-ऋषि तिवारी
'ऊ सुन्दै सुन्दैन ।'
उनको श्रीमती बाटुली आफ्नो बुडालाई भन्थिन्, 'ए ! बुडा तीज आइसक्यो । खै त सारी ?'
श्रीमतीको बोली उसले सुनेपनि अन्ठाई दिन्थ्यो। किनकी, 'अरुबेला सर्ट पेन्टमा ठाटिदै हिँड्ने बुडीलाई के को सारी ?'
फेरि उसको शरीरमा हातको कुहिनाले उनी घचघचाउँदै भन्न थालिन् ! 'हन कान भएर पनि किन नसुनेको ? मलाई तीजमा त सारी चाहियो, चाहियो ।' बल्ल उनको लोग्नेले मुख खोल्यो । भन्यो- 'तिम्रो शान सारी हो ! तिम्रो स्वभाव सारीमैं छ ।' तर बाह्र महिनामा सर्ट- पैन्ट किन्छौं आफैं । अब तीज पर्वको दिन सारी खोज्छौँ । आफ्नै मनकारी छौ तिमी त । 'सर्ट पैन्ट लगाउँदा त कति छुच्ची जस्तो देखिन्छौ नि !'
हुन त बाटुली सर्ट पैन्ट नै लगाए पनि सुहाएकै छ । उनको शरीर होचो कदको छ । बरु सारी नै उनको शरीरमा न सुहाउने रहेछ ।' ऊ फेरि, आफै आफै प्रश्न गर्थ्यो आफ्नो मनसंग ।
विचरी के गरोस त शरीर नै उनको होचो थियो ।
बजार पुगेका थिए, बाटुलीको लोग्ने । सारी हेरे, रातो सारी, रातो सिन्दुर रातो चुरा अनि पोते, ऊ आफैं मनमनै गफियो । 'आहाँ होची बाटुलीलाई पनि अब तीजको रौनकले छुने भएछ ।'
'कति खुशी भएर नाच्छे होली बाटुली ?' ऊ श्रीमतीको नाच हेर्ने चाहानामा डुब्ल्की मार्न थाल्यो ।
ऊ पसलेबाट सामान पेकिङ गराई घरतिर हिड्यो ।
होची बाटुली दैंलोमैं प्रतिक्षामा थिइन् । गदगद खुशी थिइन् । तीनले सोधिन्, 'खै के ल्याउँनु भयो ?' उसले भन्यो- 'हेर आफैं ।' खोतली पेकिङ । माथि माथि त रातो चुरा, पोते अनि सिन्दुर । 'सारी खै ?' प्रश्न तेर्सियो । उसलाई थाहै थियो होची । होची पत्नीलाई सारी सुहाउँदैन । र, सुहाउँदैन्थ्यो । उसले रातै रङको जिन्स पेन्ट र रातो भेष्ट पो ल्याइ दिएछ त ।
'यसपल्ट पनि उसले सुनेन ! अर्थात ऊ सुन्दै सुन्दैन।' उनको पत्नी सुन्छे । आँखा देख्छे । र, रीसका वेग आँखाबाट फ्याँक्छे ।
विराटनगर-६ ममता-मार्ग ।