-लक्ष्मण निरौला
मलाई
जमेर बस्नु स्विकार्य थियो,
तिमीलाई थिएन।
तिमीलाई त बग्नु थियो
र निस्किनु थियो
एउटा अबिरल यात्रामा।
म जे थिएँ,
तिमी त्यही बन्नुपर्छ,
त्यो जरूरी पनि थिएन।
हामी
स्वभावैले जे जे थियौँ,
त्यही त्यही बन्यौँ
र सही पनि थियौ।
तिमीले
सम्पूर्ण प्रयासहरूलाई
कहिले तोडेर त
कहिले बाटो मोडेर
आफ्नै यात्रालाई निरन्तरता दिइरह्यौ।
यता म
अवरोधहरूसँगै
सम्बन्ध गाँस्न व्यस्त भएँ।
तिमीले
सहज बाटो रोजेकाले होला,
हरेक बगाइमा
सायद मेरो जस्तो
संघर्ष पनि गर्नु परेन।
तिमी त यतिबेला सागर बनेर
खेलिरहेकी छौं
किनारासँग।
म भन्दा कैयौं बिशाल सागरमा
तिम्रो अंश छ,
सम्झिँदा पनि
छाल उम्रिन्छ
मेरो शरीरमा।
तर अचम्मसँग,
तिम्रो यात्रा सफल भएकोमा
द्वुविधाग्रस्त भएको छु म!
कहिले खुसी त
कहिले ईर्श्याले
सोधिरहेको हुन्छु
आफैँसँग एउटा प्रश्न।
बेलाबेलामा
बाडुलीले पनि बिथोलिरहन्छ,
मेरो मनको धरातल ।
मेरो प्रश्न
यदि तिमीसम्म पुग्यो भने
लेखि पठाउनु है
त्यसको उत्तर।
के आज पनि
तिमी मलाई सम्झिरहन्छौ?