मन बस्यो बुट्टामा

<span class='c1'>मन बस्यो</span> <span class='c2'>बुट्टामा</span>

तोरीमा तिल छ, तेल भरिलो आँफै कहाँ झर्छ र ।
पेल्नै पर्दछ बिना प्रयत्न मुखमा आएर कहाँ पर्छ र ।।
                                                                 –जगन्नाथ गुरागाई

गएर उनको छेउमै बसे । उनी एक सुरमा काम गरिरहेका थिए । उनका आँखा बुट्टा कँुदै गरेको काठमा परेको छिनोको टुप्पोमा केन्द्रित थियो । अनि अर्को हातमा रहेको हथौैडाले छिनोको माथिल्लो भागमा हानिरहेका थिए । काठको हथौडाले भएर होला मधुरो ट्वाक–ट्वाकको आवाज नजिकै हुदाँमात्र सुनिने ।
व्यस्त हो ?
उनले भने –हो । ३–४ दिन भित्रमा ढोका तयार गर्नु छ ।
के को मूर्ति कुँद्दै हुनुहुन्छ ?
यो गणेशको । त्यो हिजो कुँदेको लक्ष्मीको हो ।
राम्रो कुँद्नु हँुदोरहेछ ।
मुर्तिको फिनिसिङ त चाहिन्छ नै । तर, त्यो भन्दा महत्वपूर्ण पक्ष भनेको देवी देवताको भए अवतार, मान्छेको भए अबस्था अनुसारको भाव अनुहारमा झल्किनु पर्छ । पशुपंक्षी र फूलहरुको पनि आकृित खुल्नु पर्छ ।
जस्तै ।
मुसा आसनमा बसेका गणेश भगवान र मयूर आसनमा बसेका गणेश भगवानको अनुहारको भाव एउटै हुन्न नी । काली माताको बिभिन्न एक्सन, अनुहारमा देखिनु पर्छ । मुर्तिको खासियत भनेकै यहि त हो । तर, यो गर्न त्यति सजिलो छैन् । हातमा सीप भएर मात्र हुदैन । पहिले दिमागमा त्यसको नक्सा बन्नु पर्छ । बुट्टा कुँद्न धैर्यता चाहिन्छ । मन शान्त र सकारात्मक हुनु पर्छ । आक्रोशमा बनाएको आकृतिमा के निखारता आउँछ र ? । कुनै आकृतिमा आक्रोश झल्किनु पर्छ । तर, बनाउने मान्छे नै आक्रोशित हुनु त भएन नि । त्यसैले मुर्ति कुँद्न सीप भएर मात्र हुदैन । सृजनशीलता, मनैदेखिको शुभभाव र लगाव चाहिन्छ । काठ त काठै हो तर कुँदेपछि भगवान ।
काठको कुरा गर्नु भयो । यो कुन काठ हो ?
यो त सिसौ हो । तर, सखुवा, कर्मा र टिकको काठ पनि प्रयोग हुन्छ ।
कुन काठ राम्रो हुन्छ ?
सिसौ । यसमा फिनिसिङ आउँछ र टिकाउ हुन्छ । अरु काठ जस्तो न बाङ्गिन्छ न त फुट्छ ।
मूल्य सस्तो महगो कस्तो हुन्छ ?
जुनसुकै काठमा पनि बुट्टा कुँदेको रेट त एउटै हो । तर, काठको मूल्य फरक–फरक हुनाले सस्तो महंगो प्रयोग गर्ने काठमा भरपर्छ । सिसौको काठमा बुट्टा कुँद्दा सबै भन्दा महंगो हुन्छ । तर, बुट्टा राम्रो देखिन्छ ।
बुट्टाको लागि काठको मोटाईले पनि फरक पर्छ ?
