-शुरज थपलिया
सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन् । र, शक्ति अभ्यासमा केन्द्रित भइन् । शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रुपमा उभ्याउने कोशिश गरिन्। शक्तिको आडमै उपप्रधान तथा परराष्ट्र मन्त्री बनिन् ।
उक्त पद बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन । तर, उनले जुन पद हासिल गरिन् त्यसले उनलाई काँग्रेस राजनीतिमा स्थापित गरायो । समयसँगै सुजाताले बलियो पञ्जा फिँजाइन । ‘सुजाता दिदी’ भन्दै हिँड्नेहरूको लावालस्कर बढ्दै गयो । उनी सुजाता ‘दी’ ले चर्चित बनिन् ।
देशको राजनीति पिता गिरिजाको वरिपरि रहँदा उनी शक्तिलाई पुज्नेको केन्द्रबिन्दुमा थिइन् । उनको अघपिछि हिँड्नेको हुल हुन्थ्यो । उनी गिरिजाकी एक्ली छोरी थिइन् । बुबाको निधनसँगै सुजाताको शक्ति क्षय हुँदै गयो । उनका अघिपछि हिँड्ने भिड हराउँदै गयो । उनी एक्ली एक्ली भइन् । सुजाता ‘दी’ भन्दै हिँड्ने हुल अर्को शक्तिशालीको पछि कुद्न थालिसकेको थियो ।
मान्छे शक्तिकै पछि कुद्ने जात न हो । सुजाता बिरामी परिन् । उनलाई क्यान्सर भयो । उपचारमा लाग्दा उनले सधैं व्यस्त हुने राजनीतिक भेटघाटलाई कम गरिन् । कार्यकर्ताको आवतजावत पनि कम भयो । उनी धेरै घरमा नै आराम गर्न थालिन् । कार्यक्रमहरुमा कमै देखिन्थिन् ।
यसै महिना सुजाता दाजु शेखर कोइरालाको सचिवालयमा देखापरिन् । उनी आउनुअघि नै कार्यकर्ताले सचिवालय भरिएको थियो । उनी आउनुको कारण १५औँ महाधिवेशनमा दाजु शेखरसँग मिलेर जाने उदघोष गर्नु थियो । दाजु बहिनी सँगै बसेर कार्यकर्तासँग वाचा गरे हामी मिलेर जान्छौँ । सुजाताले शशांकलाई पनि आफूहरुसँगै ल्याउने वाचा गरिन् ।
१४औँ महाधिवेशन अघि पनि वाचाहरु भएका थिए । तीन कोइराला एक भएर जाने पटक पटक समाचार आएर बने । तीनजना (शेखर, सुजाता र शंशाक)ले मिलेरै जान्छौं एक मात्रै सभापतिको उमेदवार हुन्छौं भनेका थिए । तर, समयक्रमसँगै तीनै जना एकै ठाउँमा रहन सकेनन् । पार्टी भित्रका या बाहिरी कुन शक्तिले मिल्न दिएन त्यो खुलिसकेकै छ । सभापतिमा एक मात्रै उम्मेदवार त भए तर सुजाता उपसभापतिमा उठिन्, शशांक केन्द्रीय सदस्यमा उठे । दुई कोइराला पराजित भए भने शंशाक केन्द्रीय सदस्यमा विजयी भए । फेरि काँग्रेसमा १५औँ महाधिवेशनको चर्चा सुरु भएको छ । सो चर्चासँगै कोइराला एकताको प्रयास सुरु भएको छ । तीन कोइराला मिलाउन काँग्रेसका नेता कार्यकर्ता लागेका छन् । काँग्रेसका पुराना नेताहरुलाई कोइरालाहरू मिले मात्रै काँग्रेसको ‘साख’ जोगिने विश्वास छ । साउनकै सुरुवातमा काठमडौँमा सुजाता प्रमुख अतिथि हुने एक कार्यक्रम आयोजना गरिएको थियो । उनी साधारण मानिस जस्तै गरी कार्यक्रममा देखिइन् ।
