रबिन्द्र बराल
रंगेली । नेपाल रेडक्रस सोसाइटीको नाममा रहेको जग्गा जग्गा गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरियाले अनधिकृत रूपमा भोग चलन गर्दै आएको भेटिएको छ ।
सुनवर्षी नगरपालिका ६ को केरन्जामा रहेको उक्त जग्गा ताजपुरियाले प्रयोग गर्दै आएको भेटिएको हो । नेपाल रोडक्रस मोरङ शाखाको १९ कट्ठा जग्गाको आम्दानी १० वर्षयता जिल्लामा जम्मा नभएको जिल्ला अध्यक्ष सुबोधकुमार सिंहले जानकारी दिएका छन् । पहिलो मोरङ शाखाका पदाधिकारीले समेत बाँडचुँड गर्दै आएको आम्दानीमा अहिले ताजपुरिया एक्लैले लिने गरेको खुलेको हो ।
दश वर्षयता आम्दानी जम्मा नभएको सिंहले बताएका छन् । राज्यर्पुनसंरचनापछि पनि रेडक्रस पुरानै राजनीतिक विभाजन अनुसार चलिरहेको छ । गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरिया वडा नम्बर ६ का पूर्व वडाध्यक्ष समेत भईसकेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङले सो जग्गा २०४४ सालमा खरिद गरेको थियो । विपद्को समयमा बाढी पीडितलाई व्यवस्थापन गर्ने उद्देश्यले खरिद गरिएको सो जग्गामा बाढी पीडितहरू बस्दै आएका थिए । २०४४ सालमा आएको बाढीबाट विस्थापितलाई राखिएको उक्त जग्गामा बसेका सबैले आफ्नो घर बनाएर जग्गा छोडे । रेडक्रस सोसाइटी उपशाखा गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाका अनुसार त्यहाँ २२ परिवार थिए । उनीहरूले २०५७ सालमा रेडक्रसको जग्गा छोडे । त्यसयता तेजनारायणले जग्गा भोग चलन गरेको लालबहादुर बताउँछन् ।
लालबहादुरका अनुसार २४ वर्षयता १९ कट्ठा जग्गाको आम्दानी रेडक्रस जिल्ला शाखामा जम्मा भएको छैन । गोविन्दपुर उपशाखाका सचिव बैजनाथ झाका अनुसार उक्त जग्गा वार्षिक २५ हजार रुपैयाँ ठेक्का बुझाउने सर्तमा ताजपुरियाले लिएका थिए । कार्यसमितिको तर्फबाट चासो राख्दा ताजपुरियाले हरेक वर्ष ठेक्का बुझाएको जवाफ दिएका छन् । यता जग्गा भोग चलन गरिरहनु भएका पूर्वअध्यक्ष तेजनारायण ताजपुरियाले आफूले अर्कै किसानलाई जग्गाको जोतभोग गरी खान र ठेक्का बुझाउन दिएको बताएका छन् ।
वडा नम्बर ६ का वडाध्यक्ष कमलकुमार मोक्तानलाई भने रेडक्रसको जग्गा भएको र पूर्ववडाध्यक्षले कमाइ गरी खाएको जानकारी नै छैन ।