-शिखा अधिकारी खतिवडा
यो मनको व्यथा कसलाई सुनाउँ दाइ
यो मनको व्यथा कसलाई सुनाउँ ?
माइतमा लच्छिनकि तिम्री बहिनी
घरमा अलच्छिनी बन्नु परेको छ
आमालाई सुनाउँ..प्रेसर छ ढल्लिन
बालाई सुनाउँ, दम छ श्वास बढ्ला
दाजुभाइ आफ्नै जिन्दगीको युद्धमा लडाईँ लड्दैछन् ।
व्यथाकाे पहाड बोकि हिमाल चढ्ने साहस गरेकी छु
टुहुरी बच्ची काखी च्यापी सात समुन्द्र तरेकी छु
समाजले यसो भने भनेर पनि मन के दुखाउनु यहाँ
दैवले खेलवाड गर्दै गर्दा उनीहरुले थोरै ताली ठोकेका हुन् ।
दशाले घेरेको छ है खबर दिन
कागले काँधमा विष्टाइ गयो
सपनाले पीपल ढालेर थिँच्न खोज्यो
झरीले रुझायो बाढिले झन्डै बगाएन
खै कता कता आफ्नै विवाह देख्छु
घर अगाडि आगो दन्किरहेछ
झसङ्ग झस्केर फोन उठाउँदा
डाक्टरले "अम्मा सरी" भन्दियो ।
यहाँ डाक्टरको सरीले कसैको जिन्दगी सकायो
एक चेलीको भरिएको सिउँदो बगायो
चक्लेटको आश बोकेको बच्चाको आसा भगायो
हजार सपनाहरु लिलाम भए
श्रीमानसँगै
मेरो जवानीको हार्दिक श्रद्धाञ्जली भयो ।
मेरा खुशीहरु लिलाम भएको पल
म दुख्दैछु र संसार शुन्य लाग्दैछ
याे वैंशमा सिन्दुर पुछिएकाे पिडा बाेकेर
लडिरहेछु आफैँसँग
र त विधातालाई साेध्न मन छ
के मेराे ओठमा अब मुस्कुराउने लेखेकै छैन ?