विराटनगर भन्सार सुत्यो, कभरमा एजेन्टकै तस्करी राज

<span class='c1'>विराटनगर भन्सार सुत्यो, कभरमा</span> <span class='c2'>एजेन्टकै तस्करी राज</span>

विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्ता नबित्दै त्यस्तै प्रकृतिको कपडा ट्रान्सपोर्टबाट पठाउने लाग्दा पक्राउ परेपछि यस्तो रहस्य बाहिर आएको हो । ।

विराटनगर भन्सार कार्यालयको राजस्व वर्षेनी घट्दो छ । भन्सार कार्यालय भित्रै रहेका एजेन्टले तस्करीका मालवस्तुको कारोबार बढाउँदै लगेका छन् । कतिपयले भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा समेत कागजात मिलान गर्नेदेखि तस्करी गर्ने गरेकोसम्म दावी गरिन्छ ।

विराटनगर–८ जेबी ट्रान्सपोर्टबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले गत शुक्रबार २७ बोरा कपडा बरामद गरेर अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानका क्रममा सामान भित्र्याउने व्यक्ति भेटिदैनन् । चार हप्ता अगाडी विराटनगर विमानस्थलबाट यति एयरलाइन्समा कार्गो गरि पठाइएको कपडा काठमाण्डौंमा राजस्व अनुसन्धान विभागको टोलिले छापा हानेको थियो । त्यसमा अरुण बाबा होजियारीले शम्भु स्टोरको नाममा बिल काटेको भेटिएको थियो । सामान भने विराटनगर बरगाछीका अमर जलान बब्लुको थियो ।

शुक्रबार जेबी ट्रान्सपोर्टबाट राजस्वले छापा हानेर नियन्त्रणमा लिइएको २७ बोरा कपडा कसको हो ? भन्ने चाँहि यकिन भएको छैन । राजस्व अनुसन्धान इकाई इटहरीका अधिकृत खेमराज ओझाका अनुसार आयात र उत्पादन भएको प्रमाण पुग्ने कुनै कागजात छैन । तर, कपडा बिक्री गरेर काटिएको फर्मको बिल भने छ । तस्करी गरेर भित्र्याइएको कपडा कृष्ण ट्रेडर्सले २३ बोराको बिल काटेको छ भने ग्लोबल ट्रेडर्सले ४ बोरा कपडा बिक्री गरेको देखिन्छ ।

यी दुवैले फर्म दर्ता गरेर भ्याट बिल काट्ने गरेको भएपनि कपडा उत्पादन वा आयात गरेको देखिदैन । जसले तस्करी गरेर ल्याएका सामानलाई कानुनी मान्यता दिने बिल मात्रै जारी गरेर राजस्व छल्न सहयोग गर्दै आएको देखिएको हो । राजस्वका अधिकृत ओझाका अनुसार भ्याट बिल र भिसिटिएस समेत गरेर ट्रान्सपोर्टबाट काठमाण्डौं पठाउन तयार गरिएको कपडाको खरिद बिल पनि छैन, उत्पादन पनि देखिदैन । यतिसम्मकी आयात गरेर भित्र्याइएको प्रमाण पनि छैन । कारोबारमै नजोडिएका कपडा बजारसम्म आएर बिल मात्रै काट्न खडा गरिएको फर्मको भएर अर्को फर्मसम्म पुग्ने गरेको देखिएको हो ।

कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा सञ्चालित देखिएको छ । राजस्वले कृष्णका सञ्चालक सुव्रत दे लाई पक्राउ गरेर बयान लिईरहेको छ । जसमा दे ले आफ्नो आमाको नाममा फर्म खुलेको देखिएको छ । कारोबार गर्ने व्यक्तिको रुपमा दे देखिएपनि कपडा भने शंकर रोय भएको बयानमा खुलाएका छन् । देसँगै कपडा तस्करीमा संलग्न अरोपमा ओमप्रकार साह र मनिष चौधरी पक्राउ परेका थिए । उनीहरुलाई छोडिसकेको छ । कपडा गणेश साह र शंकर रोयको भएको, उनीहरु दुवै फरार छन् ।
विराटनगर–९ को ग्लोबल ट्रेडर्स मन्जर आलमको हो । उनी पनि फरार रहेका छन् । तर, ग्लोबलको समेत कारोबारको अवस्था उस्तै छ । आयात छैन, उत्पादन छैन र खरिद बिल पनि छैन । यद्यपी उसले बिक्री गरेर सामानको बिलभने काटिरहेको छ ।
कतिपयले यी कपडा लालचन यादवको भएको दावी गरेका छन् । राजस्वको नियन्त्रणमा लिएर बयान दिईरहेका दे ले भने लालचन यादवको कपडा हो वा हैन भन्ने कुरा खोल्न सकेका छैनन् । लालचन यादव पनि तस्करीमा संलग्न छन् । उनले पनि भन्सारको सहारा लिएर कामगर्दै आएका छन् ।

यस अगाडी विराटनगरका राजकुमार रौनियारको गोदाममा छापा हानिएको थियो । विराटनगर भन्सार कार्यालयका एजेन्ट रौनियारको ट्याक्टरमा लोड गरिएको कपडा राजस्वले नियन्त्रणमा लिइएर अनुसन्धान गरेको थियो । तस्करीको कपडासहितको ट्याक्टर नियन्त्रणमा लिएर उनीसँग राजस्वले १५ लाख धरौटी माग गरेको र बैंक ग्यारेन्टी राखेको बुझिएको छ ।

भन्सार भित्रै पनि छलछाम
गत भदौ १६ गते सुनसरी भेनियर प्रा।लि।ले गुरु अमर इण्डष्ट्रिज प्रा।लि। भारतबाट मगाएको एउटा मेसिङ ल्याउन बैंकका कागजात नै नक्कली पेस भएको दावी छ । भेनियर उद्योगले भित्र्याएको पिलिङ मेसिनलाई एलसीमा प्लानिङ्ग मेसिन भनेर खुलाइएको थियो । जसमा एचएस कोर्ड ८४६५९२०० मा पास भएको मेसिन एक प्रतिशत भन्सार महशुलमा छुट्यो । तर, एचएस कोर्ड हुनुपर्दथ्यो ८४६५९९०० बाट जाँचपास गर्नुपर्ने मेसिनमा ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्नुपर्ने थियो ।

यसमा सरकारी कागजात तथा बैंकको एलसीलाई कसरी नक्कली बनाइयो भन्ने कुराले निक्कै बहस पाएको छ । भन्सार कार्यालयका केहि कर्मचारीसँग यसको आधिकारिक डकुमेन्ट भएपनि चुपचाप बसेका छन् । भेनियर उद्योगमा काठ चिर्ने मेसिन भित्र्याउँदा चारलाख बढी राजस्व लाग्दथ्यो । तर, बुझाइयो ५१ हजार ३५६ मात्रै ।

बैंकको एसली पेपरमा पिलिङको स्थानमा प्लानिङ्ग मेसिन बनाइएको दावी गरिएको छ । यो कसरी एडिटिङ्ग भयो भन्ने कुरोको अध्ययन भन्सार प्रमुखले गर्न नचाहेको आरोप छ । भन्सार कार्यालय परिसर भित्रैबाट भईरहेको गैरकानुनी काम रोक्न नसक्दा तस्करीमा संलग्न समेत अधिकांश भन्सारकै कभरमा भएकाहरु रहेका छन् । भन्सार एजेन्ट वा प्रतिनिधि पनि हुने अनि तस्करीको काम समेत हुने गरेको छ । लक्ष्मी सनराइज बैंकबाट खोलिएको एसलीको पेपर कसरी मिलाइयो भन्ने कुरा बैंकसँग समेत जोडिन सक्ने दावी छ । तर, यसको अनुसन्धान गर्नुपर्ने निकाय मौन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्