-लक्ष्मी रायमाझी
उहिल्यै हजुरबुवाको
ठूलो टारबारीमा
हजुर आमाले
मकै गोड्दागोड्दै
सुत्केरी व्यथाले च्यापेर
मेरो बुबाको
जन्म भयो
त्यसरी नै
केही वर्षपछि
चार वटा काकाको
र दुई वटी
फुपूको जम्नसँगै
ठूलो टारबारीमा
अहिलेसम्ममा
धेरै घरको
जन्म भइसकेको छ
प्रकृतिमय
शाश्वत जीवन चक्रमा
ठूलो टारबारी
चिटिक्क परेको
करेसाबारी हुन पुगेको छ
यानेकि
मेरो घरबारी
एकछेउमा फूलबारी
अर्को कुनामा सागबारी
बेलाबेलामा मकैघारी
अफसोस!
हजुरबुवाको सेखपछि रहेन
अब ठूलो टारबारी
समयसँगै बग्यो खरबारी
तर मसँगै छ
मेरो
मन रम्ने मनबारी!
त्यसैले त
दु:ख मान्दिन
सृष्टि
र जीवन दृष्टिलाई
सम्मान गर्दछु
स्वागत गर्दछु
आत्मसात गर्छु
विकास भन्नु नै
विनाश पनि त हो
एकातिर सकिन्छ
अर्कोतिर भरिन्छ
यसरी
समय हिँडिरहेको छ
निरन्तर निरन्तर
हजुरबुवाको टारबारीदेखि
मेरो मनबारीसम्म
साँझ बिहान
नारायण नमसँगै।।