-ऋषि तिवारी
'बाबु सन्चै छस् ?'
'ऊफ !' फेरि बाको फोन रहेछ ।
'बा साष्टाङ्ग ढोग गरे ।' हजुर ! बा, 'म लगायत, हजुरको नाति नातिना साथै हजुरको दुलही पनि सन्चै छे । अनि हजुरहरु र आमा । गाउँले दाजुभाइ, इष्ट मित्र र छिमेकीहरु सबै सन्चै होलान नि हैन बा ?' बा फोनमै भलाकुसारी गर्न मस्त हुनुहुन्थ्यो । बा भन्न थाल्नु भो । 'यता सबै राम्रै छ बाबु । भाइरस संक्रमित, अहिले सम्म गाउँ पसेको छैन । गाउँ हरियाली नै छ ।' म भन्थें- 'ओहो बा । यो त खुशीको कुरो हो । हाम्रो गाउँ सधैं हरियाली बनोस् । यही चाहान्छु ।'
बा फेरि भन्न थाल्नु भो,- 'बाबु तँ बसेको वार्डतिर पनि कोरोना संक्रमितको हल्ला छ । के हो बाबु ख्याल गरेस हैं ।' मैंले नि बालाई सान्तवना दिदै भनेको थिएँ । 'बा यो हल्ला हो । पुष्टि भएको छैन् ।' आमा पनि छोरोसंग बोल्छु भन्दै फोन लिएर कुरो गर्नुको सट्टा फोनमै सुकसुक गरि रुन थाल्नु भो । 'बाबु राजा ठीकै छौं तिमी ?' 'आमा म ठीकै छु ।'
आमा ममताको खानी आमा । जति सन्तान भएपनि छातीमा मायाको जोखिम बढाउँने आमा आज मेरो पिर गरिरहनु भएको छ । मैंले पत्नीलाई भनें- 'श्रीया आमालाई सम्झाउ, सबै कुरो वास्तविकता बताऊँ ।' उनले आमासंग फोनमै संवाद गर्न थालिन् । 'आमा हजुरको लखन्तरे छोरो सकुशल हुनुहुन्छ । गाउँ आउने कुरो गर्दै हुनुहुन्छ । सहरमा कुनै नेताको पछि लागेर एउटा गाडी पाउँनु भएको छ । झट्टै पास मिलाएर हामी दुईचार दिन बस्ने गरि आउँदैछौँ ।'
आमाले बालाई फोन दिदैँ हर्ष विस्मात गर्न थाल्नु भएछ । 'छोरोले सहरमा त गाडी किनी सकेछ ।' तर आमालाई थाहा छैन । छोरोले गाडी भनसुनमा लिदैँछ । नेताको चाकडी गरेर पास मिलाउँदैछ । के थाहा मेरी आमालाई छोरो कसरी सहरमा टिकेको छ । बा, मोबाइलमा फेरि पनि बोल्दै हुनुहुन्थ्यो । 'हलो...बाबु । हलो...बाबु ।'
विराटनगर-६, ममता-मार्ग ।