सिजनमा भीड हुन्छन् विराटनगरका पार्टी प्यालेस, सञ्चालक भने सन्तुष्ट देखिदैनन्

सिजनमा भीड हुन्छन् विराटनगरका पार्टी प्यालेस, सञ्चालक भने सन्तुष्ट देखिदैनन्

इन्दु साह
विराटनगर । विवाह, व्रतबन्ध, पास्नी, राजनीतिक दल र संघसंस्थाका कार्यक्रम र अन्य विभिन्न जमघटले विराटनगरका पार्टी प्यालेस सधैं–सधैं चहलपहलमा हुन्छन् । महानगरापलिका क्षेत्रमा १८ वटा पार्टी प्यालेसलाई दिनदिनै कुनै न कुनै कार्यक्रमको व्यवस्थापनको जोहो हुन्छ । झट्ट हेर्दा सधैं जमघटमा रहेका पार्टी प्यालेसका सञ्चालक भने यसको कारोबारसँग कहिल्यै सन्तुष्ट देखिदैनन् ।

सिजनमा मात्रै कारोबार हुने भएका कारण लगानी अनुसारको प्रतिफल उठाउन नसकिरहेको उनीहरुको भनाई छ । विवाह र व्रतबन्धको सिजनमा सधैं भरिभराउ भएपनि त्यसपछिका महिना गैरसरकारी, सरकारी, राजनीतिक दलका कार्यक्रमले मात्रै थेगिनु परेपछि असन्तुष्टि सिर्जना भएको उनीहरुको भनाई छ । सामाजिक संस्कारका कार्जेमा कारोबार राम्रो हुने भएपनि बाँकी कार्यक्रममा लाभ लिनसक्ने गरिको कारोबार नहुने तर्क उनीहरुको छ । ‘राजनीतिक दलका कार्यक्रम, गैरसरकारी संस्थाको कार्यक्रममा खानाको मेन्युका पाँच परिकार समेत खपत हुँदैनन’ सञ्चालकहरुको भनाई छ–खानाका परिकार चल्ने कार्यक्रमहरुको सिजन बाह्रै महिना नहुँदा भनेजस्तो लाभ लिनसक्ने अवस्था छैन ।

सिजनमा मात्रै चलाएर लगानी जोगाउन नसक्ने भएपछि विराटनगरका केहि पार्टी प्यालेस बन्द हुने अवस्थामा रहेको उनीहरुको जिकीर छ । छिटपुट कार्यक्रमले दैनिक व्यवस्थापन, कामदार तथा कर्मचारीलाई पैसा समेत उठन नसक्ने उनीहरुको भनाई छ । विगत ८ वर्षदेखि संचालनमा रहेको संगम पाटी प्यालेश एण्ड होटल संचालक पदम श्रेष्ठका अनुसार सिजनमा चल्ने व्यवसाय भएकोले कारोबार भनेजस्तो हुँदैन । रोजगारीमा आश्रित जनशक्तिलाई थेग्न अफ सिजनमा समस्या हुने उनको भनाई छ । श्रेष्ठको संगममा बैशाखमा मात्रै ८ वटा कार्यक्रम भएका छन् ।

विराटनगर–३ आयल निगम अगाडि रहेको सप्तकोशी पार्टी प्यालेसका संचालक लालमणि भट्टराईका अनुसार सिजन नहुँदा काम हुने गरेपनि अन्य बेला सुनसान हुने गरेका छन् । अहिले विवाहको सिजन रहेका बेला राम्रो चलेपनि अब अन्ध शुक्र हुने भएपछि अब एकै पटक असारमा मात्रै विवाहको लगन सुरु हुनेछ । कारोबार नभएपछि पाटी प्यालेस संचालन गर्न नसकिने अवस्था छिट्टै आउन सक्ने बताए ।

उनले कक्षा १२ पास गरेका युवायुवती विदेश जाने प्रचलनले समेत समस्या बढाईरहेको छ । कलिलै उमेरका युवाहरु विदेश जाने, विदेश जानका लागि अदालतमा कोर्ट म्यारिज गर्ने भएपछि होटल तथा पाटी प्यालेसको जमघट समेत घट्दै गएको बुझाई उनको छ । उनले राज्यलाई बुझाउनु पर्ने राजस्व बुझाउनै मुस्किल हुने भएपछि बन्द गर्नुपर्ने बाहेकको विकल्प नआउला भन्न नसकिने बताए ।
गणेश दाहालले २०७५ सालदेखि सुरु गरेको गणेश पाटी प्यालेस लगभग बन्द हुने अवस्थामा पुगेको उनी बताउँछन् । बन्दै भईसकेको छैन तर अब अर्डर लिन चाँहि छोडिसके, दाहालले भने–अर्डर लिँदा व्यवस्थापन गर्न जनशक्ति आवश्यक पर्दछ । उनले ७० लाख लागतमा सञ्चालनमा ल्याएको सुनाए ।

विराटनगरको होटल मनास्लु इनका सञ्चालक रोशन खड्काले साना कार्यक्रमका लागि मात्रै बुकिङ हुने गरेको सुनाए । उनले धनाड्यको छनौटमा पार्टी प्यालेस नपर्ने हुँदा पनि त्यसको प्रभाव धेरै पर्ने गरेको बताए । केहिवर्ष अगाडीसम्म पार्टी प्यालेसको नाममा मात्रै सञ्चालित यस्ता संरचना अहिले होटलसहितको नामले चिनिने गरेका छन् । पाटी प्यालेस मात्रै भन्दा सिजनल भएपछि होटल थपिएको हो ।
विराटनगरमा भएका पार्टी प्यालेस संचालकहरुले अहिलेसम्म कुनै संगठन बनाएका छैनन् । व्यवसाय हितप्रवद्र्धनका लागि साझा संस्था नहुँदा कतिपय कुराहरुमा सहजीकरण समेत नभएको गुनासो गर्नेहरु समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्