काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज(विहीबार) स्वदेश फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठूलो उपलब्धी हो । हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्यौं। हाम्रो नयाँ टिम हो । म मेरो टिमप्रति गर्व गर्छु । हामी अझै धेरै अगाडि जानु छ । हाम्रो टिममा धेरै युवाहरु छन्, उनीहरुले देशको लागि अझै गर्नुछ ।’
नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए । साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए । अघिल्ला पाँच खेलमा जित र गोलवीहिन खेलेको नेपालले हिजो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको थियो ।
खेल साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा भएको थियो ।