काठमाडौं । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरेका हुन् । उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ ।
पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ । नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो ।
प्रहरी महानिरिक्षक कुवँरले ‘ट्राफिक पुलिस मिरर’ को प्रकाशन सँगसँगै काम कारबाहीलाई अझ जनमुखि बनाउन ट्रफिक कर्मचारी प्रशिक्षण, अनुगमन, सुपरिवेक्षणमा सुधार ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘आज लोकार्पण भएको ‘ट्राफिक पुलिस मिरर’ को प्रकाशन सँगसँगै हाम्रा काम कारबाहीलाई अझ जनमुखि बनाउन ट्रफिक कर्मचारी प्रशिक्षण, अनुगमन सुपरिवेक्षण, परिमार्जन गरि सुधार ल्याउन समेत यसै अवस्थामा निर्देशन दिन चहान्छु । नविनतम सोचबाट लक्षित हाम्रो क्रियाकलापहरुले समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारि आउने सोचका साथ आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुको निरन्तरता दिनको लागि शुभकामना व्यक्त गर्न चहान्छु । यसका लागि हामीले सधै सकारात्मक सहयोग गर्न तयार रहेको विश्वास समेत व्यक्त गर्न चहान्छु ।’
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा भइरहेका प्रयास र कार्यहरु सन्तोषजनक रहेको पनि उनको भनाइ छ ।