-सुरज दाहाल
प्रत्येक दिन, म तड्पिरहेछु,
तिम्रो शीतल छायाँको खोजमा,
मरुभूमिमा पानी देखेझैं,
म तिर्खाएको आत्मा लिएर,
बालुवामा पाइलाहरूको निशान खोज्दैछु।
उज्यालोमा सबैले ज्योति पाउँछन्,
तर म, अँध्यारोको गर्भमा,
तिम्रो प्रकाशको एक किरण खोज्दैछु।
तिम्रो काखको न्यानो स्पर्श,
मेरा हरेक धड्कनमा बाँचिरहेको छ।
मेरा थकित हातहरू,
तिम्रो साहाराको लागि अझै पनि फैलिरहेका छन्।
मेरा गाला तिम्रो माया र स्पर्शको प्यासले पिरोलिएका छन्।
मेरा कानहरू तिम्रो मधुर आवाज विना,
निरन्तर तड्पिरहेका छन्।
मेरो शिर, तिम्रो अगाडि झुक्न आतुर छ,
मेरो आत्मा, तिम्रो अनुपस्थितिमा
सधैंको लागि शोकाकुल छ।
मेरो बुद्धि, विवेक, र चेतना,
तिम्रो बिना, घायल भएका छन्।
म तिमीलाई कसरी भेटूँ?
कहाँ खोजूँ? कति छटपटिऊँ?
मलाई थाहा छ छुटेको समयले तिम्रो छोरालाई केही दिएन,
तिम्रो अनुपस्थितिमा लिनु पनि केही थिएन।
मैले हार मानिन,
तर संसारले भने तिम्रो छोराले हार मानेको ठान्दछ।
समाजको जित र हारको परिभाषा फरक छ,
तिमी र म बीचमा यो संसारको कुरा मात्र एक भ्रम हो।
म कहिल्यै झुकेको छैन,
तिम्रो छोराले झुक्न जानेको छैन।
म कहिल्यै थाकेको छैन,
कर्मयोगी कहिल्यै हार मान्दैन।
तर पनि, म तिमीलाई हरेक पल खोज्दछु,
निराशामा, आशामा, हासोमा, आँशुमा, सपनामा।
म अब घाइते योद्धा बनेको छु,
अक्सर सोच्दछु,
ड्याड, तिमी आज मेरो साथमा भैदिएको भए!
मैले कहिल्यै कसैबाट केही आशा गरिन,
तर कहिलेकाहीँ सोच्दछु,
किन म तिमीसँगै मृत्यु प्राप्त गर्न सकिन।
तिम्रो नहुनुको पीडा,
मलाई अन्तिम श्वाससम्म पोलिरहनेछ। R
मेरो जीवनको अन्तिम शब्द देवताको नाम होइन,
तिम्रो नाम हुनेछ।
तिमी विना, यो टुहुरो बालक,
जित्दा जित्दै पनि हार्नेछ।
हास्दा हास्दै पनि रुँदै रहनेछ।
आशा हुँदा हुँदै पनि निराश हुनेछ।
सफल हुँदै पनि,
असफल रहनेछ।