शेख हसिनाः सत्ता, शक्ति, राजनीति र क्रान्ति

<span class='c1'>शेख हसिनाः सत्ता, शक्ति,</span> <span class='c2'>राजनीति र क्रान्ति</span>

-विजया नेपाल
भनिन्छ सत्ता सुदृढिकरणको मुख्य कारक तत्व हो क्रान्ति ! चे गेभाराले दक्षिण अमेरीकामा सुरु गरेको क्रान्ति, भरत सिंह लगायतले भारतमा ब्युताएको भारत छोड आन्दोलन, नेल्सन मण्डेलाले नेतृत्व गरेको दक्षिण अफृकाको स्वतन्त्रता यात्रा देखि कार्ल मार्क्सको वैचारिक क्रान्ती र यसको आडमा व्यूतिएका चिन, नेपाल लगायतका माओवादी आन्दोलन सम्म आईपुग्दा जन सागर उर्लिएर सुरु भएको क्रान्तिको मुख्य आशय नै सत्ता सुदृढिकरण देखिन्छ । बंगलादेशमा पनि यही क्रान्तीको लहर उर्लिएको छ आज । कतै त्रास, कतै उत्साह, कतै वियोग तर सबै तिर निकट भविष्यमा शान्तीको आस्थाका साथ क्रान्तीमय छ बंगलादेश आज ।

हुन त स्वतन्त्र राष्ट्रका रुपमा बंगलादेशले गरेको विगत ५ दशकको यात्रा आफैँमा क्रान्तिमय छ । सन् १९७१-७२ को क्रान्तिले स्वतन्त्र उभ्याएको यो देशसँगै राजनीतिमा प्रवेश गरेकी शेख हसिनाको जीवन त्यति नै क्रान्तिमय छ । बंगलादेशको आजको अवस्था बुझ्न यिनै शसक्त महिला शासक शेख हसिनाको जीवन पढ्न आवश्यक छ ।

को हुन् शेख हसिना ?

ब्रिटिश राजको अन्त्य भएको एक महिना पश्चात, भारतवर्षमा केही शान्ति स्थापना भएको वर्ष सन् १९४७ मा शेख हसिनाको जन्म भयो। उनी जन्मँदा हालको बङ्गलादेश पूर्वी पाकिस्तानको रूपमा स्थापित थियो जसको शासन सत्ताको जिम्मा पश्चिम पाकिस्तान (हालको पाकिस्तान) ले लिएको थियो। भौगोलिक दूरी, सांस्कृतिक विभिन्नता र जन आस्थाको विकेन्द्रीकरणका कारण एउटै देशका यी दुई भूभाग बीचको सम्बन्धमा अशान्ति सुरु भयो। ठीक यही परिवेशमा शेख हसिनाका पिता शेख मुजिबुर रहमानले 'बङ्गलादेश अवामी लिग' नामक पार्टीको सुरुवात सहित स्वतन्त्र बङ्गलादेशका लागि क्रान्ति सुरु गरे।
सन् १९४९ देखि शेख मुजिबुर रहमानको पटक-पटकको जेल यात्रा सुरु भयो जसका कारण उनका पाँच सन्तान मध्येकी जेठी शेख हसिनाले कलिलो उमेरबाटै राजनीति र क्रान्तिको पाठ सिक्नु पर्‍यो। उनको बाल्यकाल स्वतन्त्र बङ्गलादेश र पाकिस्तान विरोधी राजनैतिक विचारधाराले पृष्ठपोषण गरिरह्यो जसका कारण विद्यार्थी जीवनमा नै उनले सशक्त विद्यार्थी नेताको छवि बनाइन्।

सन् १९६९ मा उर्लिएको जन आन्दोलनले उनका बुबालाई पुनः जेल प्रस्थान गरायो जसका कारण २२ वर्षको कलिलो उमेरमा नै बुबाको तर्फबाट क्रान्तिको नेतृत्व गरिन् उनले। फलस्वरूप, भारतको सहयोग र बङ्गलादेशी जनताको साथबीच क्रान्ति यति बलियो कि सन् १९७१-१९७२ को आन्दोलनले पाकिस्तानबाट छुट्याएर बङ्गलादेशलाई स्वतन्त्र राष्ट्र बनाइदियो र शेख हसिनाका पिता शेख मुजिबुर रहमानलाई "बङ्गलादेशको राष्ट्रपिता" को उपाधि सहित स्वतन्त्र बङ्गलादेशको प्रधानमन्त्री बनाइदियो।

