विराटनगर । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा सुन्दर पोखरी निर्माण भएको छ । विराटनगर महानगरपालिकाले बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । ठेक्का सम्झौतामा ७० लाखमा कबोल भएपछि निर्माणको काम सम्पन्न भएको छ ।
विराट राजा कालिन यो पोखरीलाई स्थानीय बोलिचालीको भाषामा धरहवा भनिन्छ । जहाँ बिराट राजाले नुहाउने गर्दथे । वस्ती विकाससँगै प्राचिन पोखरी संरक्षण अभावले पुरिएको थियो । स्थानीयले त्यसको महत्व थाहा पाएपनि जुट धुन मात्रै प्रयोग गर्दै आएका थिए ।
स्थानीय नित्यानन्द यादवका अनुसार यसमा छैठ तथा शिवरात्रीमा विशेष पुजा आरधना हुने गर्दछ । महानगरपालिकाले यसको संरक्षण गरिदिएपछि त्यसको महत्व फर्कनेमा आफूलाई विश्वास बढेको उनी बताउँछन् । उनले यो प्राकृतिक पोखरीको धार्मिक र ऐतिहासिक महत्व रहेकोले संरक्षणपछि बिराट राजा दरबार क्षेत्रको अवलोकन गर्न आउनेहरुले आफ्नो आस्था दर्शाउने गरेको सुनाए ।
विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेपछि बिराट राजा दरबार क्षेत्रको समेत संरक्षण गरिएको छ । दरबार क्षेत्रसँगै धरहवा पोखरीको स्वरुप फर्काइएको छ । विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार पोखरीको संरक्षणपछि अब यसको पेरिफेरीमा केहि सौन्दर्यकरणका कामहरु रहेका छन् । त्यसपछि पोखरीमा आउनेहरुका लागि बस्ने फलैंचा लगायतका संरचना बनाईने छ ।
यसैगरी विराटनगर–१४ का दुई पोखरीको संरक्षणको काम समेत महानगरपालिकाले अहिले धमाधम अगाडी बढाएको छ । विराट राजा कालिन मण्ठा र रानी पोखरीलाई पुर्नजिवन दिने योजना अनुसार निर्माणको काम धमाधम बढीरहेको हो ।
विराटनगर–१४ को मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माणलाई समेत महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पाँच किलोमिटर दक्षिण मलाया रोडको ५०० मिटर पूर्वमा अवस्थित छ । रानी नाकाबाट २ किलोमिटर उत्तरमा पर्ने यो पोखरीको सम्बन्ध हस्तिनापुरसँग जोडिएको मन्दिरका पुजारी नागेश्वर गिरीको भनाई छ ।
उनका अनुसार राजा बिराटका मित्र बाबा बानेश्वर हस्तिापुरबाट दरबारमा आएका थिए । उनी त्यहाँ रहँदा हिँडडुल गर्दै अहिलेको मण्ठा पोखरी भएको स्थानमा पुगेका थिए । उनी शिवभक्त रहेका कारण उनले त्यहि स्थानमा शिवमन्दिर स्थापना गर्ने घोषणा गरेका थिए । महादेवको प्रतिमा स्थापना गर्नका लागि उनलाई जलको समेत जरुरी थियो । जुन स्थानमा मण्ठा पोखरी रहेका कारण उनले जल भएको ठाउँमा महादेव मन्दिर बनाउने भनेका थिए । उनै बानेश्वर बाबाले मन्दिर स्थापना गरेका कारण त्यसको नाम समेत बानेश्वर बाबा महादेव मन्दिरको रुपमा नामाकरण गरिएको पुजारी गिरीले बताए ।
मण्ठाको ऐतिहासिक र धार्मिक महत्व अनुसार यसको संरक्षणको पहल पछिल्लो समय मात्रै भएको पुजारी गिरी बताउँछन् । ‘यसको संरक्षणमा महानगरपालिकाले बजेट दिएर काम भईरहेको छ, यसले धार्मिक भक्तजनका लागि राहत मिल्नेछ’ पुजारी गिरीले भने–मण्ठा र रानी पोखरीले बिराटकालिन सभ्यतालाई पुर्नताजगी गराउने आसा छ ।
मण्ठाले अढाई बिघा क्षेत्रफल चर्चेको छ । जहाँ शिव, पार्वतीको मन्दिर, नाग मन्दिर छ । यहाँ शिवरात्री र छठमा विशेष पुजाआजा हुने गरेको छ । मण्ठा पोखरीको जल निकालेर साउन महिनामा शिवलिङमा चढाउने प्रचलन रहेको छ । पोखरीको फैलावट १५ कठ्ठा जमिनमा रहेको छ । पोखरीको दक्षिणतर्फ बजरंगबली, पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट रहेको छ । महानगरपालिकाका इन्जिनियर सुजनराज श्रेष्ठका अनुसार मण्ठा पोखरी ग्रीनपार्कमा कवोल गरेको सात करोड ३७ लाख लाख ७९ हजार ५७४ (मूल्यअभिबृद्धि कर र प्रोभिजननल सम समेत)सम्झौता भएको हो । २०७९ माघ देखि सुरु भएको दुवै पोखरी निर्माणको काम २०८१ माघ ३० सम्ममा सक्नुपर्नेछ । अहिले पोखरी पानी सुकाएर यसको स्वरुप फर्काइएको छ । अब बाहिरी पेरिफेरी सौन्दर्यकरण गर्ने काम हुनेछ ।
मण्ठाको पाँचसय मिटर पूर्वमा दुई बिघा क्षेत्रफलमा फैलिएको रानी पोखरीका समेत मर्मत भईरहेको छ । यहाँ सन्सारीमाईको मन्दिरसहित आकर्षण रहेको छ । विराट राजा कालिन सभ्यतासँग जोडिएको रानी पोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कवोल गरेको छ करोड १६ लाख ६१ हजार ७६ (मूल्य अभिबृद्धि कर र प्रोभिजनल सम समेत) छ । यो पनि कला विल्डर्सले २०७९ माघ देखि सुरु गरेको हो । दुवै पोखरी एउटै निर्माण कम्पनीले एकै पटक काम सुरु गरेर २०८१ माघ ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ ।
स्थानीयले धार्मिक महत्व बोकेका प्राकृतिक पोखरीहरुको संरक्षणले पर्यटक आउने विश्वास राखेका छन् । दर्शन गर्न आउने भक्तजनका कारण स्थानीयको रोजीरोटीको समेत सवाल जोडिएको छ । पुजाका सामाग्री, चियानास्ताका पसल खोलेर जीविकोपार्जन हुनेमा उनीहरुको विश्वास छ । महानगरपालिका भित्रका प्राकृतिक पोखरीहरु सुक्दै जाँदा दक्षिणी क्षेत्रमा यसको संरक्षणले विकाससँगै जलासयको संरक्षण समेत भएको छ ।