काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सहकारीलाई शुद्ध वित्तीय संस्थाको रुपमा अगाडि बढाउनका लागि सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘सहकारीलाई पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ । सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोसोधन गर्नुपर्छ । र सहकारीलाई सहकारी जस्तै बनाउनुपर्छ । सहकारीलाई शुद्ध वित्तिय संस्थाको रुपमा अगाडि बढाउनुपर्छ । सहकारीमा समस्या आउनु र करोडौं रकम किन हिनामिना हुनुका कारण अनुगमन नै प्रभावकारी नभएर हो । त्यसैले यो अत्ति बेथिति भयो ।’उनले सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण नै राजनीति रहेको धारणा राखे । राजनीतिलाई सफा नगरी देश बन्न नसक्ने भन्दै त्यसलाई अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यकता औंलाए ।
‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । राजनीति नै समस्याको जड हो । राजनीति सफा नभइकन अरु समाधान हुनेवाला छैन् । त्यसैले मैले बारम्बार भन्ने गरेको छु । राजनीति सफा नगरिकन देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वकासाथ आत्मसाथ गर्नुपर्ने आवश्यक छ । जतिसुकै कुरा गरेपनि राजनीतिले मूख्य भूमिका खेल्छ । सहकारीका समस्या आउनका कारण सञ्चालकहरु कुन कुन पार्टीका छन्, कुन नेताका छन् । उनीहरुले अनुसन्धान गर्न जानेहरुलाई फालिदिन्छन्,’ उनले भने ।
त्यसैगरी उनले सहकारीको समस्या समाधानका लागि गरिएको निर्णय तीव्रतासाथ कार्यान्वयन गर्न नसक्नु प्रमुख चुनौती रहेको उनको भनाई छ ।