क्रान्ति केही मन्थर भयो। यही बीचमा शेख हसिनाको न्यूक्लियर साइन्टिस्ट एम.ए. वाजेद मियाँसँग विवाह पनि भयो। दुई सन्तानको जन्म पश्चात उनले पति र परिवारका साथ जर्मनी प्रस्थान गरिन्। सन् १९७५ को सुरुवातमा उनी जर्मनी जाँदा एयरपोर्टसम्म उनका बुबा र परिवारका सदस्य उनलाई छोड्न आएका थिए। तर खुशी साथ भएको त्यो विदाई नै उनको बुबा र परिवारसँगको अन्तिम भेट बनिदियो।
"सत्ता, शक्ति र क्रान्ति" पुनः यही फर्मुला दोहोरियो बङ्गलादेशमा। सन् १९७५ अगस्ट पन्ध्रको बिहानै शेख मुजिबुर रहमान "बङ्गलादेशको राष्ट्रपिता" तथा तत्कालीन प्रधानमन्त्रीको हत्या भयो। बङ्गलादेशका राष्ट्रपिता एक बिहानै १८ वटा बुलेट छातीमा लिई आफ्ना परिवारका सदस्यका साथ रगतको पोखरीमा भेटिए। शेख हसिना र शेख रेहाना बाहेक परिवारका अन्य कुनै सदस्य बाँचेनन्। शेख मुजिबुर रहमानले सन् १९७१-७२ मा आफूलाई सहयोग गर्ने तथा आन्दोलनमा सरिक हुनेलाई विशेष आरक्षण दिए पश्चात सुरु भएको क्रान्तिले तत्कालीन प्रधानमन्त्री र उनको परिवारलाई सखाप पारिदियो। बङ्गलादेशमा आर्मी शासन सुरु भयो।

राजनीतिको सफलताको उच्चतम बिन्दुमा पुगेको त्यो परिवारका दिदीबहिनी शेख हसिना र शेख रेहाना सन् १९७५ अगस्टमा भारतको शरणमा पुगे। अचम्म, सन् २०२४ अगस्टमा राजनीतिक सफलताको उच्चतम बिन्दुमा पुगेका उनै दिदीबहिनीको जोडी पुनः भारतको शरणमा पुगेको छ आज।
तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई शरण दिइन् र यहीँबाट शेख हसिनाको बुबाको छत्रछायाँ बिनाको राजनैतिक यात्रा सुरु भयो। इन्दिरा गान्धीले दिएको सुरक्षा सहितको प्रवास जीवनबाटै उनले विश्वलाई आफ्नो साथ दिन आह्वान गरिन्। देशबाहिरै रहेर करिब पाँच वर्ष गरेको शक्ति कसरतले उनलाई साथ दियो र उनको बुबाले स्थापना गरेको पार्टी अवामी लिगको अध्यक्ष बनाइदियो। उनले सो पार्टीको अनुपस्थितिमै निर्वाचित (Elected in absentia) अध्यक्षको उपाधि पाइन्।

सन् १९८१ मा १५ वटा स-साना पार्टीलाई साथ लिई अवामी लिगको अध्यक्ष भएकी शेख हसिनाले पुनः बङ्गलादेश फर्कने निधो गरिन्। आफ्नो पार्टीले भव्य स्वागत गरे पनि सरकार उनीसँग रुष्ट थियो। उनी त्यही भूतपूर्व राष्ट्रपतिकी छोरी थिइन् जो भ्रष्टाचार र जनतामा विभेद गरेको आरोप माझ मारिएका थिए। तत्कालीन सैन्य शासनले उनलाई असीको दशक भरी पटक-पटक जेल तथा नजरबन्दमा राखिरह्यो।
आफ्नो वर्ग र विपरीत शक्ति वर्गबीचको द्वन्द्व त प्रकृतिको नियम नै हो। बाघ र हरिण बीच द्वन्द्व छैन तर बाघ र ब्वाँसो बीच द्वन्द्व छ। ठीक त्यस्तै सत्तामा पुगेको र सत्ता पर्खिरहेको शक्तिबीचको द्वन्द्व स्वाभाविक हो। हुन त एक्काइसौँ शताब्दीको लोकतन्त्रले 'सत्ता पक्षलाई खबरदारी गरी शक्ति सन्तुलन गर्ने' धर्म सहितको विपरीत शक्तिको परिकल्पना गरेको छ तर बङ्गलादेशले आजका मितिसम्म यो विचारधारा कार्यान्वयन गर्न सकेको छैन। मानौँ राष्ट्र स्थापनादेखि नै सत्ता पक्षले विपरीत शक्तिलाई कि जेल चलान गर्नु कि नजरबन्द गर्नु त बङ्गलादेशको प्रचलन नै हो। यही प्रचलनको शिकार कुनैबेलाका अवामी लिग विरोधी थिए तर असीको दशकमा यसको शिकार अवामी लिग र स्वयम् शेख हसिना भइन्।
सन् १९९१ मा स्वतन्त्र निर्वाचनको घोषणा गरी बङ्गलादेशबाट सैन्य शक्तिले सत्ता छोड्यो। यदि हकिकत कुनै घतलाग्दो चलचित्र हुन्थ्यो भने अवश्य यो निर्वाचन शेख हसिनाले जित्थिन्। तर त्यस्तो भएन! सन् १९९१ को निर्वाचनले बङ्गलादेशकी अर्की सशक्त शासक खालेदा जिया को उदय सहित उनलाई प्रधानमन्त्री बनाइदियो।
खालेदा जिया, तत्कालीन सैन्य सत्ता प्रमुख जियाउर रहमानकी पत्नी र बङ्गलादेश नेशनलिस्ट पार्टीकी नेता थिइन्। उनको उदयपश्चात पुनः विपरीत शक्तिका नेता र समर्थकको जेल चलानको यात्रा चलिरह्यो र पुनः शेख हसिना जेलमा पुगिन्।
सन् १९९६ को निर्वाचनमा सत्ता पल्टियो र शेख हसिनाले पहिलोपटक बङ्गलादेशको प्रधानमन्त्री हुने अवसर पाइन्। सन् २००१ मा पुनः सत्ता पल्टियो। खालेदा जियाको सरकारले फेरि शेख हसिनालाई जेल चलान गरिदियो।

