-सृष्टि सावित्रा
म हरेक पल मुस्कुरारहेछु, पीरमा बसेर
बरु भगवान दुखी रहेछन्,मन्दिरमा बसेर
गुनासो गर्दैनन् पाउमा परेका चप्पलहरु
यो सिन्दुर गुनासो गरिरहेछ, शिरमा बसेर
अवसर या चुनौती म के सम्झिउँ यसलाई ?
प्रेमी सुनामी पठाउछ आफू स्थिरमा बसेर
अहो!मुटु छट्पटाइ रहेछ धड्कन छुटे जस्तो
जसरी माछो छट्पटाइ रहन्छ झिरमा बसेर
कमलको दुर्भाग्य हिलोमा,जिन्दगी गुजार्नुपर्ने
गुराँसले जवानी सजाइरहेछ, भिरमा बसेर