-लक्ष्मण निरौला
यो रातले
छट्पटी सिबाय केही दिएन।
मलाई यो पनि थाहा छ—
आउँदै गरेको बिहानीले पनि
केही नयाँ दिनेवाला छैन।
त्यसैले
बरू रोकियोस्
यो समय
जहाँको त्यहीँ!
अल्झियोस्,
यो प्रहर
रात र बिहान बिचको क्षितिजमा तैरिएर कतै..
कतिखेर
कोल्टो फेर्दाफेर्दै
मस्त निदाएको हुनेछु म ।
म चहान्छु,
यो क्षितिज लम्बियोस्,
कहिल्यै नसकियोस्
र म यसरी नै
गहिरो निन्द्रा निदाइरहन पाऊँ,
पौडिन सकिरहुँ
मेरा प्रिय सपनाहरूको गहिराइमा!
अब त यो ज्यानमा
ब्यूँझिएर
फेरि त्यही छटपटी सामना गर्ने
कुनै उत्साह बाँकी छैन।
कुनै उमङ्ग बाँकी छैन।।