-बसुन्धरा चौहान
बाबू !
ए बाबू
मेरो जिज्ञासा
शान्त पारिदे त !
मेरो छाती चस्केको छ
मन झस्केको छ
तेरो माया अपार छ दिलमा
तर
हिजोआज
वेदनाले छट्पटी बढेको छ
मेरा सामु
अन्धकार चढेको छ
त्यसैले सोध्छु
कता छ उज्यालो ?
हरियाली ल्याउँछु
मुना जोगाउछु
विष वृक्ष नास्छु भनेको होइन?
खोइ त हरियाली
अहिले
वृक्ष त के
बुटा समेत छैन
झाडी समेत छैन
मुनाहरू पलाउन नै छोडे
उराठ छ सबै पाखा
नदी, खोला सुकेका छन्
चिस्यान त केवल
आँखाहरूमा मात्र छ ।
रगतको खोलो बग्यो
तन्त्रको खोल फेरिए
राजतन्त्र
प्रजातन्त्र
गणतन्त्र
खोलमा मन्त्र मिठा थिए
सबै तन्त्रका खोल भित्र
लासको गन्ध ह्वास्सै आउँछ
तैपनि
बहाना अनेक बनाएर
चोख्याउने खेल चल्छ
कान्छा !
भन त!
रित्तो ताप्केमा पिठो
दुखेको घाउमा मलम
चर्किएको भित्तामा लिउन
चुहिएको छानोमा टालो
नाङ्गो आङमा भोटो
कहिले देखिन्छ?
चेलीको इज्जत
च्यात्ने असुरलाई
कहिले च्यातिन्छ?
दिनहुुँ मुग्लान भासिने लर्को
कहिले रोकिन्छ ?
के
बादल परेका आँखाले
बाकसमा फर्केको छोरो
नियाल्दै जिउँदै मर्नुपर्ने,
प्यारालिसिस भएका हातले
बुढेसकालको सहाराको
मुखमा दागबत्ती
दिएर
आफ्नो कालको पुकारा
गर्नुपर्ने कहिलेसम्म?
स्वार्थको तलाउमा
नाङ्गै पौडिएर
अबोध
निरीह
लाचार
दाजुभाइलाई
आपसमा जुधाउदै
रक्त तलाउ
निर्माण गर्ने काम
बन्द गरिदे बाबू ,
भो अब
आफ्नो भान्छा वास्नादार पार्न
गरीबीको जातोमा
पिसिएर धुलो बनेका
आशाका त्यन्द्रालाई
नामेट नबना !
स्वच्छन्द उड्ने चरीलाई
लालचको पिजडामा थुनेर
मौका हेर्दै
आफ्नो विलासको
सितन बनाउन छोडिदे कान्छा
नत्र
एकदिन आउने छ
तेरो आडम्बरको
श्रीपेच उडाउने छ
तेरो घमण्ड घडा
शोषणको सत्ता
सबै स्वहा पार्ने छ
मरुभूमिको बालुवामा
दफन हुनेछस्
तन्त्र र मन्त्रको
असाध्य जालोमा जेलिएर
गुमनाम हुनेछस्
वास्तविक क्रान्तिको
कहरमा कराउँदै ।