जापानले ७७ प्रतिशत कोभिड १९ को मौखिक औषधी नष्ट गर्दै

जापानले ७७ प्रतिशत कोभिड १९ को मौखिक औषधी नष्ट गर्दै

टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधीहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधीहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधीका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिनेछ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्