-राजनप्रसाद न्यौपाने "श्रीयम"
मेरो बाल्यकाल
तत्कालिन राजनीतिले
दिएको
मातृभूमिको आँशू
शब्द संसार बनेर
कवितामा पोखिदै
जिन्दगी लेखिरह्यो ।
आशक्तिले आक्रान्त
मेरो गाँउ
ती अभागी डाँडा खोल्सी
र पहाडहरु बोकेर
पुरै दुर्लभ नेपालको
प्रतिनिधित्व गरिरहन्थ्यो ।
पद , पेशाा र पैसाको बलमा
पहुच पुर्याएर
मेरा बा जस्तै
अरु शक्तिशाली बा हरु
मानिसलाई बाख्राका खोरका
खसी बोका झैं
बिना मोलमोलाई
कब्जा गरेरै दशैँ मनाइरहेथेँ ।
डर ,त्रास र भयबाट
असिमित आक्रान्त मानिसहरु
बाँच्ने आशा
सम्प्रेषण गरेर
तिनीहरुले देश माथि
बलात्कार गरेको
प्रकृति दोहन गरेको
आमा दिदीबहिनीको अस्मिता लुटेको
जस्ता सुकै कुकर्ममा पनि
देखावटी शुभकामना
अहिलेका गणतन्त्रवादी
सरकारले जनतालाई
बजेट दिए झैं दिईरहेथें ।
स्वतन्त्र मानिसहरुको मुखमा
अधोषित ताला लगाएर
थोरै मात्र चेतना भएका
बोल्न खोज्नेहरुलाई
गढीमाईको बली भनेर
सम्झना दिलाइन्थ्यो ।
दोस्रो नेपालको
कल्पना गर्ने हिम्मत
सायद नै कसलाई थियो
स्मृतिमा आफू जन्मेको
माटो संगालेर
खडेरी र वर्षामा
प्रकृतिको कहर व्यहोर्दै
अन्तमा ,
गुमाने साहुबाट
बलात्कार भएकी
आमाको काखमा
टाउको राखेर रुनु बाहेक
विकल्पका योग्यताहरु
के थिए र !
आनन्दको निद्रा
निदाईन्थ्यो
त्यसैले त सपना देखेर
ल्याएको नि यो गणतन्त्र
के थाहा !
गुमानेहरुले त बलात्कार मात्र गर्थे
यिनीहरूले त बलात्कार पछि हत्या पनि गर्छन् भनेर
हत्या पनि गर्छन् भनेर ।