हो । परिहाल्छ नी । एक इन्चि मोटाईको काठमा पनि बुट्टा कुद्न मिल्छ । तर, आकृति स्वाभाविक जस्तै लाग्दैन । नाक थेप्चो हुन्छ । गाला पुक्क पार्न सकिन्न । खुलेका गहिरा आँखा बनाउनै गाह्रो । तर, दुई ईन्च मोटाई भएको काठमा भने भनेजस्तो हुन्छ । जस्तो सुकै आकृति पनि कुद्न सकिन्छ । नाकको डाँडी, पुटुक्क पेट, कानको लोति, हातका आँैला ।
यहाँ बन्दै गरेका झ्यालढोका, खाट र सिडीका रेलिङ अडरका हुन ?
सबै अडरकै हुन । बनाएर बिक्री गरांैला भनेर राख्नै मिल्दैन ।
किन नी ?
घरै पिच्छे झ्यालढोका, खाट र सिँडी, रेलिङका साईज फरक–फरक हुन्छन् । बुट्टाको च्वाईस पनि आ–आफ्नै हुन्छन् । त्यसैले ग्राहकले दिनु भएको साईज, बुट्टाको डीजाइन र ज्याला निश्चित गरेपछि मात्र काम सुरु हुन्छ ।
ज्याला कसरी तय हुन्छ ?
बुट्टा साधारण छ, साईज पनि सानै छ भने ज्याला कम हुन्छ । यदी बुट्टा देविदेवताको, मान्छेको र जटिल आकृतिको छ भने ज्याला त्यसै अनुसार धेरै लाग्छ । अहिलेसम्म मैले एउटा ढोकाको पल्लामा बुट्टा कुँदेको ६० हजारसम्म लिएको छु ।
एउटा ढोकाको पल्लामा बुट्टा कुँद्न कति दिन लाग्छ ?
समय त बुट्टाको आकृति र साईजमा भर पर्छ । यो गणेशको मूर्ति कुँद्न बिहानदेखि सुरु गरेको बेलुका सक्छु । खाग्सी लगाएर फिनिसिङ गर्न अरु एक दिन लाग्छ । सिङ्गल पल्लामा यस्ता तीन वटा मूर्तिहरु हुन्छन् । फ्रेममा पनि बुट्टा बनाउनु पर्छ ।
काठ ग्राहकहरुले नै ल्याउनु हुन्छ ?
हो । ग्राहकले नै पल्ला तयार गरेर ल्याउनु पर्छ । म पनि ब्यवस्थापन गर्न सक्छु । तर, त्यसमा रिक्स छ ।
कस्तो रिक्स ?
कुनै कुनै काठ बुट्टा कुँद्ने क्रममा चिरा पर्छ । बांङ्गिन्छ । भित्री भाग मक्किएको हुन्छ । यसो हुँदा त पैसा तिर्नु पर्छ । त्यसैले म बुट्टाको मात्र काम लिन्छु ।
काम कसरी पाउनु हुन्छ ?
प्रायः काम पाउने भनेको घर वा मन्दिरमा काठको काम गर्ने मिस्त्री मार्फत नै हो । थाहा पाउने कोहि कोहि सिधै पनि आउनु हुन्छ ।
तपाँईले बुट्टा कुँदेका झ्याल ढोका, खाट , सिँडीका रेलिङहरु कहाँ कहाँ छन् ?
धेरै जसो निजी घरहरुमा छन् । बिराटनगरका बिभिन्न मन्दिरहरुमा छन् । नेपाल बिद्युत प्राधिकरण, बिराटनगर बितरण केन्द्रकोे हाताभित्र रहेको बिश्वकर्मा मन्दिरको झ्याल, दुबै ढोका र चौकोसमा बुट्टा मैले नै कुँदेको हो ।
आजै ल्याएको यो ढोकाको पल्ला राजविराजबाट आएको अर्डर हो । असारको पहिलो हप्ता हेटौडा जाँदैछु । किराँत राजाको मन्दिर बन्दै छ अरे । त्यसका झ्यालढोका र अन्य आकृतिको साईज लिनु छ ।
यो पेसा त राम्रो रहेछ यसका अफ्ठ्याराहरु के के छन् ?
