-अजिता प्रधान
काँधमा आफू जत्रै थैलो बोकेर
दिनभरि कलिला हात सल्बलाउछन्
फोहोरको डङ्गुरमा
बिहान देखि साँझ सम्म
फोहोर केलाउँदा केलाउँदै जिन्दगीको
तमाम खुसी सकिन्छ फोहोरमा
फालिएको प्लास्टिकको
बोतलमा
कतै गाली कतै घृणा सँहदै भोको पेटभर्न
दुइ गाँसको खोजीमा
लम्किरहन्छन् सडक बालकका
कलिला गोडा !
जान्दैन न्यानो काख थाहा छैन
आफन्तको साथ
सडकै वास सडककै आस
गहिरो सम्बन्ध छ सडकसँगै
न कुनै खुसीले छुन्छ
न रमाउने अधिकार छ
किताब बोकेर स्कुल जाने
खेल्ने कुद्ने आमाको काखमा लाडिने
बाबाको सामीप्यमा हुर्किने बालपन
खोसिदियो आफैं पालिनुपर्ने जिम्मेवारीले !
बटुल्नुछ पुराना थोत्रा झिंगा भन्किने
ठाउँमा फालिएका बेकामे चिज
र जोहो गर्नुछ बेलुकीको छाक
घामले तातेको सडकमा
न पाइताला टट्याएर ठेला उठेको पर्वाह छ
न कठ्याङ्ग्रीने जाडोले शरीर
कामेको महसुस
महसुस छ त केवल खाली पेटमा
बलिरहेको भोकको आगो !
कहिले यो सडक कहिले त्यो सडको
पेटीमा
आँसुले रुझेका निर्विरोध आँखा
ओहोरदोहोर स्वार्थले भरिएको
भिडमा एक एक अनुहार एकोहोरो
नियाल्दै कसैबाट केहि पाउने आसमा
लाचार भएर रित्तो हात पसार्दै
भोकसँग युद्ध गर्दै कहालीलाग्दो
गरिबिको अँध्यारोमा थकित गलित
खाली खुट्टा मौन अनुहार
न भविष्य छ कतै न कुनै गन्तव्य नै
विवश हुँदै अघि बढिरहेका छन्
अन्त्यहीन यात्रामा
कयौं सडक बालकका पिल्सिएका
कलिला गोडा !!