विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगर । विराटनगरमा ब्रोइलर कुखुराको अभाव हुँदा मूल्यमा उतार चढाव भएको छ । काठमाडौंमा माग बढेपछि पूर्वका किसानले उत्पादन गरेका कुखुरा उता पठाउन थालिएको छ । सप्तरी र चितवनमा उत्पादन भएका कुखुरा पनि काठमाडौं केन्द्रीत भएर पठाउन थालिएको छ ।

खुल्ला सीमानाका हुँदै भारतबाट भित्रने कुखुरा समेत भारतमा चुनावका कारण उतै खपत भएपछि मोरङका मासु व्यवसायी अहिले आधा समय मात्रै फ्रेस हाउस खोल्ने अवस्थामा पुगेका हुन् । मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुवास शिवाकोटीका अनुसार मोरङमा कुखुरा उत्पादन गर्ने कृषक निरुत्साहित भएपछि त्यसको असर फ्रेस हाउसमा देखिएको हो । जसका कारण ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४४० देखि ४८० रुपैयाँसम्म पुगेको छ । शिवाकोटीले यहि स्थितिको सटेज कायम रहे कुखुराको मासु ५०० रुपैयाँ प्रतिकेजी नाघ्ने दावी गरे ।

स्थानीय किसानले उत्पादन गर्दा राम्रो पैसा पाउन सक्दैनन्, त्यहि भएर उनीहरु व्यवसायबाट पलायन हुने गरेका छन् । शिवाकोटीले काठमाडौंमा मूल्य घटेको बेला सप्तरी र चितवनबाट विराटनगरमा कुखुरा आउने गरेको सुनाए । भारतमा कुखुरा सटेज नहुँदा समेत सीमानाका पार गरेर डिलरहरुमा सस्तो मूल्यमा कुखुरा आउँछ । सप्तरी, चितवन र भारतका कुखुरा सस्तोमा पाउने भएपछि डिलरहरुले स्थानीय किसानका कुखुरा कम मूल्यमा खरिद गरिदिन्छन् । जसको असर कुखुरा पालक कृषकहरु निरुत्साहित हुने अवस्था आउँछ । उनीहरु पाल्नै छोडिदिन्छन् ।

अध्यक्ष शिवाकोटीका अनुसार विराटनगरमा दैनिक दुई हजार केजी ब्रोइलर कुखुराको खपत हुने गरेको छ । दर्ता भएका र नभएका समेत गरेर २०० फ्रेस हाउस सञ्चालनमा रहेका छन् । यीमध्ये दर्ता नै नगरी सञ्चालित फ्रेस हाउसले अवैध आयात भएका कुखुरा बिक्री गर्ने गर्दथे । अहिले भारतमा निर्वाचनका कारण कुखुरा उतै खपत भएपछि दर्ता बिनाका धेरै बन्द भएका छन् ।

भारतमा समेत अहिले कुखुराको प्रतिकेजी मूल्य ७० रुपैयाँसम्म बढेको छ । मोरङका फ्रेस हाउसले प्रतिकेजी २८० रुपैयाँ जीउँदो कुखुरा किनेर उपभोक्तालाई ४४० रुपैयाँमा बिक्री गर्दै आएका छन् । काठमाण्डौंमा प्रतिकेजी ३० रुपैयाँले मूल्य बढेपछि दश रुपैँया ढुवानी खर्च राखेर डिलरले सप्लाई दिने गरेका छन् । शिवाकोटीले पछिल्लो समय चल्लाको गुणस्तर समेत न्यून रहेको जानकारी दिए । किसानले पालेका कुखुरा २ देखि २.५ केजीसम्म हुनुपर्नेमा ४५ दिनसम्ममा १.५ केजी मात्रै हुने गरेको उनको भनाई छ । उति नै चारो खाँदा वजन कम भए किसान डुब्ने खतरा हुन्छ ।

अध्यक्ष शिवाकोटी भन्छन्–काठमाडौं सस्तो भयो भने चितवन र सप्तरीका कुखुरा विराटनगरमा डम्पिङ हुन्छन्, महंगो भयो भने विराटनगरदेखिका कुखुरा पुग्छन् । सस्तो कुखुराले बजार खिचेर स्थानीय उत्पादन निरुत्साहित हुँदा अभावका बेला बजार टार्न समस्या पर्ने गरेको छ । भारतमा समेत ४५ दिन कटेर बिक्न बाँकी रहेका कुखुरा प्रतिकेजी ८० रुपैयाँ सस्तोमा सीमा कटाएर डिलरहरुले बजारसम्म ल्याउने गरेका छन् । बजारमा धेरै प्रकारको चलखेलले स्थानीय कुखुरा पालकहरु निरुत्साहित भईसकेका कारण तत्कालकै मूल्यमा मन्दी आउन नसक्ने भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्