-पुष्पा बोगटी
बा तिमी
खेतका गराहरूसँग जीवन बाँच्यौ
कुटो , कोदालो र हलो
तिम्रा जीवनका प्रिय औजारहरू हुन !!
चट्टानहरूले भरिपुर्ण जमिनलाई
खेतका गराले बनाएको आकृति
माइला बाको घर तल्तिर पटि
टारे बारी
भड्खारेको खेत
मास्तिरको पाखो बारी
यी सबै तिम्रा जीवनका इतिहासहरू हुन।
भोक प्यास र अभावहरूसँग
संघर्षका पसिनाहरू निल्यौ
भनिदेऊ न बा !
लुकाएका तिता विगतहरू पनि
अभावै अभावहरूसँग अरू के के निल्यौ?
बा
एकसमय तिमीलाई
अभावहरूले गहिरो खाल्डो खन्यो
त्यहीँ बेला म जन्मिए !
मेरा लागी आधा निल्यौ र पुरा खुवायौ
मलाई अघाउन्जेल !
विगतलाई सम्झिदा
परार सालको ऋण तिर्न नसक्दा
आइनपुग्दै तल्लो फेदीको हाट बजार भरेर
तिमीलाई देख्नासाथ ब्आँ ब्आँ गरेर कराउने
तिम्रा राते र माले गोरू लगेथ्यो साहुले
मालेलाई के थाहा, सुम्सुमाउदा
त्यो अन्तिम स्पर्श थियो भनेर
बाधिनुको अर्थ के थाहा रातेलाई
कोहि अर्कै पराइसँग ,लाग्दै छु बाटो भनेर
त्यो बिदाई
बाको सबैथोक हराउनु जस्तै थियो
आफ्नैलाइ सधैका लागी पठाउनु थियो
बाका आँखाहरू रसाए,भकभकि उम्लिएर आयो मुटु
यतैतिर फर्केर हेरिरहे, टाउको हल्लाइ रहे
आफ्नै गोठतिर मुन्टो फर्काइरहे, राते र मालेले
यो बिना जानकारको बिछोड थियो
मालिक पनि संगै आउने आसामा धेरै बाटो हेरे होलान्
तर अपशोच !
दु:खद ,यो स्वाभाविक कुरा हो
जीवित भएर बाँचेपछि बाध्यतामा बाँधिनु !
अब कसले कराउँछ , ड् वा गर्दै ?
बा आइपुग्नुको समाचार कसले थाहा पाउँछ ?
हाम्रा बारीहरूलाई कसले योग्य बनाउँछ बिउ उम्रन।
यी बा र बाका हितैषी, समय र चिजबिजहरू हुन्
कति थेगेका बा तिमीलाई ?
बर्षौ देखिको भ्वाङ परेको एउटै कमिजले
टालेको सुरवालले
थोत्रो मैलो , शिरको ढाका टोपीले
हाम्रा लागी कठिन समय र चोटहरूसँग
तिमीले हामी सबैको जीवन थेग्यौ
परिवारको सबै आकाश थेग्यौ
सायद थेग्न सक्ने शक्ति भएर नै हौ
तिमी बा को अस्तित्वमा छौ
बा छौ ,बा हौ रत
हामी बाँचिरहेका छौं