-लक्ष्मी रायमाझी
एकैछिन पनि अडिदैन
सञ्चय गरुँ भन्दा बगेर जान्छ!
फेरि पनि सकिँदैन
ओइरिएर आइरहन्छ
खै कहाँ छ भण्डार उसको ?
आखिर समय,गतिशील गतिमा
चलायमान छ
किन अचम्म मान्नु र?
बरु उसको सीमासर्पनसँग
आफू मिसिन सकियो मने
आकाश गंगा भएर फिजिन सकियो भने
संचय हुन्छ बचत जस्तै समय!
यही पर्याप्त छ
मान्यतालाई मान्यो भने
समयमै उसको महत्त्व जान्यो भने
बेमतलवी हुंँइदैन कुनै पनि बखत!
सकेसम्म समयको रङ्मा
मिसिनुपर्छ उसैको ढङ्गमा
बाँकी उसैले जे गर्छ गर्छ
भनेरै उसैलाई छोड्दिनु पर्छ!
स्वतस्फूर्त तालमा तरङ्गसँगसँगै
माछालाई ढडियामा पारेजस्तै
आफ्नो सीपको सजाउन सक्यो भने
उपद्रै होस् बलले कज्याउन सक्यो भने
समय सञ्चित हुन्छ!
सायद,
यसरी गरिएको सञ्चित समयले
जीवनको अनुराग बढाउँछ!!