ग्राहकहरुले ईन्टरनेट हेरेर यस्तै डिजाइनको बनाइदिनु भन्नुहुन्छ । पहिले त सेतो कागजमा त्यसको स्केच बनाउनु पर्छ । यो आफंैमा गाह्रो काम हो । यसलाई कार्बन पेपर प्रयोग गरेर काठमा छाप्नु पर्छ । अनि कुँदेर आकृति । मसिनो काम । एकोहोरो हेरिरहदाँ आँखा पोल्ने र टट्याउने हुन्छ । निहँुरेर गर्दा घाँटी र ढाड दुख्छ । काठलाई खुट्टा खुम्च्याएर चेप्नु पर्ने हुनाले घँुडा र पैतालामा प्रेसर पर्छ । स–साना धारिला औजारहरु प्रयोग हुन्छन् । जतिनै होसियार गरु भन्दापनि खुट्टामा लागेर घाउ हुन्छ । यी हेर्नु न यी सबै घाउका खाटाहरु ।
प्राय मठमन्दिर र सार्वजनिक भवनहरुमा काम सकिसकेपछि पनि सबै पैसा समयमै पाइदैन् ।
किन ?
सहयोग गर्ने संस्था वा दाताले नै दिनु भएको छैन भन्नुहुन्छ ।
त्यस्तै एक दुई बर्ष काम सकेपछि मिस्त्रीहरु काम छाडेर अर्कै ठाउँ जाने हुनाले बुट्टा कुँद्ने मिस्त्री भनेको समयमा पाउनै मुस्कील हुन्छ । तयारी ढोकाको चलन बढ्दो छ । बुट्टा बनाउने मेसिन पनि आएको छ । आफ्नै पेसा व्यवसाय गर्ने म जस्ता युवाहरुलाई प्रोत्साहन पनि छैन् । तर पनि बिगत १५ बर्षदेखि यहि पेसामै छु । किनकी यसका राम्रा पक्षहरु पनि त छन् ।
के के हुन त राम्रा पाटाहरु ?
घरमा परिवार सँगै बसेर काम गर्न सकिन्छ । खासै रिक्स छैन । धेरै लगानी भन्दा पनि मेहनतको काम छ । जति खट्न सक्यो उती आम्दानी । बुट्टेदार झ्यालढोका, पलङ , दराज, सिडीको रेलिङको माग क्रमशः बढ्दो क्रममा छ ।
तपाँईका उमेरका युवाहरु रोजगारीकालागि बिदेश गएका छन् । र, जाने क्रम निरन्तर छ । तपाँईलाई यस्तो बिचार आएन ?
विराटनगर–८, राजबंशी टोलका निरज राजबशीले भने “बुट्टैमा मन बस्या छ । मलाई अब बैदेशिक रोजगारीको कुनै मोह छैन् । जादाँको ऋण, त्यहाँको खटार्ई, परिवारको याद । गाह्रो छ नी । त्यसैले आफ्नै गाउँठाउँमा यही पेसामा लाग्ने हो सकुन्जेलसम्म । के जानु काम खोज्दै । यही मैले नै दुई जनालाई रोजगारी दिएको छ । अडर धेरै भएको बेलामा पाँच जनासम्म हुन्छन् ।”

कुराकानीको अन्त्यमा ३४ बर्षीय निरजले हाँस्दै भने “ मठमन्दिर, घर बनाउने राज मिस्त्री, काठ मिस्त्री, बिजुली मिस्त्रीको नाम आउँछ । तर, बुट्टा कुँदेर झ्यालढोका सजाउनेको नामै आउँदैन् । त्यसैले धेरैलाई मेरोबारे थाहै छैन । हाम्रो कुराकानी र फोटो पत्रपत्रिकामा छापियो भने मेरो फोन नम्बर ९८४२४०७३६० हो । लेखिदिनुहोला ल ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्