विराटनगर । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ ।
आज आइतबार बिहान १०:३० बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन गरेको छ । अहिले ब्यारेजको ५६ वटा ढोका खोलिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो ।
सप्तकोसी चतरा जल मापन केन्द्रले शनिबार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुदै गएको हो । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा कुनै क्षति पुर्याएको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धको नजिक आएको छ ।