उनलाई खादा माला लगाउने भिड थिएन । न उनको अघिपछि लाग्ने लावालस्कर नै । न सुजात दिदी जिन्दावाद भन्ने हुल नै थियो । काँग्रेसमा देखिनै विरलै दृश्य थियो त्यहाँ । सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र बहादुर थापाले सुजातालाई स्वागत गरे । कार्यक्रम सुरु नभएकाले उनी कुर्सीमा बसिन् । नेता कार्यकर्ताले उनलाई घेरे । उमेरले उनी सात दशक नजिक होलिन् । तर, नामैले सबैलाई चिन्थिन् । ‘ए भाइ तिमी पनि आएका छौँ रु,’ उनी सोधिरहेकी थिइन् । साधारण जस्ता देखिने कार्यकर्तासँग उनी मज्जाले हाँसेर बोलिरहेकी थिइन् । त्यहाँको दृश्यले हाइफाइ गर्नेहरुले पार्टी कब्जा गरेको काँग्रेसमा पनि यस्तो हुन्छ र भन्ने लाग्थ्यो । उनलाई लुगा कपडाले केही फरक परेकै थिएन । सुकिला मुकिलाको पार्टी भनेर चिनिने काँग्रेसमा तिनीहरु अहिलेको समयमा अपवाद थिए । तर बिपीका सच्चा अनुयायीहरु तिनीहरु नै थिए । सुजाता कुनै पार्टीको कार्यक्रममा हैन माइत आएकी झै लाग्थ्यो । सबैले उनलाई दिदी भनिरहेका थिए । फोटो खिचिरहेका थिए । पुराना गफ गरिहेका थिए । काँग्रेसको चिन्ता र चासो त छदै थियो ।
लामो समयपछि कार्यकर्ताको भिडमा आफूलाई पाउँदा उनी खुशी देखिन्थिन् । अझ भनौ खुशी उनको मुहारमा छरपष्ट देखिन्थ्यो । उनले धेरै सँगको फोटो आफ्नै मोबाइलबाट लिइन् । कता कता उनमा गिरिजा प्रसादको झझल्को देखिन्थ्यो । कार्यक्रम सुरु भएपछि उनलाई मञ्चमा लगियो । करिब ५ सय नेता कार्यकर्ताहरु माझ आफूलाई उभ्याउन पाउँदा उनी दंग थिइन् । धेरै वक्ता थिएनन् । जो थिए उनीहरु काँग्रेस हाक्ने नेताहरू थिए । नेताहरूले काँग्रेस पार्टीमाथि आक्रोश पोख्दा उनीपनि आक्रोशित हुन्थिन् । चिन्तित देखिन्थिन् । कसरी पार्टीलाई पुरानो अवस्थामा फर्काउने चिन्तामा भए जस्तो लाग्थ्यो ।
जब गिरिजा, बिपी र शेखरको नाम कार्यकर्ताले लिन्थे उनको मुहार उज्यालिन्थे । आँखा रसिला देखिन्थे । क्षणभरमै आँसु भरिन्थे । उनले आफ्ना पिता पुर्खाले बनाएको पार्टी अहिलेको अवस्थामा पुग्यो भनेर दुख मनाउ गरिन् । सायद आफ्नो सुखद बाल्यकाल सम्झिइन् । उनको मुहारका संकेतहरू परिवर्तन भइरहन्थे । उनले बेल्दै गर्दा १४औं महाधिवेशनमा दाजु शेखरलाई सहयोग नगरेर गल्ती गरेको स्वीकारिन् । १४औं मा उनी प्रकाशमान सिंहको उपसभापति भएर निर्वाचन लडेकी थिइन् ।