सन् २००८ को निर्वाचनपश्चात भने सन् २०२४ अगस्टसम्म बङ्गलादेशले केवल एक मात्र प्रधानमन्त्री पायो जो थिइन् शेख हसिना!
के यो अन्तरालमा बङ्गलादेशमा निर्वाचन नै भएनन् त? अवश्य भए तर लोकतन्त्रको प्रचार गर्दै अलोकतान्त्रिक प्रवृत्तिका निर्वाचनहरू गराइए। सन् २००८, २०१५, २०१९ र २०२४ मा नियमित निर्वाचन भइरहे तर सत्ता पक्षले विपरीत शक्तिलाई गर्ने दमनलाई निरन्तरता दिई विपरीत शक्तिका नेतालाई कि जेल चलान गर्ने कि नजरबन्द गर्ने कार्यबीच भएका निर्वाचनको परिणाम सधैँ हसिनाकै पक्षमा पर्‍यो।
शेख हसिनाको शासनकालमा बङ्गलादेशले अवश्य पनि आर्थिक उन्नति गरेको हो तर ठूला-ठूला संरचना निर्माण र आर्थिक वृद्धिको अत्याधिक चर्चा र प्रचारप्रसारबीच जबरजस्ती बेपत्ता पारिएका विपक्षी नेता र कार्यकर्ता, न्यायिक प्रक्रियाबाहिर मारिएका अवामी लिग पार्टी विरोधी सर्वसाधारण, अवामी लिग पार्टी र यसका समर्थकलाई मात्र फाइदा हुनेगरी चलेका सरकारका विभेदकारी कदमलगायत संवेदनशील विषयको चर्चा नै भएन।
भारतसँग गङ्गाको पानीसम्बन्धी सन्धिलगायत सुधारात्मक कदमसाथ सुरु भएको शेख हसिनाको सरकार बिस्तारै अराजकतातर्फ पल्कियो। लर्ड एक्टनले सन् १८८७ मा उद्धृत गरेको विचार "एकलौटी शक्तिले शासकलाई भ्रष्ट बनाउँछ" (Power tends to corrupt, absolute power corrupts absolutely) एक्काइसौँ शताब्दीमा हसिनाको शासनकालमा पनि लागू हुन थाल्यो। यसको प्रतिकार गर्न बेला-बेलामा क्रान्ति ब्युँतिन पनि थाल्यो।
शेख मुजिबुर रहमानको पालादेखि नै सरकारी जागिरमा सन् १९७१-७२ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भूमिका खेल्ने व्यक्तिका परिवारलाई ३०% आरक्षणको व्यवस्था गरिएको थियो। सन् २०१८ सम्म आइपुग्दा समाजका सीमान्तकृत वर्गहरूलाई थपिएको आरक्षणसमेत जोडी हेर्दा झण्डै ५७% कोटामा आरक्षणको व्यवस्था गरियो जसका कारण सन् २०१८ मा झण्डै १० हजार विश्वविद्यालय ग्राजुएट बेरोजगार जनताले आन्दोलन सुरु गरे र फलस्वरूप आरक्षणको व्यवस्था केही समयलाई हट्यो पनि!
लोकतन्त्रको नाम दिई न्यूनतम लोकतान्त्रिक मापदण्डसमेत पूरा नगरी निर्वाचन गराई सत्ताको कुर्सीमा रहेकी शेख हसिनाप्रति जनताको रुष्टता बिस्तारै बढ्दै गयो। सत्ता, शक्ति र क्रान्तिको चक्रमा अब पालो क्रान्तिकै थियो जसको बिउ आरक्षणको व्यवस्था पुनः गर्नुपर्छ भनी उच्च अदालतमा एक समाजसेवीले हालेको रिट निवेदनले रोपिदियो।
रिट निवेदकको मनसाय भगवान् जानून् तर अवश्य पनि उनको मनसाय ३०० विद्यार्थीको मृत्युसहितको क्रान्ति ब्युँताउनु थिएन होला।
सन् २०२४ जुलाईमा हाई कोर्टले पुरानै आरक्षणको नियम लागू गरी आरक्षण कोटा ५७% पुर्‍याइदियो जसमध्ये ३०% स्वतन्त्रता आन्दोलनमा सहभागीको परिवारले पाउने भए जो प्रत्यक्ष/अप्रत्यक्ष रूपमा शेख हसिना र उनको पार्टी निकट थिए।
केही दिनमा नै अपत्यारिलो रूपमा द्वन्द्व चर्कियो। द्वन्द्व मत्थर गर्नेतर्फ नलागी इन्टरनेट सटडाउन, मास सुटिङ, कर्फ्यु र सुट एट साइटजस्ता अर्डर दिई सरकारले नै क्रान्तिलाई थप ऊर्जा दियो। शेख हसिनाको राजनैतिक हिसाबकिताब गडबड भयो सायद! उनको सरकारले यसरी प्रहार गरिरह्यो कि मानौँ सडकका विद्यार्थी विपरीत शक्तिका नेता हुन्! "Opposition was the worst place to be in Bangladesh but now being student there is more pathetic" जस्ता स्लोगन देशभित्र मात्र होइन देशबाहिर पनि गुञ्जिन थाले।

