काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले वीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए ।
उनले भने, ‘उहाँको ४२औं स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी लागेको छ । वीपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो । वीपीका बारेमा मैंले भन्ने गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा छ । साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’ वीपी कोइराला आफ्नो सिद्दान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ ।