोलाएर,जडिह्या भन्ने नाम दिलाएर
सबैको अघि रित्तै फर्किनु को के मज्जा?
जाबो लसुन प्याज चोरेको मुद्दामा
कडगरामा उभिनुपर्छ
भए-नभएको बयान दिनुपर्छ
वर्षौ सम्म त्यहिँ मुद्दाको फैसलाको लागि धाउनुपर्छ
खप्लक्कै अघाउन्जेल लसुनको साटो
सुनै खाना पाए पो
खाएर पनि सहजै सम्मानित ठाउँमा
जाना पाए पो
यसो नाम नआउनु तर कामको चर्चा
अखबार भरि आए पो मज्जा
लसुनको मुद्दा टार्न कानको सुन
बेच्नुको
यति गरेर पनि मुद्दा हार्नुको के मज्जा??