नयाँ वर्षसँगै तराईमा सिरुवा र जुडशीतल

नयाँ वर्षसँगै तराईमा सिरुवा र जुडशीतल

इन्दु साह
विराटनगर । उमेरले ८० वर्ष, अमन शर्माका लागि पुराना दिनको स्मरण फरक छ । बैशाख १ गते सम्वत फेरिएका दिनको उत्साह फरक अनुभव गरेका उनले अहिले त्यो शैली हट्दै गएको बताए । उनले भने–जतिबेला म कृषि बैंकको कर्मचारी भएर सिराहामा कार्यरत थिए । तराईमा छुट्टै मान्यतामा नयाँ वर्ष मनाउने चलन थियो । अहिले पनि त्यो चलन छ, नयाँ वर्षका दिनलाई सतुआनी वा सुतआई भनेर भोलिपल्ट जुडशीतलको रुपमा मनाइन्छ ।

यो परम्परा कामय रहनु पर्ने शर्माको सुझाव छ । पहाडमा आफ्नै मान्यता, तराईमा आफ्नै मान्यता अनुसार नयाँ वर्ष मनाउनु नै नेपालीपन भएको उनको बुझाई छ । पुराना दिन घुम्न जाने, नयाँ वर्षमा नयाँ कामको थालनी गर्ने र साथीभाईबीच शुभकामना साटासाट गर्ने परम्पराप्रति उनको आदर अहिले पनि कायम छ । अहिले समय अनुसार घरपरिवार होटलमा पुग्ने र रुची अनुसारका परिकार खाने चलन रहेको उनी बताउँछन् । भन्छन्–सयम अनुसारको फरक शैली भएपनि नेपाली सम्वतको मान्यता हराउन सक्दैन । नयाँ चलनले पुरानो चलनलाई विस्थापित गर्ला की भन्ने उनमा चिन्ता भने छ ।
यस्तै ७८ बर्षी बन्धेलाल चौधरी बैशाख १ गते सिरुवा खेलेर मनाउने बताउँछन् । हामी थारु समुदाय भएकोले हाम्रो नयाँ वर्ष मनाउने आफ्नै परम्परा छ । नयाँ वर्षका दिन लक्ष्मि मान्ने गरेको गाई स्नान गराउने , पानी दिने, फुलपाति लगाउने , जेष्ठ नागरिकले शिरमा पानि छ्यापी आशिर्वाद दिने लगायतका काम हुने उनी बताउँछन् ।

उनका अनुसार अथिति सत्कार, छरछिमेक र साथीभाईबीच पानी छ्यापेर सिरुवा मनाउने परम्पराले पनि नयाँ वर्षलाई स्वागत गरिरहेको उनको बुझाई छ । चौधरीका अनुसार अहिले पहिलेको जस्तो नयाँ वर्षलाई मान्यता दिने चलन हट्दै गएको छ । उनले नेपालीले आफ्नो जाती, धर्म, संस्कार अनुसार नयाँ वर्ष मनाउनु पर्ने सुझाव दिएका छन् ।

नयाँ वर्षमा सबैले सम्मान भाव दर्शाउनु पर्ने सुजता कोइरालाको बुझाई छ । नयाँ वर्षलाई नयाँ उत्साह र उमङ्ग छाउने पर्वको रुपमा मनाए मात्रै वर्षदिनभरी शुभ हुने उनको सुझाव छ । नयाँ वर्ष एकअर्काको सहअस्तित्व र भाईचारा स्थापित गर्ने दिन भएमात्रै सबैको कल्याण हुने सुझाव अगुवाहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्