-लक्ष्मी रायमाझी खड्का
अलौकिक ठानेको
र सर्वस्व मानेको
नजिकिएको पल
ममा तिमी
र तिमीमा म
समाहित भई
एक अर्कोमा विलीन हुंँदै
समर्पित भावले सुम्पेको
अस्तित्वमय प्रिती!
जतनको घेराभित्र सुरक्षित छ
मनको भण्डारनमा!
समयको दुरीले
लखेटेको संयोग
निकटताको झोलीमा
पर्खिएको वियोग
अझै आत्मीयताको
डोरीले कसेर बाँधिएकै छ
सम्झनाको भारी
मुटु भरीभरी बोकेर!
हुन त
कुनै वाचामा हारेको होइन
किरिया
कसम खाएको पनि होइन
केवल मुस्कानमा
आँसु मिसिएको हो
मात्र एकापसको
भाव पिसिएको हो
एउटा प्रेमिल कुटीमा
प्रितीको तोरण बाँधिएर!