-लक्ष्मी रायमाझी
टुप्पी कसेरै पढियो
एउटा जागिर खाने उद्देश्य राखी,
हजुरआमाले दिएको आशीर्वाद
"बडा हाकिम हुनु
सबैको मान्नेगन्ने हुनु" ।
जीवनमा
यस्तै कुराले छुने गर्थ्यो,
मनमा दृढ सङ्कल्प हुने गर्थ्यो-
स्थायी सरकारी जागिरको मोहमा
चुर्लुम्म डुबेको मनलाई
के थाहा ?
उसका हरेक कदमहरू
यसरी अस्थायित्व बोकेर
हरेक स्थानको
प्रस्थान गर्नेछन् भनेर ?
आफ्नो
नागरिकता बोकेको
जिल्लै अस्थायी,
यहाँसम्म कि
उसको
पारिवारिक सम्बन्ध अस्थायी,
आफ्नो बासस्थानको
बसाई अस्थायी,
स्थानीयसँगको
चिनाजानी अस्थायी ।
उता छोराछोरीको
बाल्यकाल अस्थायी,
अपरिहार्य शिक्षा अस्थायी,
यतिमात्र हो र
टुसा पलाएको
प्रेमिल मुना अस्थायी,
अस्थायित्वको ठक्करले
ठनक्कै भाँचिएर
केटाकेटी मन,
कटक्क काटिएर
बाल मनोविज्ञान
अस्थायी ।
अपसोच् !
स्थायित्व कमाउन हिँडेको
जीवनको धरातलका
पाइला पाइलाहरूका
पदचापको आभासमा
स्थायी
निजामती जागिरको
मीठो कि नमीठो
अस्थायी स्वाद ??