विराटनगर । गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेघावाट बिद्युतको ‘पिक डिमाण्ड’ पुगेको छ । सामान्यतया विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेघावाट बिद्युतको माग हुन्थ्यो । पछिल्लो समय खपत बढेर ९० मेघावाट पुगेपछि ट्रान्सफर्मरमा बारम्बार अन्ब्यालेन्सको समस्या देखा पर्न थालेको हो । नेपाल बिद्युत प्राधिकरण, विराटनगर वितरण शाखाको आइतबारको तथ्यांक अनुसार शहरी क्षेत्रमा ९० मेघावाट बिद्युत खपत भएको छ ।
‘दैनिक पाँचदेखि सात ट्रान्सफर्मरमा अन्ब्यालेन्सको समस्या आईरहेको छ’ विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमारले भन्नुभयो–कुनै ट्रान्सफर्मरमा समस्या आए मर्मतका लागि एकै पटक ११ केभीए प्रणारण लाइनसँगै ४०० भोल्टको एलटी (लो भोल्टेज) प्रसारण लाइन एकै पटक काट्नुपर्छ । दुहबीबाट ३३ हजार केभीए प्रसारण लाइन टंकीसम्म आउँछ, त्यहाँबाट ११ केभीए प्रसारण लाइन विराटनगर वितरण केन्द्रको सेवा क्षेत्रमा जान्छ ।
वितरण केन्द्रले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी छन् । वितरण केन्द्रमातहत विराटनगर महानगरसहित कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिका पर्दछन् ।
विराटनगरमा टंकीसिनवारी सव–स्टेशनबाट ६० प्रतिशत, रानी सव–स्टेशनबाट ३० प्रतिशत र कटहरी सव–स्टेशनबाट १० प्रतिशत बिद्युत लोड व्यवस्थापन गरिएको छ । पछिल्लो समय टंकीबाट विराटनगरमा नयाँ फिडर समेत जडान गरिएको छ । टंकी–ढाट–कन्चनबारी–बरगाछी–तीनपैनी–जलजला चौकसम्म नयाँ फिडर निर्माण गरेर आपूर्ति प्रणालीलाई केहि सहज बनाउन खोजिएको दावी छ । तर, पनि बारम्बार बिद्युत प्रसारणमा हुने समस्याले न त प्राधिकरणका कर्मचारी सुत्न पाएका छन् न, त नागरिक ।
ट्रान्सफर्मर अन्ब्यालेन्स हुनुमा एलटी प्रसारण लाइनमा खपत बढ्दा तारको क्षमता कमजोर हुनु हो । ‘ट्रान्सफर्मरबाट चार फेज सप्लाई हुन्छ, जुनमध्ये एउटामा एलटीको दुईवटा फेज जोडिन्छ त्यसपछि भोल्टेज ‘बिट ड्रप’ गर्छ’ प्राधिकरणका प्रमुख सरोज कुमारले भन्नुभयो–विराटनगरमा लोड भएपनि संरचना कमजोर छ, अब एलटी प्रसारणलाइनको अपग्रेड गर्नुपर्ने जरुरी छ । गत आर्थिक वर्षमात्रै ३५ किलोमिटर दुरी प्रसारण लाइन अपग्रेड गरिएको छ । तर, विराटनगर भित्र मात्रै एकसय किलोमिटर दुरीको एलटी प्रसारण लाइन अपग्रेड गर्नुपर्ने वितरण केन्द्र प्रमुख सरोज कुमारको भनाई छ ।
हाईटेन्सनमा भन्दा लो भोल्टेज प्रसारण लाइनमा आउने समस्याले बारम्बार लाइन कट्ने गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । कुनै ट्रान्सफर्मर वा ट्रान्सफर्मरबाट वितरण गरिएको प्रसारण लाइनमा समस्या आउँदा टंकी सव–स्टेसनमै सटडाउन गर्नुपर्ने अवस्था रहेको छ । एउटै सव–स्टेसनबाट हुने ६० प्रतिशत सप्लाई एकै पटक अवरोध हुँदा विराटनगर पुरै अन्धकार हुने अवस्था आउँछ ।
विराटनगर वितरण केन्द्रको सेवा क्षेत्र भित्र ५९३ वटा ट्रान्सफर्मर जडान गरिएका छन् । दैनिक ५ देखि ७ ट्रान्सफर्मरमा समस्या आउन थालेपछि मर्मतका लागि २४ घण्टा नै टोलि तैनाथ गरिएको दावी छ । बिद्युत प्रणारण हुने लाइन ३० वर्गमिलिमिटर (ओ–थ्री) बाट १०० वर्गमिलिमिटर (डग कन्डक्टर) मा स्तरोन्नती गर्नुपर्ने अवस्था रहेको छ । एलटी प्रसारण लाइनमा रहेको दुई फेजलाई तीन फेजमा स्तरोन्नती गर्ने योजना वर्षेनी कार्यन्यवन भईरहेको दावी गरिएको छ ।
विराटनगर वितरण केन्द्र मातहत ८५ हजार उपभोक्ता रहेका छन् । विभिन्न १४ प्रकारका उपभोक्ताले बिद्युत खपत गर्दै आएका छन् । जसमध्ये एकहजार ५०० औद्योगिक ग्राहक रहेका छन् । विराटनगरमा चार सय आसपासको संख्यामा ट्रान्सफर्मर जडान गरिएको छ ।