दमक । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन्।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको प्रवक्ता चन्दले जानकारी दिए ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बू र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
यसै गरी मोरङ मधुमल्ला ८ बस्ने वर्ष ३६ कल्पना कटुवाल उहाँको नाम खुल्न नुसकेको करिब वर्ष ४ छोराको दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं.१ का वर्ष ४० की पूर्णमाया पोखरेल, दमक नगरपालिका वडा नं. ८ बस्ने वर्ष ५१ होम बहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका वडा न ५ बस्ने वर्ष ३८ का शारदा खड्का, दमक नगरपालिका –५ बस्ने वर्ष ४५ अच्युत निरौला, कमल गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३८ लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको प्रवक्ता चन्दले बताए ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न. ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।