गणेशमान र गिरिजाले पार्टीलाई सहकार्यबाट अगाडि बढाएको भन्दै उनका छोराछोरी मिलेर अघि बढेको उनीहरुले बताएका थिए । तर उनीहरुले सफलता पाएनन् । महाधिवेशन भएको करिब तीन वर्षपछि उनले काँग्रेस नेतृत्व कोइराला परिवारबाट टाढा गएकोमा सार्वजनिक रुपमा दुखेसो पोखिन् । पहिला गरेको निणर्यहरूमा पश्चाताप गरिन् । जसरी नि कोइराला परिवारमा नेतृत्व पर्खाउने बताइन् । १५औं मा कुनै पद नलिइ दाजु शेखरलाई सभापति बनाउने अभियानमा उनी होमिएको बताइन् । त्यसैका लागि प्रत्येक हप्ता उनी शेखरको सचिवालयमा बसेर कार्यकर्ताहरु भेट्छिन् । कुरा सुन्छिन् । शेखरलाई सभापति बनाउन उनले आफूले मात्रै संकल्प गरिनन् कार्यकर्तालाई पनि आव्हान गरिन् । त्यही मुद्दा लिएर कार्यकर्तामाझ जिल्ला जिल्ला पुग्ने बताइन् ।
उनलाई एउटा कुराले निकै सताउने बताइन् । ुसर्वसाधारणले तपाईंले बुबाहरूले ल्याएको प्रजातन्त्र यही होु भन्दै प्रश्न गर्दा उनी अवाक्क हुन्छिन् ।
‘तपाईको बुबाहरूले अहिलेको अवस्था देखाउन १९ वर्ष जेल बसेर प्रजातन्त्र ल्याएको हो’भन्दा उनीसँग केही जवाफ हुन्न । ‘गणतन्त्रको शासनमा भ्रष्टाचार, घुसखोरी, बेतिथि, निराशामात्रै छ म के भनेर उतर दिउँ’उनी निराश हुँदै भन्छिन् । बीपीले सबै नेपालीको समृद्धिको लागि राणाशासन र पञ्चायतविरुद्ध लडेका थिए । उनका बुबाले ०४६ र ०६२।६३को जनआन्दोलन हाँकेका थिए । उनीहरूले ल्याएको प्रजातन्त्र र गणतन्त्रले तपाईं हामीले चाहेको कुरा बोल्न लेख्न पाएका छौँ । तर उनीहरूले जनतालाई सुख दिन देखेको सपना भने कतै धुमिल भएको छ ।
युवाहरु पलायन भएकोमा पनि सुजातले चिन्ता व्यक्त गरिन् । युवाहरूलाई देशले सपना देखाउनै नसकेको उनको तर्क छ । ुयो गर्नुपर्ने काँग्रेसले हो नि तर काँग्रेस कहाँ छ कुन अवस्थामा छु, उनी प्रश्न गर्छिन् । उनले १४औं महाधिवेशनमा परिवार विघटित हुँदाको पीडा अहिले जनताले पाइरहेको बताइन् । काँग्रेसीले पाइरहेको बताइन् । बुबाहरुले देश विकासको सुन्दर सपना देखेको र त्यसकै लागि जीवनभर लडेको उनले सम्झिइन् ।
बीपी बुबाको राजनीतिक जीवनमा परिवाले साथ दिएको सम्झदै उनले अब शेखर दाले त्यो साथ पाउने उद्घोष गरिन् । त्यसका लागि सबै परिवारसँग छलफल गरिरहेको बताइन् । सपरिवार एक हुने संकल्प गरिन् ।
नेपाली राजनीतिमा नेपाली काँग्रेसमा कोइराला परिवारको नाम श्रदाले लिइन्छ । तर, गिरिजा प्रसाद र सुजाताले गर्दा काँग्रेस बदनाम भएको तर्क गर्नेहरु पनि छन् । त्यतिबेला भन्दा अहिले काँग्रेस झनै कमजोर भएको छ । गुण्डागर्दी, पैसावाल, डन, उद्योगी, व्यापारीहरूले पार्टी कब्जा गरेका छन् । बिपीले देखेको समाजवाद अक्षरमा मात्रै सिमित छ । आफूमाथि यसअघि लागेका दागहरूलाई मेटाउँदै कमजोर भएको पार्टीको अस्तित्व उठाउने संकल्पमा सुजाता छिन् । उनी परिवारमात्रै एक गराउँदै छैनन् काँग्रेस र देश एक बनाउने अभियानमा छिन् । त्यो सपना र संकल्प उनको मुहारमा स्पष्ट देखिन्छ । हेरौं उनको अभियान कति सफल विफल हुन्छ ?