विराटनगर । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए।
खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए । नेपालले अब समुहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंका विरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ । त्यसपछि दक्षिण अफ्रिका र बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।