यही बीच सर्वोच्च अदालतले आरक्षणलाई घटाएर ७ प्रतिशत मात्र पार्ने फैसला गर्यो। क्रान्तिको सुरुवाती माग त पूरा भयो तर जनताको आक्रोश मत्थर भएन। क्रान्तिका केही दिनमा सरकारले देखाएको अराजकताको विरोधलाई आन्दोलित विद्यार्थीले निरन्तरता दिइरहे। पुनः इन्टरनेट शटडाउन, मास शुटिङ, कर्फ्यु र शुट एट साइट लगायत अराजकता दोहोरिए। अब त शेख हसिनाले सडकका विद्यार्थीलाई टेरोरिस्टको दर्जा दिई आक्रमणको आदेश जारी गरिन्।
जुलाईमा सुरु भएको क्रान्ति अगस्ट सम्म आइपुग्यो। अनि ४ अगस्ट आइतबारका दिन अचम्म भयो। प्रधानमन्त्रीको हुकुम सेनाले मान्न छोडे। बन्दुकको आवाज आउन छोड्यो। आवाज आयो त केवल हसिना सरकारको विरोध र बंगलादेशको जयजयकारको!

त्यसको भोलिपल्ट ५ अगस्ट सोमबार, सेना प्रमुखले प्रधानमन्त्री हसिनालाई सत्ता र देश दुवै छोड्ने ४५ मिनेटको अल्टिमेटम दिए। यसका साथै प्रधानमन्त्रीको पदबाट राजीनामा दिई हसिना दिदीबहिनी सेनाको चार्टर प्लेनमा भारत प्रस्थान गरे। ६ अगस्ट मंगलबार, बंगलादेशमा धेरै पछि केही शान्तिको बिहानी भएको छ। बिस्तारै शैक्षिक संस्था खुलेका छन्। स्थिति सामान्य हुनेमा जनता आशावादी भएका छन्। तर सडकदेखि मनसम्म सबै अस्तव्यस्त छ। कतै आफ्नाहरु हराएका छन्, कतै रगतमा लतपतिएर भेटिएका त कतै भेटिने आशा नै मरेको छ। त्रसित मनहरूमा आशाभन्दा धेरै डर र कोलाहल भरिएको छ। क्रान्ति पोतिएको आजमा बसी शान्तिपूर्ण सुदूर भविष्यको कल्पना गर्नु मुस्किल छ।
यही बीच सेना प्रमुखले नजरबन्दमा रहेकी विपक्षी नेता खालिदा जिया लगायत नेतालाई रिहाई गर्ने आदेश दिएका छन्। कुनै नित्य कर्म झैँ एक शक्तिको बहिर्गमन साथ अर्को शक्तिको उत्थान हुने संकेत आएको छ। के फेरि पुरानै शैलीमा विपक्षीको दमन गर्ने प्रवृत्तिले निरन्तरता पाउला? के त्यही सत्ता, शक्ति र क्रान्तिको चक्र दोहोरिएला?
बंगलादेश र शेख हसिना दुवैलाई शान्तिको कामना!

(बिजया नेपाल, सरकारी वकिल, जिल्ला सरकारी वकिल कार्यालय, सुनसरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्